मतदाताले भिजनसहितको नयाँ अनुहार खोजेका हुन्, दलहरुले नै विकल्प दिन सक्नुपर्छ

 मंसिर १८, २०७९ आइतबार ११:५१:१७ | मिलन श्रेष्ठ
unn.prixa.net

अहिलेको चुनावले राजनीतिक दलको मूलधार स्थापित हुनुपर्छ भन्नुका साथै मूलधारको राजनीतिबाट अब नयाँ र युवा मतदाताको अपेक्षा पूरा हुँदैन त्यसकारण यसको विकल्प खोज्नुपर्छ भन्ने सन्देश दिएको छ । लामो समय राजनीति गरेका दलभन्दा आवाजमात्र भए पनि युवा तथा नागरिकको एजेण्डा बोकेको दलहरुले पनि उल्लेख्य मत पाएको देख्दा अहिलेको सन्दर्भमा राजनीतिक दलहरुले नागरिकको भावना बोक्नुपर्छ भन्ने मान्यता यो चुनावले स्थापित गरेको छ । 

२०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ र अहिलेको चुनावलाई हेर्दा मतदाता अस्थिर देखिन्छन् । यसको कारण के हो भने मतदाताको चाहना धेरै छ । तर, मतदाताको चाहना धेरै वटा दलबाट पूरा हुन सकेन भन्ने मतदातालाई लागेको छ । किनकि हरेक चुनावमा फरक धार, फरक विचार र फरक नेतृत्वलाई स्थापित हुने गरी चुनाव भएको हुनाले नागरिकलाई हाम्रो अपेक्षा चाहिँ अभिव्यक्त भयो तर पूरा भएन भन्ने लागेको छ । अघिल्लो चुनावमा स्थापित दललाई पछिल्लो चुनावमा जाँदा नागरिकको अभिमत फरक भइसकेको भन्ने देखिएको छ । 

२०४८ सालदेखि अहिलेसम्मका सबै दलका घोषणापत्रको आद्योपान्त अध्ययन गरेका कारण अहिलेको नभएर २०४८ सालमा व्यक्त भएका कतिपय कुराहरु दलका अहिलेसम्म पनि पूरा हुन सकेको छैन । नागरिकको आर्थिक स्थिति, सुखसुविधा र नागरिकको जीवनस्तर सुधार्ने कुरा अहिलेसम्म पनि पूरा हुन सकेको छैन । नागरिकप्रति व्यक्त गरेका भावना र प्रतिबद्धताहरु अहिलेसम्म पूरा नगरेको हुनाले नागरिकले पनि अहिले के बुझिसके भने यो भोटको लागि मात्र व्यक्त गरेको हो र समाज परिवर्तनको लागि गरेको होइन भन्ने नागरिकले पनि बुझिसकेका छन् । यस सन्दर्भमा घोषणापत्र विकास र नागरिकलाई अगाडि बढाउनको लागि होइन कि भोट माग्नका लागि मात्र हो भन्ने कुरा नागरिकले बुझेका कारण नागरिकले नयाँ विकल्प खोजेको हो भन्ने लाग्छ । 

नयाँ राजनीतिक दलको उदय स्वाभाविक थियो तर, यो रुपमा होइन । राजनीतिक शास्त्रको विद्यार्थी भएको नाताले राजनीतिक दल भनेको दर्शन र र विचारमा आधारित हुनुपर्छ । जुन दल दर्शन र विचारमा आधारित हुँदैन त्यो दीर्घकालसम्म जान सक्दैन । विकास, निर्माण, भ्रष्टाचारको नियन्त्रण, युवाको रोजगार जस्ता नीति तथा निर्माण हो । यो भनेको दलको दर्शन भित्र बसेर निर्धारण गरिने कार्यक्रम हो । 

२०६४ सालको संविधान सभाको चुनावमा राम्रो परिणाम ल्याएको दलको स्थिति २०७० सालको चुनावम हामी हेरौँ न । अहिले उदय भएको राजनीतिक दलको दर्शन के हो ? किनकि दर्शन विनाको दल हुँदैन । नयाँ दल त आयो तर, दर्शन प्रष्ट छैन । २०७९ सालको पालिका चुनावभन्दा अगाडि पपुलर मत प्राप्त गरेका दलहरुले पनि २०७९ सालमा त्यति भोट पाएको देखिँदैन । कांग्रेस, एमाले र माओवादी दलका नेताहरुले भाषण गरेर मात्र यो भोट आएको । उहाँहरुको दलको पछाडि एउटा स्पष्ट राजनीतिक दर्शन छ ।

तर, अहिले आएका नयाँ दलको दर्शन स्पष्ट छैन । दर्शन विनाको दलले एक पटकलाई अभिमत लिन सक्छ । तर, यसलाई निरन्तरता दिन भने सक्दैन । अहिले उदय भएका दलले राजनीतिक दर्शन स्पष्ट गर्नुसकेन भने भने अर्को चुनावमा यो स्थान प्राप्त गर्नसक्दैन । यसमा २०६४ सालमा माओवादीले स्पष्ट दर्शन हुँदाहुँदै त २०७० सालको चुनावमा त्यसलाई निरन्तरता दिन सकेन भने दर्शन विनाको दल त कसरी अगाडि बढ्न सक्छ । यसमा भ्रष्टाचार विरुद्धको अभियान भनिएको छ यो भनेको राजनीतिक दर्शन भित्र बस्ने नीति तथा कार्यक्रम हो । यदि राजनीतिक दलले बहुमत प्राप्त गर्यो भने त्यसले भ्रष्टाचार कसरी नियन्त्रण कसरी गर्ने भन्ने कुरा त आउनु पर्यो नि । यदि त्यो दलले बहुमत प्राप्त गर्यो भने देशलाई कसरी अगाडि बढाउने भन्ने कुरा त स्पष्ट आउनु पर्यो नि । संसार भनेको उदार राजनीतिक दर्शनबाट अगाडि बढ्ने कि समाजवादी राज्य व्यवस्थाबाट अगाडि बढ्ने, देशका स्रोत साधनलाई सरकारले नियन्त्रण गर्ने कि व्यक्तिलाई छोड्ने भन्ने हो । यो दर्शनको बीचमा केही मध्यमार्गी दल हुनसक्ला । तर, धेरैजसो मध्यमार्गी दल भएर जान सक्दैन । देशको स्रोत साधनलाई सरकारले नियन्त्रणमा लिएर समानुपातिक वितरण गर्ने कि नागरिकलाई स्वतन्त्रतापूर्वक छोड्ने । र कानुन र विधिद्वारा नागरिकले जे जति उपलब्धि हासिल गर्छन् त्यही अनुसार त्यो सम्पत्ति नागरिकको हुने भन्ने दुई वटामध्ये एउटामा त कित्ता लाग्नुपर्ने अवस्था छ । 

दर्शनमा भन्दा फाइदामा आधारित राजनीति 

चीनले जनवादी, समाजवदी अर्थतन्त्र अवलम्बन गरेको भन्छ, अमेरिका उदार अर्थतन्त्र अवलम्बन गरेको भन्छ । यसमा हामीले अवलम्बन गर्ने अर्थतन्त्र के ? के नेपालले हाइब्रिड अर्थतन्त्र अवलम्बन गर्न सक्छ र ? अहिले मूलधारका दलले यो कुरा नै स्पष्ट गर्न सकेका छैनन् । नेपाली कांग्रेस र माओवादीको चुनावी तालमेल र सत्ता तालमेल भनेको फरक दृष्टकोण र फरक दर्शन हो । यी दलबीच तालमेल हुँदा पनि जति भोट आउनुपर्ने त्यति आएन । किनकि स्पष्ट फरक दर्शन भएका दलबीच प्रतिस्पर्धा हुनुपर्नेमा तालमेल हुँदा यसबाट पनि नागरिक निराश भएका छन् । कांग्रेसका प्रतिबद्ध कार्यकर्ताहरु माओवादीलाई भोट हाल्न चाहनुहुन्न भने माओवादीका प्रतिबद्धहरु पनि कांग्रेसलाई भोट हाल्न चाहनुहुन्न । बामपन्थीहरुको अवस्था हेर्ने हो भने उनीहरु आन्दोलनमा एक हुन्छन् । तर, अवसरको सदुपयोग गर्ने कुरामा विभाजित हुन्छन् । २०३४ सालको चौमदेखि अहिलेसम्म हेर्यो भने त्यो देखिन्छ । बामपन्थीको सङ्घर्षमा भन्दा अवसरमा विभाजन हुने गरेको देखिन्छ । यसले दर्शन त दियो तर न त दर्शन स्थापित गर्न सक्यो न त प्रतिबद्ध भएर अगाडि बढ्न सक्यो । 

अहिले हेर्दा चुनावमा जुन गठबन्धन भयो सत्ता निर्माणमा त्यो गठबन्धन भएन भने कार्यकर्तालाई र मतदातालाई धोका हुने देखियो । आफूले भोट हालेको मान्छे अर्को कित्तामा गएर मन्त्री भयो भने उनीहरुले के पाउँछन् ?

नेपालको राजनीति दर्शनमा आधारितभन्दा पनि फाइदामा आधारित राजनीति भइसक्यो । अहिले पनि मतदाता र कार्यकर्तालाई मैले हालेको भोट मेरै कित्तामा उभिन्छ भन्ने विश्वास छैन । जबसम्म यो विश्वास हुँदैन तबसम्म कार्यकर्ताले गठबन्धनमा इमान्दार भएर भोट हाल्दैनन् । दुई वटा विपरीत राजनीतिक धार एकै ठाउँमा आएर चुनावमा उत्रिए तर, पाँच वर्षसम्म यो यात्रा रहिरहन्छ त भन्ने कुरा कार्यकर्ताका बीचमा स्वाभाविक रुपमा उठ्छ ।

यो गठबन्धन सत्ता गठबन्धनको महत्त्वपूर्ण र एउटा विकल्प त हो तर, पनि यो नै अन्तिम विकल्प हो भन्ने त देखिएको छैन अहिले पनि । बहुमत ल्याउनका लागि मात्र गठबन्धन अचुक हतियार होइन भन्ने यो चुनावले स्थापित गर्यो । यसमा कार्यकर्ताले पहिले नै शङ्का गरेका थिए । हामीले अपेक्षा नगरेको दलकाबीचमा सरकार निर्माण भयो र, यो सरकारले नै लतारेर गठबन्धनलाई अगाडि बढायो । यसले बाध्यात्मक अवस्था सृजना गर्यो । अब यो गठबन्धन निर्माणले सरकार गठनमा बाध्यात्मक अवस्था सृजना गर्न सक्छ कि सक्दैन भन्ने कुरामा नागरिकले शङ्का गरे । 

पार्टीहरु स्थापनाको पृष्ठभूमि नै फरक

मूलधारको राजनीतिक दल नेपाली कांग्रेस र एमालेलाई उदाहरणको रुपमा हेर्ने हो भने उहाँहरुको पार्टीको आधारशिला नै फरक छ । अहिले कांग्रेसभित्र गगन थापाले नेतृत्व गर्छु भनेर भनिरहँदा एमाले वा माओवादीभित्र कसैले किन यसो नभनेको होला भन्ने लाग्न सक्छ । तर, के बुझ्नुपर्छ भने यी पार्टीहरु स्थापनाको पृष्ठभूमि नै फरक छ । यिनीहरु मास बेस्ड पार्टी र क्याडर बेस्ड पार्टी हुन् । नेपाली कांग्रेस मास बेस्ड पार्टी हो । मासले कसैलाई समर्थन गर्छ भने कसैले आफूलाई प्रधानमन्त्रीको दाबी गर्न सक्छ । अहिले गगन थापाले त्यस्तै गर्दै हुनुुहुन्छ । यसमा केन्द्रीय कमिटीले गर्ने भन्ने कुरा भएन । मासको बलमा उहाँ त्यसो गरिरहनु भएको छ । यसमा नागरिकले अनुमोदन गरे पुग्यो हामी भन्छौँ । तर, नेपालका कम्युनिस्ट पार्टीहरु परम्परागत रुपमा भए पनि मास बेस्ड पार्टी होइन । क्याडर बेस्ड पार्टी हुन् । त्यसकारण यहाँ नागरिकले मात्र निर्णय गरेर पुग्दैन यहाँ तहगत रुपमा निर्णय भएर आउनुपर्छ । त्यो नभइकन कसैले पनि म प्रधानमन्त्रीको दाबेदार भन्न मिल्दैन । 

कांग्रेस पार्टीमा पनि पार्टीले अनुमोदन गर्नु त पर्छ तर, पार्टीले अनुमोदन गर्नुपरे पनि नागरिकको आवाजलाई मास बेस्ड पार्टीले कुल्चिन सक्दैन । मासले स्वीकार गरेपछि कमिटीले त्यसलाई अस्वीकार गर्न सक्दैन मास बेस्ड पार्टीमा । कमिटीले यसमा डण्डा पनि चलाउन सक्दैन । किनकि मास बेस्ड पार्टीमा कार्यकर्ता र भोट यति नै भन्ने हुँदैन । तर, क्याडर बेस्ड पार्टीमा केन्द्रदेखि नै गणना हुन थाल्छ । केन्द्रमा यति जिल्लामा यति, टोलमा यति अअनि घरमा यति भनेर गणना हुन थाल्छ । त्यो भनेको हरेक तहबाट अनुमोदन भएर आउनुपर्छ भन्ने मान्यता राख्छ । कमिटीगत रुपमा मान्यता स्थापित नगरेसम्म कम्युनिस्ट पार्टीमा युवाहरुले विकल्प दिनसक्ने अवस्था देखिन्न । यसका लागि केही अघि सम्पन्न भएको कांग्रेस। एमाले तथा माओवादीको महाधिवेशनमा नेतृत्व कसरी स्थापना भयो भनेर हेर्दा पनि हुन्छ । क्याडर बेस्ड पार्टीमा नागरिक र कार्यकर्ताबाट मात्र अनुमोदन भएर पुग्दैन यसकारण युवा नेतृत्व सबै ठाउँमा उही किसिमले अगाडि बढ्छ भनेर म ठान्दिनँ । 

नेपालको मतदाताको अवस्था, राजनीतिक दलको दृष्टिकोण र राजनीति दलको यात्रा नै के हुन्छ भन्ने कुराको पूर्वानुमान गर्न गाह्रो देखिन्छ पहिलो कुरा । २०४८ सालमा नेपाली कांग्रेसले जुन बहुमत प्राप्त गर्यो, २०५१ सालसम्म आइपुग्दा उसले मेरै भन्ठान्यो । तर, नागरिकको मानसिकता परिवर्तन भइसकेको थियो । २०५१ सालमा एमालेले जुन मत प्राप्त गर्यो, २०५६ सालमा पुग्दा यसले पनि त्यो मत उसकै भन्ठान्यो । २०५६ सालबाट २०६४ सालमा जाँदा माओवादीले यति भोट ल्याउँछ भन्ने कुराको हामीले अनुमान गर्न सकेका थिएनौँ । कुनै पनि चुनावम हामीले गरेको अनुमान ठ्याक्कै मिलेको अवस्था छैन । आउँदो दिनमा पनि हामी त्यो भन्न सक्ने अवस्थामा छैनौँ । अहिलेसम्मको विश्लेषणले आउने चुनावसम्म केही पार्टीहरु परिवर्तन हुने देखेको छु । त्यो भनेको नयाँ अनुहारका कुरा गर्दा बढी विकल्प दलले नै दिनसक्ला । चुनावमा सङ्गठनको महत्त्वपूर्ण भूमिका हुन्छ । सङ्गठन भएका यीनै दलहरु हुन् । अहिले दलहरुलाई के दबाब परिसकेको छ भने हामीले नयाँ अनुहार, स्पष्ट घोषणापत्र र युवालाई स्थापित गरेनौँ भने परिणाम योभन्दा अप्ठ्यारो हुन्छ भन्ने कुरा दलहरुले बुझे भन्ने लाग्छ । 

भिजनसहितको नयाँ अनुहार

मतदाताले अहिले नयाँ अनुहार मात्र नभएर भिजनसहितको नयाँ अनुहार खोजेका हुन् । अझ नागरिकले दलहरुबाटै नयाँ अनुहार खोजेको हो । स्वतन्त्र तथा अन्य नयाँ दलबाट पनि नयाँ अनुहार खोजेको हो तर, नागरिकको पहिलो प्राथमिकता भनेको दलभित्रबाट नयाँ अनुहार । यदि यसो हुन सकेन भने मात्र नागरिकले विकल्प खोजेको हो भन्ने लाग्छ । अहिलेको भोटको अवस्थाले पनि दलहरुले विकल्प दिए भने दललाई नै भोट हाल्ने भन्ने देखाउँछ । 

अहिलेको हाम्रो राजनीतिक व्यवस्था वा अवस्था उपयोगितावादमा गइसक्यो । अहिले राजनीति गर्दा युवादेखि सबै मलाई के फाइदा र मैले फाइदा पाउँछु कि पाउँदिन भनेर हेर्न थाले । महत्वाकाङ्क्षा बढ्दै गएको र धैर्यता घट्दै गएको अवस्थामा युवाहरुको भूमिका के हुन्छ भन्ने कुराले निर्धारण गर्छ । युवाहरुको भूमिका सशक्त हुनसक्यो भने उसले आफूभन्दा अघिल्लो नेतृत्वलाई विस्थापित गर्न सक्छ । होइन भने अघिल्लो पुस्ताले नै आफूले सकुन्जेल नेतृत्व गर्ने अवस्था रहन्छ ।

केही राजनीतिक दलमा असन्तुष्ट भएर दल छोडेर हिँड्ने प्रवृत्तिले दललाई योगदान गर्छ कि गर्दैन । दलमा युवालाई नेतृत्वमा ल्याउन योगदान गर्छ कि गर्दैन भन्ने ज्वलन्त प्रश्न उठ्छ । यसमा नामै किटेर भन्नुपर्दा घनश्याम भुसाल एमालेमा राजनीतिक विश्लेषक, विचारक र चिन्तकको रुपमा स्थापित भइसक्नु भएको थियो । उहाँले पार्टी छोड्नुमा भित्री विभिन्न कारण हुनसक्छ । तर, बाहिर बसेर हेर्दा टिकट पाइएन भनेर हो भन्ने हामी बुझ्छौँ । अब उहाँले पार्टीभित्र लड्नु पर्नेमा मैदान खाली गरिदिएपछि के हुन्छ परिणाम यहीँबाट स्पष्ट हुन्छ । अब उहाँले स्वतन्त्र रहेर समाजलाई कति योगदान गर्न सक्नुहुन्छ र पार्टीभित्र रहेर कति योगदान गर्न सक्नुहुन्छ यहाँबाट हामी हेरौँ न । हामीले हेर्दा उहाँले पार्टीभित्र रहेर सङ्घर्ष गरेको भए युवाहरुले स्थान पाउन सक्थे । उहाँ आफू त्यहाँ भित्र बसेर सङ्घर्ष गरेको भए अरु दश जना युवाले त्यहाँ स्थान पाउन सक्थे । उहाँको त्यो योगदान खोजेको हो । तर, उहाँले त्यसो गर्न सक्नु भएन । कांग्रेस, माओवादीभित्र पनि त्यही अवस्था होला । स्वतन्त्र पार्टीको हकमा उहाँहरु कसरी अगाडि बढ्नुहुन्छ त्यो पाँच वर्षपछि हेरेर भन्न सकिएला । तर, स्थापित दलमा यसरी मैदान खाली गरेर हिँड्ने हो भने अन्तिममा बाँकी रहने भनेको त पहिलो पुस्ताको मान्छे मात्र हो । नयाँ पुस्ता लड्नै बाँकी हुन्छ । लडेका पुस्ता बाहिरिन्छ । त्यसकारण त्यो विचारलाई फाइदा हुने देखिन्न । 

यसलाई यसरी हेरौँ नयाँ पुस्ताले सङ्गठन गर्न सकेको अवस्था छैन पहिलो कुरा । यदि सङ्गठन गर्न सकेन भने उसले पुरानो नेतृत्वलाई चुनौती दिन सक्दैन । पुरानाले छोडेर नयाँलाई नेतृत्व सुम्पे भने त त्यो फरक प्रसङ्ग भयो । राजनीति यति निर्मम हुन्छ भन्ने हामीले विश्व राजनीतिबाट देखिसक्यौँ । यसकारण नयाँ पुस्ताले पुरानो पुस्तालाई राजनीतिमा विश्राम लिन बाध्य नबनाएसम्म पुरानो पुस्ताले विश्राम लिने अवस्था छैन नेपालमा । 

नयाँ पुस्ताले पुरानो पुस्तालाई विश्राम लिनुस् भनेर भन्ने मात्र परिपाटी छ, तर त्यसलाई कमिटीगत प्रणालीबाट त्यसलाई स्थापित गर्नुपर्यो । त्यो कुरामा युवाहरु चुकेका छन् । किनकि युवाहरु अहिले पनि ग्रामीण क्षेत्रमा सङ्गठन गर्नुको सट्टा केन्द्रमा अघिल्लो पुस्ताका वरिपरि रहेर पद र प्रतिष्ठा आर्जन गर्ने चक्करमा देखिन्छ अहिले पनि । यसले पुरानो नेतृत्वलाई विस्थापित होइन कि झन सबल बनाउँछ । 

हामी पुरानो पुस्ता असफल नै भइसकेको भनेर किन मान्दैनौँ भने नयाँले केही न केही कार्यक्रम ल्याउनु पर्यो । नयाँले तिमीले छोड भन्ने होइन नयाँले यदि मैले मौका पाएँ भने मेरो पार्टीको नीति, सिद्धान्त र दर्शनलाई स्थापित गर्ने कार्यक्रम यो हो भनेर ल्याउनु पर्यो नयाँले । त्यो कार्यक्रम अनुमोदन हुनुपर्यो । कांग्रेसमा गगन थापा तथा एमालेमा गोकर्ण विष्ट तथा योगेश भट्टराईले यो गर्छु भनेर कार्यक्रम ल्याउनु पर्यो । राजनीतिको मैदान पनि खेल मैदान जस्तै हो । खेल मैदानमा आफैँ बाहिर गए हुन्थ्यो भन्ने हुन्छ र । त्यसकारण मैदान आफैँ खाली हुँदैन । खाली गराउने कुरा हो । विधि, पद्धति र प्रकृयाबाट खाली गराउने हो । 

(श्रेष्ठसँगको कुराकानीमा आधारित)

अन्तिम अपडेट: माघ ३, २०७९

मिलन श्रेष्ठ

श्रेष्ठ राजनीतिक शास्त्रका उप–प्राध्यापक तथा अधिवक्ता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया