उदयपुर-१ र सुनसरी-४ मा मतगणना अन्योल, निर्वाचन आयोगको निर्णय पर्खँदै

 मंसिर १२, २०७९ सोमबार ११:६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मत गणना स्थगित भएको उदयपुर-१ र सुनसरी-४ मा अझै विवाद समाधान भएको छैन । उदयपुर-१ मा हिजो बिहान साढे १० बजेदेखि गणना स्थगित छ भने सुनसरी-४ मा अस्ति बेलुका सवा ६ बजेदेखि गणना हुनसकेको छैन । विवाद मिलाउन सर्वदलीय बैठक बसे पनि निकास निस्कन सकेको छैन ।

उदयपुर-१ मा कांग्रेसका डाक्टर नारायण खड्का र एमालेकी मञ्जुकुमारी चौधरीबीच मुख्य प्रतिस्पर्धा छ । प्रतिनिधि सभाको मतपेटिकामा प्रदेश सभाका सयभन्दा बढी मतपत्र भेटिएपछि नेकपा एमाले, राप्रपा, जसपालगायतका दलले पुनः मतदानको मागसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन् ।

निवेदनबारे निर्वाचन आयोगमा पत्र पठाइसकेको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार सर्वदलीय बैठक बसे पनि विवाद टुङ्ग्याउन नसकेकाले आयोगलाई पत्र पठाइएको हो । आयोगले जे निर्णय गर्छ त्यहीँ गर्ने तयारी भएको उहाँले जानकारी दिनुभयो ।

यस्तै, सुनसरी-४ मा बराहक्षेत्र-८ को मतगणना हुँदै गर्दा मतपेटिकाभित्र नभएको ६ सय मत नेकपा एमाललेको पक्षमा जोडिएको भन्दै कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले आरोप लगाएपछि गणना स्थगित भएको थियो ।

सुनसरीका मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले पनि विवादबारे निर्वाचन आयोगमा जानकारी गराएकाले निर्णय पर्खिएर बसेको बताउनु भएको छ । यो क्षेत्रमा कांग्रेसका कार्की र एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैत मुख्य प्रतिस्पर्धामा हुनुहुन्छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया