शुक्रवारसम्म धन्यवादकाे कार्यक्रम सकाैँ, मेराे त अर्काे चुनाव आउँदैछ : गगन थापा

 मंसिर १४, २०७९ बुधबार १६:४२:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू पार्टी संसदीय दलको चुनावमा केन्द्रित रहेको बताउनुभएको छ । प्रधानमन्त्री बन्ने तयारीमा रहनुभएका महामन्त्री थापाले पार्टी संसदीय दलको नेता चयन प्रक्रियामा आफू लागिपरेको बताउनुभएको हो । 

महिला सुरक्षा दबाब समूह नेपालले आज बुधवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले मङ्सिर १६ गते शुक्रवारसम्म आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई धन्यवाद दिने कार्यक्रम रहेको उल्लेख गर्दै त्यसपछि भने सम्पूर्णरूपमै संसदीय दलको नेता चयन हुने चुनावमा जुट्ने योजनामा आफू रहेको बताउनुभयो । महामन्त्री थापाले केही दिनभित्र नयाँ मन्त्रिपरिषद् बन्नेसमेत दाबी गर्नुभयाे । 

उहाँले भन्नुभयो, ‘शुक्रवारसम्म हामी धन्यवादको कार्यक्रम सकौँ । त्यसपछि अरू काममा जुट्नु पर्नेछ । मेरो त अर्को चुनाव आउँदै छ । मैले त्यो काममा केन्द्रित हुनु छ । केही दिनमा नयाँ मन्त्रिपरिषद् बन्छ । अब संसदमा र मन्त्रिपरिषदमा महिला सहभागिता बढाउन निर्वाचन कानुन बदल्न सुरु गरौँ । म अहिल्यै भन्न सक्छु–मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागिता हुने कानुन हामीले बनाउनै पर्छ । यो कुरा अहिलेदेखि नै छलफल गर्दै गयो भने आउँदाे चुनावसम्म त्यो काम हुन्छ । पुसमा नयाँ मन्त्रिपरिषद् बन्छ । माघबाटै त्याे कानुन बनाउने काम लागौँ ।’

महामन्त्री थापाले सबै राजनीतिक दलले प्रत्यक्षतर्फको चुनावमा पनि ३३ प्रतिशत महिला अनिवार्य उम्मेदवार उठाउनुपर्ने गरी निर्वाचन कानुन संशोधन गर्ने काममा ढिलाइ गर्न नहुने बताउनुभयाे । महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्यका लागि घरघरमै अभियान सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो ।

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया