‘अचेल गाउँघरमा खासै कोदोका परिकार पाक्दैनन्’

 मंसिर १४, २०७९ बुधबार १४:२०:१९ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – केही वर्ष अघिसम्म झण्डै ३ रोपनी जग्गामा कोदो लगाउनुहुन्थ्यो, सुन्दरबजार नगरपालिका–६ की चीजामाया परियारले । तर पछिल्ला वर्षमा उहाँको कोदो खेती घर नजिकैको २ वटा गह्रामा मात्रै सीमित भएको छ ।

खर्च, मेहनत धेरै हुने तर उत्पादन कम हुने भएकाले कोदो खेती विस्तार गर्न नसकेको उहाँले बताउनुभयो । ‘पहिले घर नजिकैका साथै पारीबारीमा समेत गरी ३ रोपनी हाराहारी जग्गामा कोदो लगाइन्थ्यो । अहिले खेताला पाउन पनि गाह्रो हुन्छ । दुःख धेरै तर उत्पादन कम हुन्छ । त्यसैले धेरै जमिनमा कोदो लगाएको छैन,’ उहाँले भन्नुभयो । 

उहाँका अनुसार विगतमा गाउँघरमा सबैले कोदो लगाउँथे । धेरै उत्पादन हुन्थ्यो । गाउँका प्राय: घरमा चामलको भात र कोदोको ढिँडो पाक्थ्याे । अहिले गाउँघरमै कोदो खेती गर्न छाडिएको छ । उर्वरभूमि बाँझै छ ।

‘पहिले गाउँघरका प्राय: सबैजसो घरमा साँझ बिहानै चामलको भातसँगै कोदोकाे ढिँडो पाक्थे । खाजामा कोदोको रोटी हुन्थयो,’ घर नजिकै बारीमा पाकेको कोदो टिप्दै उहाँले भन्नुभयो, ‘अहिलेका मान्छे सुख–सुविधा खोज्छन् । पैसा भए गाउँकै घर–घरमै चामलको बोरा आउँछ । कस्ले फलाउने कोदो ? कस्ले खाने कोदोको ढिँडो ? कोदो लगाउनै छाडे । अचेल गाउँघरमा खासै कोदोको परिकार पाक्दैनन् ।’

शहर–बजारमा कोदोको परिकारका माग बढ्दो 

गाउँघरमा कोदोका परिकार कम पाक्ने गरेतापनि शहरबजारमा पनि भने यसको माग चुलिएको छ । कुनैबेला गरिब वर्गको खानाको रुपमा लिइन्थ्यो, कोदोलाई । कोदोको रोटी, ढिँडो बाहिर बसेर खान लाज मान्थे मान्छे । 

तर समय फेरिएको छ । हिजो हेय भावले हेरिने कोदो आजकाल शहरबजारका स–साना खाजा, खाना खुवाउने पसलदेखि ठुल्ठूला होटल, रेष्टुरेन्टमा विभिन्न परिकारको रुपमा पाक्न थालेका छन् । स्वदेशी विदेशी दुवैले कोदोको परिकारको स्वाद रुचाएका छन् । शानका साथ कोदोका विभिन्न परिकार खाने गरेका छन् । 

त्यसैले पनि गाउँघरको तुलनामा शहर–बजारमा कोदोको माग र कोदोको परिकारको उपयोग दिनानुदिन बढ्दै गएको छ । 

स्वास्थ्यका दृष्टिकोणले पनि कोदोको परिकार निकै लाभदायक मानिन्छ । तर गाउँघरमै कोदोको खेतीका साथै प्रयोग कम हुँदै गएको छ । नेपालले वार्षिक भारत, चीनलगायतका देशबाट करौडौँको कोदो आयात गर्दै आएको छ । 

गाउँघरकै पाखापखेरीमा कोदो खेती गर्न सकिन्छ । कोदो उत्पादनबाटै राम्रो आर्जन गर्न सकिन्छ । जीवनस्तर उकास्न सकिन्छ । तर पनि कोदोमा खेतीमा पहाडी जिल्ला लमजुङका ग्रामीण क्षेत्रका किसानको समेत आकर्षण बढ्न सकिरहेको छैन । किसानहरुले उन्नत जातको बीउ लगाउन सकेमा उत्पादन बढ्न सक्ने कृषि ज्ञान केन्द्र, लमजुङका प्रमुख सुदीप खतिवडाले बताउनुभयो । 

उहाँका अनुसार लमजुङका किसानहरुले कोदोलाई घुसुवा बालीका रुपमा लगाउँदा पनि उलेख्य रुपमा कोदोको क्षेत्र विस्तार र उत्पादन वृद्धि हुन सकेको छैन । 

‘अरु बालीको तुलनामा कोदो खेतीमा किसानहरुको ध्यान र लगानी कम छ । कोदोलाई घुसुवा बालीको रुपमा लगाउँदा पनि क्षेत्र विस्तार र उत्पादन बढ्न सकेको छैन,’ खतिवडाले भन्नुभयो ।

जग्गाको उचित तयारी, हावापानीलाई ख्याल गर्दै उन्नत जातका बीउ स्थापित गर्न सकेमा, कोदोको परिकारको विविधीकरण गर्दै माग बढाउन सकेमा कोदो खेतीमा किसानको आकर्षण बढ्ने र उत्पादन पनि बढ्नसक्ने उहाँले बताउनुभयो । 

उहाँका अनुसार लमजुङमा ७ हजार हेक्टर क्षेत्रफल हाराहारीमा कोदो खेती हुँदै आएको छ । सरदरमा जिल्लामा प्रति हेक्टर एक मेट्रिक टन हाराहारीमा कोदो उत्पादन हुने गरेको छ । 

खेताला पाउन समस्या हुनु, लागत बढि पर्नु, लागत र मेहनतको तुलनामा उत्पादन कम हुने भएकाले पनि लमजुङमा कोदो खेतीमा किसानको आकर्षण बढ्न नसकेको र उत्पादन बर्सेनी घट्दो रहेको कृषि ज्ञान केन्द्र, लमजुङका कृषि अर्थविज्ञ एवं सूचना अधिकारी मदन रेग्मीले बताउनुभयो । 

लमजुङकोे इलमपोखरी, नौथर, पाचोक, गौँडा, नाल्मालगायतका धेरैजसो ग्रामीण क्षेत्रमा  कोदो खेती हुँदै आएको छ । ज्ञान केन्द्रका अनुसार जिल्लामा लार्फे, लाहुरे लगायतका स्थानीय जातका साथै डल्ले, ओख्ले लगायतका उन्नत जातका कोदो  खेती हुँदै आएको छ । 

अन्तिम अपडेट: पुस १४, २०७९

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया