कालीकोटमा १० जनाकाे जमानत जफत

 मंसिर १३, २०७९ मंगलबार १८:४९:५१ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट – यही मङ्सिर ४ गते भएकाे प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा कालीकाेटमा उम्मेदवारी दिएकामध्ये १० जनाकाे जमानत जफत भएको छ । प्रतिनिधि सभाका पाँच र प्रदेश सभाका पाँच गरी १० जनाको जमानत जफत भएको हो ।

सदर मतको दश प्रतिशत मत कटाउन नसकेपछि उनीहरूकाे जमानत जफत भएको मुख्य निर्वाचन अधिकृत भरत लम्सालले बताउनुभयो । कालीकोटमा प्रतिनिधि सभातर्फ ४४ हजार दुई सय ६६ मत सदर हुँदा विजयी र प्रमुख प्रतिस्पर्धी उम्मेदवारबाहेक अरू कसैले पनि १० प्रतिशत मत ल्याउन सकेनन् ।

धरौटी जफत हुनेहरूमा नेपाली कांग्रेस वीपीका पंखबहादुर विष्टले ०.३१ प्रतिशत, नेपाल मजदुर किसान पार्टीका खड्कराज शाहीले २.४८ प्रतिशत, राप्रपाका धनबहादुर बूढाले ३.५९ प्रतिशत मत प्राप्त गर्नुभएकाे थियाे । यस्तै स्वतन्त्र उम्मेदवार काशिचन्द्र बरालले २.०४ प्रतिशत, धनप्रसाद पाण्डेले ०.१८ प्रतिशत मत प्राप्त गर्नुभयाे । 

प्रदेश सभा (क) तर्फ नेपाल मजदुर किसान पार्टीका रबिन्द्र शाही र राप्रपाका सूर्यबहादुर शाहीको जमानत जफत भएको छ । उहाँहरूले क्रमशः ६.१० र ५.५७ प्रतिशत मत पाउनुभएकाे थियाे । प्रदेश सभा (क) मा १९ हजार नाै सय १० मत सदर भएको थियो ।

प्रदेश सभा (ख) तर्फ नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष विश्वराज बमले ९.९९ प्रतिशत, नेपाली कांग्रेस वीपीका कर्णबहादुर मल्लले ०.६४ प्रतिशत र नेपाल मजदुर किसान पार्टीका जनकबहादुर विष्टले ०.६५ प्रतिशत मतमात्र प्राप्त गरेपछि धरौटी जमानत जफत भएको छ । प्रदेश सभा (ख) मा २५ हजार तीन सय ४४ मत सदर भएको थियो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया