नारायणी नदी तटबन्धको काम सुरु, मेयर दाहालद्वारा अनुगमन

 मंसिर १९, २०७९ सोमबार २०:१:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – नारायणी नदी तटबन्धको काम सुरु भएको छ । हिउँद लागेसँगै नारायणी नदी तटबन्धकाे काम सुरु भएको हो ।

नारायणी नदी तटबन्धका लागि सङ्घीय सरकार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट झन्डै पाँच अर्ब रुपैयाँ बजेट विनियोजन भइ चार वटा प्याकेजमा ठेक्का सम्झौता भइसकेको छ भने एउटा प्याकेजको बोलपत्र आह्वान भइसकेको छ । ठेक्का सम्झौता भएको चार वटा प्याकेजमा धमाधम काम सुरु भएसँगै यो कामले गति लिएको हो ।

नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर शङ्कर बुढाथोकीका अनुसार रामघाटदेखि शिवघाट हुँदै काभ्रेघाटसम्म झन्डै पाँच किलोमिटर एक अर्ब १५ करोड रुपैयाँको ठेक्का सम्झौता भएको छ । दोस्रो प्याकेज पाँच किलोमिटरकै गाजीपुरदेखि हिरापुरसम्म ४८ करोड रुपैयाँको ठेक्का सम्झौता भएको छ । सिसैदेखि बलुवासम्म झन्डै पाँच किलोमिटर ३७ करोड रुपैयाँको ठेक्का सम्झौता भएको छ । बलुवादेखि गोलाघाटसम्म २६ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको छ । पाँचौँ प्याकेज नारायणी सिबिचको काम पुलदेखि झन्डै एक किलोमिटर अगाडि बोलपत्रको काम भइ अहिले मूल्याङ्कनको क्रममा छ । यो प्याकेजको लागत अनुमान २० करोड रुपैयाँ रहेको छ ।

आज सोमवार भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको नेतृत्वमा आयोजनको अनुगमन तथा निरीक्षण गरिएको छ । निरीक्षणका क्रममा मेयर दाहालले तटबन्धनको कार्य प्रगतिको बारे जानकारी लिनुभएको थियो । तटबन्धका लागि अहिले केही ठाउँमा बिग बोल्डर (ठूलो चट्टान) झार्ने काम भइरहेको छ भने क्याम्पहरू निर्माण पनि भइरहेको छ । नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी बुढाथोकीले अहिलेसम्म तीन प्रतिशत काम पूरा भइसकेको जानकारी दिनुभयो । अबको केही समयपछि आँखाले देखिने गरी तटबन्धले आकार लिने छ ।

अनुगमनपछि पत्रकारसँग कुरा गर्दै मेयर दाहालले महानगरपालिकामा धेरै वटा आयोजना सञ्चालन हुँदै आए पनि नारायणी नदीको तटबन्धको कामलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । नारायणी र राप्ती नदीको तटबन्ध गर्न सकेमात्र भरतपुरको दिगो विकास हुने भएकाले यो आयोजना प्राथमिकतामा रहेको उहाँको भनाइ थियो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया