कांग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैन : उपसभापति खड्का

 मंसिर १५, २०७९ बिहीबार १६:२४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले काग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्न नहुने बताउनुभएको छ । 

आज बिहीवार नेपाली कांग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराई आश्रम बाँडेगाउँमा भट्टराईको सालिकमा श्रद्धाञ्जली अर्पण गर्न पुग्नुभएका उपसभापति खड्काले कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्न नहुने बताउनुभएको हो । उहाँले पार्टी सभापति देउवाको नेतृत्वमा कांग्रेस र सिङ्गो गठबन्धन नै चुनावमा गएको भन्दै देउवाले दलको नेतामा चाहना राखेपछि दायाँ–बायाँ कुरा गरिराख्नु नपर्ने बताउनुभयो । उहाँले दलको नेताको चुनाव सर्वसम्मतरूपमा गर्नुपर्ने पनि बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘कांग्रेसको संसदीय दलको नेताको चुनाव सर्वसम्मत तरिकाले गर्नुपर्छ । सिधा कुरा छ, नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा हामी चुनावमा गएका छौँ । विशेषगरी कांग्रेस पार्टी उहाँकै नेतृत्वमा अगाडि बढेको छ । सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताको चाहना राख्ने कुरा अगाडि आएपछि त्यसमा अहिलेको बेलामा धेरै दायाँ–बायाँ कुरा गरिराख्नुपर्छ जस्तो मलाई लाग्दैन ।’

उपसभापति खड्काले यो बेलामा कांग्रेसभित्र एकताको वातावरण बनाउनु आवश्यक रहेको बताउनुभयो । कांग्रेसलाई एकताबद्ध बनाउँदै गठबन्धनका दलहरूलाई मिलाएर लानुपर्ने कांग्रेसको मुख्य दायित्व भएको उल्लेख गर्नुभयो ।

उपसभापति खड्काले संसदीय दलको नेतामा अन्य नेताहरूको आकाङ्क्षालाई अन्यथा मान्न नहुने टिप्पणी गर्नुभयो । व्यक्तिहरूको आकाङ्क्षाकै बीचमा सर्वसहमतिको वातावरण बनाउने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘कुनै नेताले आफ्नो आकाङ्क्षा राख्ने कुरालाई अन्यथा मान्नु हुँदैन । लोकतन्त्रमा कुनै पनि निर्वाचन प्रक्रिया अगाडि आउँदा कसैले म फलानो पदमा उठ्छु भनेर कसैले आफ्नो आकाङ्क्षा व्यक्त गर्दा त्यसलाई हामीले अन्यथा मान्नु हुँदैन । त्यो आकाङ्क्षा प्रकट भएकै कुरालाई जोडेर सर्वसम्मतको वातावरण बनाउने हो ।

उपसभापति खड्काले सत्ता गठबन्धनकै सरकार बनाउने बताउनुभयो । वर्तमान गठबन्धनमा आबद्ध दलहरूको साथै अन्य दलहरूलाई पनि जोडेर गठबन्धन दलकै नेतृत्वमा सरकार बनाउने उहाँले बताउनुभयो । त्यसका निम्ति कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अन्य दलका नेताहरूसँग संवाद अगाडि बढाउनुभएको उहाँले उल्लेख गर्नुभयो ।

स्व. कृष्णप्रसाद भट्टराईको सालिकमा माल्यार्पण गर्दै खड्काले उहाँ आफ्नो दर्शन गुरु र राजनीतिक गुरु भएको उल्लेख गर्दै आफूले कुनै पनि अभियान सुरु गर्नुअघि र परिणाम आएपछि यहाँ आएर आशीर्वाद लिने गरेको बताउनुभयो । 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया