पोर्चुगल र ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा

 मंसिर १३, २०७९ मंगलबार ६:४८:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्व कप फुटबलमा पोर्चुगल र ब्राजिल अन्तिम १६ मा प्रवेश गरेका छन् । आज बिहान भएको खेलमा पोर्चुगलले उरुग्वेलाई २–० गोलले हरायो । पोर्चुगलका ब्रुनो फर्नान्डेसले खेलको ५४औँ र अन्तिम इञ्जुरी समयमा गरी दुई गोल गरे । पोर्चुगल एक खेल बाँकी रहँदै अन्तिम १६ मा पुगेको हो ।

समूह ‘एच’ मा हिजो भएको खेलमा घानाले दक्षिण कोरियालाई ३–२ गोलले हराएको थियो । जितसँगै पोर्चुगल समूहको शीर्ष स्थानमा उक्लिएको छ । लगातार दोस्रो जितसँगै पोर्चुगलले ६ अङ्क जोडेको छ । घानाको ३ तथा उरुग्वे र दक्षिण कोरियाको समान १ अङ्क छ । समूह चरणको अन्तिम खेलमा पोर्चुगलले दक्षिण कोरिया र घानाले उरुग्वेसँग खेल्नेछ ।

यस्तै गएराति भएको खेलमा ब्राजिलले स्विट्जरल्यान्डलाई हराउँदै अन्तिम १६ मा पुगेको छ । ब्राजिलका क्यासेमिरोले खेलको ८३औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । ब्राजिलले पहिलो खेलमा सर्बियालाई २–० गाेलले हराएको थियो ।

समूह ‘जी’ मा ब्राजिलले २ खेलमा ६ अङ्क जोडेको छ । यो समूहमा स्विट्जरल्यान्डको २ खेलमा ३ अङ्क तथा क्यामरुन र सर्बियाको समान १ अङ्क छ । हिजो भएको खेलमा सर्बिया र क्यामरुनले ३–३ गोलको बराबरी खेलेका छन् । कतारमा चलिरहेको विश्व कप फुटबलमा यसअघि नै फ्रान्स अन्तिम १६ मा पुगिसकेको छ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया