अदुवा बिक्री नहुँदा डोटीका किसान मर्कामा

 मंसिर १४, २०७९ बुधबार १९:३५:१ | विमल बिष्ट
unn.prixa.net

डोटी – अदुवा बिक्री नभएपछि डोटीका किसान मर्कामा परेका छन् । जिल्लाका जोरायल, बोगटान फुड्सिल र बडीकेदार गाउँपालिकाका चनुकाँडा, बयालगाउ, लाना केदारेश्वर छेडा, घागल मानाकापडी, टीमुट्टलगायतका किसानले उत्पादन गरेको अदुवाले बजार पाउन सकेको छैन । अदुवा उत्पादनमा गएको वर्षको तुलनामा यस वर्ष चार प्रतिशतले वृद्धि भए पनि उचित मूल्य र बजारीकरण नभएका कारण यहाँका किसान मारमा परेका हुन् । 

गएको वर्ष व्यापारीले अदुवा प्रतिकिलो ५० देखि ६० रुपैयाँका दरले खरिद गरेका थिए । यस वर्ष प्रतिकिलो ३० देखि ४० रुपैयाँसम्ममा बिक्री गर्न पनि गाह्राे भएकाे किसानले गुनासाे गरेका छन् । भारतीय व्यापारी नआउँदा अदुवाले उचित मूल्य पाउन छाडेको बडीकेदार गाउँपालिका–४ रनुकाँडा सुनौलो किरण कृषक समूहका अध्यक्ष नरेन्द्रबहादुर ताडीले गुनासो गर्नुभयो । गएको वर्ष आफूले अदुवा बेचेर ५० हजार रुपैयाँ आम्दानी गरेको तर यस वर्ष २५ हजार रुपैयाँमा पनि अदुवा बिक्री गर्न नसकेको बताउनुभयो । 

सरकारको ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रमअन्तर्गत जिल्लाको मुख्य नगदे बालीका रूपमा स्थापित अदुवा खेतीको प्रवद्र्धन गर्दै आए पनि नेपालमा प्रशोधन केन्द्र नहुँदा भारतीय व्यापारीको भर पर्नुपर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ । 

किसानका समस्यालाई ध्यानमा राखेर अदुवा प्रशोधन केन्द्र स्थापनाका लागि पहल गरिरहेको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव साउदले बताउनुभयो । किसानले उत्पादन गरेको अदुवाको बजारीकरणका लागि सहजीकरण गर्न पालिका लागिपरेको उहाँको भनाइ छ ।

गएको वर्ष डोटीमा सात सय २० हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएकोमा १३ हजार दुई सय ११ मेट्रिक टन उत्पादन भएको थियो । यस वर्ष आठ सय ४५ हेक्टरमा अदुवा खेती गरिएकोमा १४ हजार मेट्रिक टन अदुवा उत्पादन भएको जिल्ला कृषि ज्ञान केन्द्र डोटीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया