आज मधेस प्रदेशमा सार्वजनिक बिदा, विवाह पञ्चमीमा पुग्ने तीर्थालुका लागि रेल सेवा विस्तार

 मंसिर १२, २०७९ सोमबार ७:४०:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - रामसीता विवाह पञ्चमी महोत्सवको अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आज शुभकामना दिँदै विवाह पञ्चमीको अवसरमा प्रदेशभर सार्वजनिक बिदा रहेको बताउनुभयो ।  जनकपुरधामको निजी तथा सामुदायिक विद्यालयमा आजदेखि तीन दिनका लागि बिदा दिइएको छ ।

सीताराम विवाह पञ्चमी महोत्सवमा आउने तीर्थयात्रीको बास तथा भिडलाई ध्यानमा राखेर विद्यालयमा सार्वजनिक बिदा दिइएको हो ।

खास गरेर नेपाल तथा भारतको विभिन्न भूभागबाट ठूलो सङ्ख्यामा तीर्थयात्री जनकपुरधाम पुग्ने क्रम केही दिन अघिदेखि चलिरहेको छ । तीर्थयात्रीको सुविधाका लागि जनकपुरधाम जयनगर ब्रोडगेज रेल सेवालाई विस्तार गरेर आजदेखि दिनमा तीन पटक सञ्चालनमा ल्याइएको छ । सीताराम विवाह पञ्चमीको एक दिन अगाडि आजदेखि रामकलेवासम्म हरेक दिन तीन पटक रेल सञ्चालन गर्ने नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले बताउनुभयो ।

कम्पनीले आइतवार, सोमवार र मङ्गलवार भारतको सिमानामा गर्ने जयनगर रेल्वे स्टेसनबाट कुर्थासम्म बिहान साढे ८ बजे, दिउँसो साढे १२ बजे तथा साढे ३ बजे जनकपुरधामका लागि प्रस्थान गर्ने जनाएको छ ।  जनकपुरधामबाट बिहान पौने ११ बजे दिउँसो  १ बजेर ४० मिनेटमा र बेलुका सवा ५ बजे जयनगरका लागि रेल छुट्ने प्रबन्ध सञ्चालक झाले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया