यही गठबन्धनलाई अगाडि बढाउनुपर्छ : अध्यक्ष नेपाल

 मंसिर १३, २०७९ मंगलबार १६:४०:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेकपा (एकीकृत समाजवादी) वर्तमान सत्तारूढ गठबन्धनलाई अगाडि बढाउनुपर्ने पक्षमा उभिएको छ । आज मङ्गलवार पार्टी केन्द्रीय कार्यालयमा बसेको नेकपा (एकीकृत समाजवादी) को बैठकले वर्तमान सत्तारूढ गठबन्धनलाई अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष माधवकुमार नेपालले देश दक्षिणपन्थी दिशातिर जाने खतरा रहेको भन्दै आफूहरूले सतर्क हुनुपर्ने आवश्यकताको महसुस गरेको बताउनुभयो । उहाँले गठबन्धनका दलहरूका बीचमा भइरहेको सहकार्यलाई अगाडि बढाएर लानुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘राष्ट्रिय राजनीति कुन दिशातर्फ अगाडि बढ्छ भन्ने कुराको सन्दर्भमा हामीले गम्भीर चिन्तन, मनन गर्‍याैँ । देश कतै दक्षिणपन्थी दिशातिर त जाँदैन भन्ने कुरालाई हामीले गम्भीरताका साथ लिनुपर्ने र सतर्क हुनुपर्ने आवश्यकता महशुस ग¥यौँ । यस हिसाबमा वर्तमान गठबन्धनलाई अगाडि बढाएर लैजानुपर्छ भन्ने हामीले ठानेका छौँ ।’ 

त्यस्तै सचिवालय बैठकमा पार्टीका सम्मानित नेता झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्रमा पुनः मतदान हुनुपर्ने माग राख्नुभएको विषयमा समेत छलफल भएको अध्यक्ष नेपालले जानकारी दिनुभयो । बैठकमा उदयपुर जिल्लाको विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो ।

बैठकले पार्टीलाई मतदान गर्ने मतदाता, समर्थक, शुभचिन्तक र मतदान सम्पन्न गराउन भूमिका खेल्ने सरकारी निकायलाई धन्यवाद ज्ञापन गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताउनुभयो । उहाँले गठबन्धनका कारण प्राप्त गरेका उपलब्धिलाई रक्षा गर्दै आउँदा दिनमा पनि गठबन्धनकै भावनाअनुसार काम गर्ने पार्टीको निस्कर्ष रहेको बताउनुभयो ।

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया