गगन थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्छु : महामन्त्री शर्मा

 मंसिर १३, २०७९ मंगलबार १९:१२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं. १ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्ने बताउनुभएको छ । 

आज मङ्गलवार काठमाण्डाैमा महामन्त्री थापाको घरमा बधाई ज्ञापन गर्न पुग्नुभएका महामन्त्री शर्माले गगन थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्ने बताउनुभएको हो । झापा क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि काठमाण्डाै आउनुभएका शर्मा विमानस्थलबाट सिधै थापा निवास रातोपुल पुगेर बधाई तथा प्रधानमन्त्री बन्ने शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले आफू थापालाई सांसद भएकोमा बधाई दिनका लागि मात्रै नआएको भन्दै प्रधानमन्त्री बनाउने अभियान सुरु गर्नका लागि आएको बताउनुभयो । 

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले महामन्त्री थापा पटक—पटक सांसद भइसकेको र मन्त्री भएर अनुभव पनि हासिल गरिसकेको भन्दै अब देशको आवश्यकतालाई बुझेर प्रधानमन्त्री पदका लागि नेतृत्व गर्ने गरी अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले यो बेलामा त्यो आवाजलाई प्रतिनिधित्व गर्नुपर्छ जुन आवाज देशले बोलिरहेको छ । एउटा लोकतान्त्रिक दलले सदैव प्रतिनिधित्व जनताको जनभावनाको गर्नुपर्छ । त्यस कारण अहिले म महामन्त्री गगन थापालाई काठमाण्डाै ४ बाट निर्वाचित हुनुभयो, तपाईं सांसद बन्नुभयो भनेर बधाई दिन आएको होइन । सांसद पहिल्यै भइसक्नुभएको हो । मन्त्री भएर अनुभव पनि हाँसिल गरिसक्नुभएको हो । अब प्रधानमन्त्री पदका लागि नेतृत्व गर्ने ढङ्गले अगाडि बढ्नुस् भन्नका लागि म आएको हो । यसलाई अभियानकै रूपमा सुरु गर्न पनि म आएको हो ।’

महामन्त्री शर्माले गगन थापालाई संसदीय दलको नेता बनाउन पार्टीभित्रका शीर्ष नेता र सांसदसँग छलफल अगाडि बढाउने पनि बताउनुभयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले गगन थापालाई संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललगायतको समर्थन जुटाउनु आफ्नो जिम्मेवारी र कर्तव्य भएको पनि बताउनुभयो । शीर्ष नेतालाई थापाको प्रस्तावक बनाउन नसकेमा आफैँ प्रस्तावक बनेर भए पनि अगाडि बढाउने उहाँको भनाइ छ ।

महामन्त्री थापाले पनि शर्मालाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया