दूध ढुवानीका लागि आफूले प्रयोग गर्दै आएको गाडी दिने प्रमुख प्रशासकीय अधिकृत

 मंसिर १९, २०७९ सोमबार १९:४१:५८ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङको राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले आफूले प्रयोग गर्दै आएको गाडी दूध ढुवानीका लागि उपलब्ध गराउनुभएको छ । 

गाडीकाे अभावमा स्थानीय किसानलाई घरदेखि चिस्यान केन्द्रसम्म दूध ढुवानी गर्न समस्या भएकोले उनीहरूकाे सहजताका लागि आफूले प्रयोग गर्ने गाडी उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत सुयलले बताउनुभयो । ‘सवारी साधन नभएकाले समयमा ढूध ढुवानी गर्न नसक्दा सङ्कलन तथा वितरणमा थप समस्या भएको कारण गाडी उपलब्ध गराइएको हो’, उहाँले भन्नुभयो ।

नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको दुग्ध विकास संस्थान काठमाण्डाै दुग्ध वितरण आयोजनाअन्तर्गत राइनास ५ काे तीनपिप्लेमा २०७८ मा राइनास दूध चिस्यान केन्द्र स्थापना भएको हो । केन्द्र स्थापनासँगै गाईपालनमा किसानको आकर्षण बढ्दै गएको छ । अहिले नगर क्षेत्रमा झन्डै दुई सय सङ्ख्याको हाराहारीमा दूधालु गाई पालिएका प्रमुख प्रशासकीय अधिकृत सुयलले उहाँले बताउनुभयो ।

यस केन्द्रमा अहिले राइनास क्षेत्रको बोराङखोला, साँहिलीटार, हर्राबोट, धमिलिकुवा लगायतका ठाउँका दूध दैनिकरूपमा आउने गरेकाे छ । केन्द्रमा अहिले दैनिक झन्डै एक हजार लिटर दूध सङ्कलन हुँदै आएको छ । यहाँ सङ्कलित दूध दुग्ध विकास संस्थानले तीन/तीन दिनको अवधिमा काठमाण्डाै लैजाने गर्दछ । संस्थाले उत्पादित, सङ्कलित दूधको बजारीकरण गर्दै आएको छ ।

नगरपालिकाले किसानको हौसलाका लागि प्रतिलिटरमा तीन रुपैयाँका दरले उत्पादनमा आधारित अनुदान उपलब्ध गराएकाे छ । पशुपालनमा किसानको आकर्षण बढाउने, दूध उत्पादनका साथै बजारीकरण गरि किसानको आयस्तर बढाउने नगरपालिकाको उद्देश्य रहेको र त्यहीअनुसार विभिन्न सहयोगका कार्यक्रम सञ्चालन हुँदै आएको नगरपालिकाले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया