नागरिकको भरोसा जोगाउन प्रधानमन्त्रीमा मेरो दाबी : महामन्त्री थापा

‘अब युवाकाे नेतृत्व चाहिन्छ, देश हामी चलाउँछाैँ’

 मंसिर १३, २०७९ मंगलबार १९:२३:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकको भरोसालाई जोगाउन प्रधामन्त्री बन्नका लागि आफ्नो आवश्यकता रहेकाे जिकिर गर्नुभएकाे छ । उहाँले लोकतन्त्रको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेकै चुनाव र नागरिकको भरोसा भएकाले अहिलेको परिस्थितिमा युवाको नेतृत्व देशलाई आवश्यक भएको बताउनुभएको हो । उहाँले नेपाली कांग्रेसको तर्फबाट युवा पुस्ताले अब पार्टी र देशको नेतृत्व गर्ने समय आइसकेको बताउनुभयो । 

आज मङ्गलवार संसदीय दलकाे नेताका लागि पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्मासँगको भेटपछि आफ्नै निवासमा महामन्त्री थापाले कांग्रेसको युवा पुस्ताले देश हाँक्नुपर्छ भन्ने कुरा पार्टीका लागि पनि आवश्यक रहेको बताउनुभयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले पार्टीका अन्य नेताले प्रधानमन्त्रीका लागि दाबी गर्ने कुरालाई स्वाभाविकरूपमा लिनुपर्ने बताउनुभयो ।  

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको दाबी गर्ने कुरालाई स्वाभाविकरूपमा लिनुपर्छ । संसदीय व्यवस्थाभित्र अभ्यास गरिरहेको पार्टी हो नेपाली कांग्रेस । संसदीय दलभित्र नेता हुने चाहना फरक–फरक नेताले राख्ने, छलफल हुने, बहस हुने कुरालाई स्वाभाविकरूपमा लिनुपर्छ । एउटा विन्दुमा मैले रामचन्द्र पौडेललाई मत हालेर संसदीय दलको नेता बनाएको हो । प्रकाशमान सिंहलाई खुला घोषणा गरेर संसदीय दलको नेतामा भोट हालेको हो । यो समय अब हाम्रो समय हो । तपाईँको आशीर्वाद, साथ चाहिन्छ भन्दै गर्दा ती पुराना कुरालाई उहाँहरूले पनि पक्कै स्मरण गर्नुहुनेछ । त्यो बेलामा उहाँहरूको नै आवश्यकता थियो, उहाँहरूको पक्षमा उभिएको हो । आजकाे समयमा कांग्रेसको तर्फबाट यो पुस्ताको प्रतिनिधिले देश हाँक्छु भनेर अघि बढ्नुपर्छ । यो पार्टीका लागि पनि आवश्यक छ । डेमोक्रेसीको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको चुनाव र नागरिकको भरोसा हो । व्यवस्थाप्रति नागरिकको भरोसा हुनुपर्छ । भरोसा जोगाउन पनि यो आवश्यक छ । यो कुरा उहाँहरूलाई बुझाउन सकिन्छ ।’

महामन्त्री थापाले संसदीय दलको नेतामा चयन गर्न धेरैजसाे नेताहरूको साथ आफूलाई रहेको पनि उल्लेख गर्नुभयाे । उहाँले अबको देशको नेतृत्व नेपाली कांग्रेसले नै गर्ने र कांग्रेसले नेतृत्व गर्दा नयाँ नेतृत्व दिनसके मात्रै नागरिकलाई आश्वस्त बनाउन सकिने बताउनुभयो । नयाँ कुरा दिन नसके प्रारम्भबाट नै विश्वासको कडी टुट्ने उहाँकाे भनाइ छ । 

चुनाव अघिदेखि नै अबको नेतृत्व आफूले गर्ने बताउँदै आउनुभएका महामन्त्री थापाले निर्वाचित भएको दिन नै संसदीय दलको नेताका लागि तयारी थाल्ने बताउनुभएको थियो । पार्टीबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंह, नेता शेखर कोइराला लगायतले प्रधानमन्त्रीमा दाबी गरिरहँदा महामन्त्री थापालाई संसदीय दलको नेता चुनिन त्यति सहज भने छैन ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

1 Comments

  • Akash thakuri

    Nov. 30, 2022, 7:59 a.m.

    You deserve to lead. We should never accept Sher bdr again

  •  0 Reply

तपाईको प्रतिक्रिया