जाँडरक्सी र लागु पदार्थ खाएर गाडी चलाउनेलाई अब मुद्दा लाग्ने

 मंसिर २०, २०७९ मंगलबार ६:५२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जाँडरक्सी र लागु पदार्थ खाएर गाडी चलाउनेलाई प्रहरीले अब मुद्दा चलाउन थालेको छ । यसअघि कारबाही गरेर मात्रै छोड्ने गरिएको थियो ।

काठमाण्डाै उपत्यकाका विभिन्न क्षेत्रमा सुरक्षा जाँचका क्रममा स्कुलका बस चलाउने चालकले समेत जाँडरक्सी र लागुु पदार्थ खाएको भेटिएपछि प्रहरीले सार्वजनिक अपराधका साथै सम्बन्धित कसुरमा मुद्दा नै चलाउन थालेको काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह–प्रवक्ता एवम् प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिनुभयो ।

लागुऔषध र जाँडरक्सी खाएर गाडी चलाउनु यात्रुको जिउ ज्यानमा खेलवाड गर्नु हो । त्यसैले त्यसरी गाडी चलाउने चालकलाई मुद्दा नै चलाउन थालिएको उहाँले बताउनुभयो । केही  दिन अघि मात्रै काठमाण्डाैको फर्पिङमा ना १ ज ८४६९ नम्बरको जीप चालक काभ्रे पनौतीका ४४ वर्षीय नवराज केसीले जाँडरक्सी खाएर गाडी चलाएको भेटिएको थियो । केसीमाथि प्रहरीले अभद्र व्यवहार गरेको आरोपसहित मुद्दा चलाएको छ ।

यस्तै, लागुऔषध खाएर गाडी चलाएका पाँच जना विरुद्ध पनि लागुऔषध सेवनको कसुरमा पाँच दिन म्याद थप गरेर मुद्दा अघि बढाइएको प्रहरीले जनाएको छ । यसरी मुद्दा चलाइएकामा दीपेश सुनुवार, रोशन तामाङ, प्रह्लाद लामा, मोहन विक र अमित थापा मगर रहेका छन् । उनीहरूलाई किटको प्रयोग गरी पिसाब  जाँच गर्दा लागुऔषध सेवन गरेको पाइएको थियो ।

जाँडरक्सी र लागुऔषध खाएर गाडी चलाउँदा दुर्घटना बढ्ने भएकाले प्रहरीले कडाइ गरेको हो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया