मतगणना भैरहेका पाँच क्षेत्रको अवस्था : कांग्रेस र एमाले दुई/दुई तथा जसपा एक ठाउँमा अगाडि

 मंसिर ११, २०७९ सोमबार ५:२४:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – प्रतिनिधि सभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये पाँच वटामा मतगणना भैरहेको छ भने तीनवटामा मतगणना सुरु हुनै बाँकी छ । मतगणना भैरहेका पाँच ठाउँमध्ये दुई ठाउँमा एमाले, दुई ठाउँमा कांग्रेस र एक ठाउँमा जसपाका उम्मेदवारले अग्रता लिएका छन् । 

पछिल्लो मतपरिणाम अनुसार धनुषा ४ मा एमालेका रघुवीर महासेठले अग्रता लिनुभएको छ । महासेठको २५ हजार १ सय ७२ र कांग्रेसका महेन्द्र यादवको २५ हजार ३१ मत छ । सुनसरी ३ मा एमालेकी भगवती चौधरीले पहिलेदेखि नै अग्रता लिँदै आउनुभएको छ । पछिल्लो मतपरिणामअनुसार चौधरीले २६ हजार ४५ र कांग्रेसका विजयकुमार गच्छदारको २१ हजार ३८५ मत छ ।

त्यस्तै सुनसरी ४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की एमालेका जगदिशप्रसाद कुसियैतभन्दा ७१ मतले अगाडि हुनुहुन्छ । यस्तै उदयपुर १ मा कांग्रेसका डा. नारायण खड्काले अग्रता लिँदै आउनुभएको छ । त्यहाँ खड्काको १६ हजार ३ सय १ र एमालेकी मञ्जुकुमारी चौधरीको १४ हजार ५ सय ३१ मत छ ।

यसै गरी सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पछि पार्दै जनता समाजवादी पार्टीकाका अशोककुमार राईको अग्रता रहेको छ । पछिल्लो मतपरिणामअनुसार राईको १६ हजार ७ सय ४९ र तामाङको १६ हजार २ सय ३० मत छ । उदयपुर र सुनसरी ४ मा विवाद भएका कारण मतगणना रोकिएको छ ।

अहिलेसम्म १ सय ५७ ठाउँको मतपरिणाम सार्वजनिक हुँदा कांग्रेसले ५३, एमालेले ४२, नेकपा माओवादी केन्द्रले १७, नेकपा एकीकृत समाजवादीले १० तथा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले सात/सात क्षेत्रमा जितेका छन् ।

यस्तै जनता समाजवादी पार्टी नेपालले ६ ठाउँमा जित निकालेको छ । पाँच क्षेत्रमा स्वतन्त्र उम्मेदवारले जितेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी चार र नागरिक उन्मुक्ति पार्टी तीन ठाउँमा विजयी भएका छन् ।

मतगणना सुरु हुन बाँकी तीन ठाउँमध्ये दोलखाका १० वटा मतदान केन्द्रमा फेरि मतदान हुने भएको छ । स्याङ्जा २ र बाजुराको बारेमा भने आयोगले निर्णय गर्न सकेको छैन । बाजुरामा एमाले र कांग्रेस दुवैले बुथ कब्जा गरेकोबारे एकअर्कालाई आरोप लगाएका छन् भने स्याङ्जा २ मा एमालेले बुथ कब्जाको आरोप लगाएको छ भने कांग्रेसले तत्काल मतगणना सुरु गर्न माग गरिरहेको छ ।
 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया