पीएम कप क्रिकेट : मधेशलाई हराउँदै बाग्मती 'सुपर–फोर' मा
माघ ८, २०८१ मंगलबार
सरकारले आउँदो माघ २३ गतेदेखि पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने 'ह्युमन पापिलोमा भाइरस' (एचपीभी) खोप अभियान शुरू गर्दैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन देशैभरका किशोरीलाई निःशुल्क खोप दिन लागेको हो । १५ दिनसम्म चल्ने खोप अभियानमा देशभरका १० देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार जनाभन्दा धेरै किशोरी लाभान्वित हुने मन्त्रालयले जनाएको छ । माघ २३ गते क्यान्सर दिवसका अवसरमा देशव्यापी खोप अभियान शुरू हुँदैछ । अहिले नेपालमा हरेक दिन चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान गइरहेको मन्त्रालयको तथ्याङ्क छ । किशोरीलाई खोप दिएमा क्यान्सरबाट जोगाउन प्रभावकारी हुने मन्त्रालयको विश्वास छ । यसै विषयमा मल्लिका थापाले स्वास्थ्य मन्त्रालयको बाल स्वास्थ्य तथा खोप महाशाखा प्रमुख अभियान गौतमसँग गरेको संक्षिप्त कुराकानी –
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउने तयारी कहाँ पुग्यो ?
हामीले पाठेघरको मुखको क्यान्सरविरुद्धको विद्यालय केन्द्रित एचभीपी खोप अभियान माघ २२ गतेदेखि १५ दिनसम्म देशैभर एकैपटक सञ्चालन गर्दैँछाैँ । विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० का छात्रा र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरेर खोप अभियान सञ्चालन गर्न लागिएको हो । झन्डै १६ लाख ८८ हजार ६ सय ७८ जना किशोरीलाई खोप लगाउने लक्ष्य छ । देशैभरि खोप तयारी अवस्थामा रहेको छ । नेपालले पाउनुपर्ने सबै खोप आइसकेको छ । हाम्रो सबै तयारी सकिएकाले अब खोप दिन हाम्रा संयन्त्र तयारी अवस्थामा छन् ।
खोप अभियान किन किशोरी लक्षित चालाउन लागिएको हो ?
अध्ययनहरूले किशोरावस्थामै खोप लागायो भने प्रभावकारी उच्च रहने देखाएका छन् । विश्व स्वास्थ्य सङ्गठनले पनि खोपका लागि १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई सिफारिश गरेको छ । यसमा यो उमेर समूहका किशोरीले एक मात्रा लगाए पुग्छ भनिएको छ । त्यहीअनुसार हामीले काम गरिरहेका छौँ ।
कक्षा ६ देखि १० सम्म पढ्ने किशोरी १४ वर्षभन्दा बढी उमेरको भए के गरिन्छ ?
कक्षा ६ देखि १० सम्म पढ्ने किशोरी १४ वर्षभन्दा बढी उमेरका हुन सक्छन् । धेरैजसाे १० वर्ष उमेरका किशोरी कक्षा ६ मा पढ्ने गरेको देखिएको छ । तर कक्षामा १/२ वर्ष उमेर तलमाथि भयो भने पनि खोप दिन्छौँ ।
अविवाहित किशोरीलाई खोप दिइने भनिएको छ, यदि कुनै कक्षामा विवाहित किशोरी रहेछन् भने के गर्ने ?
कुनै किशोरी विवाहित अथवा गर्भवती भएको हकमा खोप दिँदैनौँ । विवाहित भएका किशोरीलाई खोप दिए पनि कमै मात्रा काम गर्ने हुनाले खोप नदिने भनेका छौँ । ठूलाे सङ्ख्यामा खोप जाने भएकाले गर्भवती नरहेमा खोप पाउँछन् । अध्ययनका अनुसार गर्भवती किशोरीले खाेप लगाउँदा कम प्रभावकारी देखिएको छ । अहिलेको समयमा हेर्दा कतिपय किशोरी विद्यालयमा भर्ना भएको तर नगएको पनि देखिएको छ । ती किशोरीलाई खोप दिने लक्षित समूह मान्दैनौँ ।
विद्यालयस्तरमा गएर किशोरीलाई खोप लगाउने भनिएको छ, सबै विद्यालयमै गएर खोप लगाउने हो ?
हो, हामी सबै विद्यालयमा जान्छौँ । त्यसमा सरकारी, निजी र सामुदायिक गरी सबै खालका विद्यालय पर्छन् ।
विद्यालयबाहिरका किशोरीले कहाँ गएर लगाउने ?
विद्यालयबाहिर रहेका किशोरीलाई दुई वटा ठाउँ दिएका छौँ । उनीहरूले नजिकैको विद्यालय र स्वास्थ्य संस्थामा गएर पनि लगाउन सक्छन् । साथै कुनै समुदाय पाठेघरको क्यान्सरको जोखिममा छ भने हामी त्यहीँ गएर शिविर सञ्चालन गरेर सेवा दिन्छौँ । कोही छुट्यो भने पनि पछि थाहा पाएपछि सम्बन्धित ठाउँमै गएर खोप लगाउने योजना बनाएका छौँ ।
आएको खोपले देशभरका किशोरीलाई पुग्छ ?
राष्ट्रिय जनागणनाअनुसार हामीले १६ लाख ८८ हजार ६ सय ७८ जना किशोरीको तथ्याङ्क लिएका थियौँ । जनगणनाको तथ्याङ्कलाई आधार मानेर खोप मागेका थियौँ । यही सङ्ख्याका किशोरीलाई लगाउनका लागि १७ लाख ७० हजार २० वटा खोप प्राप्त भएका छन् । यी खोप पर्याप्त छन् । एक जना किशोरीले १० देखि १४ वर्षको उमेरमा एक पटक खोप लगाएपछि जीवनभर काम गर्छ ।
किशोर अवस्थामा पाठेघरको क्यान्सरविरुद्धको खोप लगाएपछि ढुक्क हुन सकिन्छ ?
विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचभीपी खोपको प्रभावकारिता ९५ देखि शतप्रतिशत रहेको भनेर अध्ययनहरूले देखाएका छन् । त्योअनुसार एउटा खोप लगाएपछि ती उमेर समूहलाई जीवनभर कम गर्छ भनिएको छ । अहिले किशोरीलाई दिने 'बायोभ्यालेन्ट खोप' हो । एचपीभी खोपका विभिन्न प्रजाति हुन्छन् । कोभिडजस्तै एचपीभीको पनि धेरै प्रजातिका भाइरस हुन्छन् । ती प्रजातिमध्ये सबैभन्दा क्यान्सर गराउने भनेको एचपीभी १६ र १८ हुन् । विश्व समुदाय र नेपालमा पनि एचपीभी १६ र १८ भएकाले यसलाई लक्षित गरी खोप लगाउन लागिएको हो । यो खोप लगाएपछि एचपीभी १६ र १८ ले गराउने क्यान्सर लाग्दैन । यद्यपि एचपीभीका अरू प्रजातिले न्यून सङ्ख्यामा क्यान्सर गराउँछन् । तर भविष्यमा किशोरीलाई क्यान्सर हुँदैन भनेर भन्न सकिँदैन । त्यसैले खोप लगाएका ८० प्रतिशतभन्दा बढी कारक देखिएकालाई एचपीभी १६ र १८ बाट बचाउँछ । तर भोलि गएर यसमा अरू कारक हुन सक्छन् । त्यसका लागि नियमित रूपमा परीक्षण गर्नुपर्छ । अहिले किशोरीले खोप लगाए पनि ३० वर्षको उमेर पुगेपछि नियमित रूपमा पाठेघरको मुखको परीक्षण गराउनुपर्छ । अहिले कसैले खोप छुटाए भने पनि नियमित रूपमा परीक्षण गर्ने र लाग्यो भने उपचार गरेर पनि क्यान्सरबाट बच्न सकिन्छ । यसमा खोप, नियमित रूपमा परीक्षण र सफल उपचार गर्नेसहित ३ वटा रणनीति छन् ।
खोप लगाइसकेपछि कस्ता खालका समस्या देखिन सक्छन् ?
खोप लगाइसकेपछि लगाएको ठाउँमा हल्का सुन्निने र दुख्ने हुन सक्छ । कुनै बेला सानो फलामको काँटीले गोप्दा हुने दुखाइजस्तै सामान्य असर हुन सक्छ । त्यसका लागि हामीले किशोरीलाई परामर्श गरिरहेका छौँ । साथै उनीहरूलाई खोप लगाउँदा छुट्टै कक्षामा लगेर लगाउने व्यवस्था मिलाएका छौँ । त्यसैले सामान्य खालका लक्षण मात्र देखिने हुँदा नडराइकन खोप लगाउन आग्रह गर्छु ।
अहिले निःशुल्क खोप चलिरहेको छ, यदि पैसा तिरेर खोप लगाउन पर्यो भने कति पर्छ ?
यो खोपको मूल्य बजारमा विभिन्न खालका छन् । एचपीभी खोपको मूल्य बजारमा ६ हजार ३ सय रुपैयाँभन्दा बढी रहेको छ ।
अहिले पैसा तिरेर कसलाई लगाउन मन लागे नेपालमा उपलब्ध छ कि छैन ?
यो खोपका लागि विभिन्न निजी सङ्घ–संस्थाले काम गरिरहेका छन् । साथै नजिकैको स्वास्थ्य संस्थासँग पनि सम्पर्क गर्न सकिन्छ । तर सरकारले अहिले लक्षित समूहलाई निःशुल्क प्रदान गर्दैछ ।
लक्षित समूहबाहेक कसैलाई खोप लगाउन मन लाग्यो भने कस्तो मानिसले लगाउन सक्छन् ?
अहिले विश्व स्वास्थ्य सङ्गठन अथवा नेपालको राष्ट्रिय खोप सल्लाहकार समितिले एउटा मापदण्ड बनाएको छ । सबैभन्दा बढी प्रभावकारी हुने उमेर समूहलाई खोप दिन लागेका हौँ । यसबाहेक पनि यौन जीवनमा सक्रिय नभएका किशाेरी अथवा महिलालाई खोप दिन सकिने भनेर अध्ययनहरूले देखाएको छ । यद्यपि यसमा पनि उमेर बढी भएकाले लगाउँदा खोपको प्रभावकारिता घट्दै जाने देखिएको छ । यदि लगाउनैपरे खोप लगाउनु पहिले स्वास्थ्य संस्थामा गएर जाँच गरेर मात्र लगाउनुपर्छ ।
पाठेघरको मुखको क्यान्सर खास के कारणले लाग्छ ?
पाठेघरको मुखको क्यान्सरको मुख्य कारक भनेको एचपीभीको सङ्क्रमण हो । महिलाको पाठेघरमा एक पटक वा धेरै पटक सङ्क्रमण भयो भने घाउ हुन्छ । त्यही घाउ पछि गएर क्यान्सरको रूपमा परिणत हुने हो । कति जनालाई लक्षण थाहा हुने गरी क्यान्सर लागिसकेकाे हुन्छ । ढिलो थाहा भएपछि जटिल प्रक्रियामा जान्छ । त्यसैले समयमै जाँच गर्नुपर्छ भनिएकाे हो । योनीबाट नियमित पानी बगिरहेको, यौन सम्पर्कपछि रगत बगिरहेको अथवा गनाउने पानी बगिरहेको, मानिसको तौल घटिरहेको, खान मन नलाग्ने भएको अवस्थामा पाठेघरको मुखको क्यान्सर भइसकेको हुन्छ । यस्तो भएको थाहा पाउनेबित्तिकै स्वास्थ्य संस्थामा गएर जाँच गराइहाल्नुपर्छ ।
यो रोग यौन सम्पर्क गरेपछि नै लाग्ने हो ?
महिला यौन जीवनमा सक्रिय भइसकेको अवस्थामा याे राेग देखिने हो ।
पाठेघरको मुखको क्यान्सरबाट बच्न परीक्षण कति समयमा गर्नुपर्छ ?
महिलाको उमेर ३० वर्ष कटेपछि परीक्षण गर्नुपर्छ । एक पटक परीक्षण गरेपछि हरेक ५/५ वर्षमा परीक्षण गर्दा राम्रो हुन्छ । यदि कोही एचआईभी सङ्क्रमित अथवा रोगसँग लड्ने क्षमता कम छ भने २५ वर्षदेखि हरेक ३/३ वर्षमा परीक्षण गर्नुपर्छ ।
नेपालमा महिलामा पाठेघरको मुखको क्यान्सर बढी देखिन थालेको छ, यसको रोकथाम गर्न के–के गर्न सकिन्छ ?
नेपाल सरकारले ३ वटा लक्ष्य लिएको छ । झन्डै ९० प्रतिशत किशोरीलाई खोप दिने, एचआईपी लागेको खण्डमा २५ वर्ष र अन्य ३० वर्षभन्दा बढी उमेर भएका ९० प्रतिशत महिलालाई नियमित परीक्षण गराउने र क्यान्सर लागेका कम्तीमा ९० प्रतिशत महिलाको सफल उपचार गराउने सरकारको लक्ष्य छ । त्यहीअनुसारको तयारी पनि भइरहेको छ ।
पाठेघरको मुखको क्यान्सर र खोपको सम्बन्धमा अहिले देखिएका भ्रम कस्ता छन् ?
यो खोप सुरक्षित छैन र खोप प्रयाेगका लागि आएको भन्ने सुनिन्छ । आजको दिनसम्म विश्वका १ सय ४५ वटा देशमा एचपीभी खोप सञ्चालन भइरहेको छ । नेपालले भन्दा केही सयम अगाडिदेखि ती देशहरूले सफलतापूर्वक खाेप अभियान सञ्चालन गर्दै आएका छन् । यो खोपलाई विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको छ । साथै नेपालको औषधि व्यवस्था विभागले पनि खोप प्रयोग गर्न मिल्छ भनेर स्वीकृत गरेको छ । त्यसैले यो खोप गुणस्तरीय भएकाले डर नमानेर सुरक्षित तरिकाले लगाउन अनुरोध गर्छु । खोप लगाइसकेपछि केही असरहरू देखिन्छ भन्ने सुनिँदै आएको छ । यसमा सामान्य खालका असर जस्तै– सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, केहीलाई ज्वरो आउने, रिँगटा लागेकाे जस्तो हुन सक्छ । यसअघि पनि नेपालमै यो खोप लगाएर अहिले सक्रिय जीवनयापन गरिरहेकाहरू छन् । धेरै मानिसले किनेर लगाउँछु भन्दा पनि नपाएको यो खोप हो । यो खोप बनाउन पनि गाह्रो र पाउन पनि समय लाग्छ । साथै किनेर लगाउन पनि महँगो पर्छ । अहिले नेपालले निःशुल्क उपलब्ध गराउन थालेको छ । त्यसैले एचपीभी खोप ढुक्क भएर लगाएर मौकाको फाइदा उठाउन अनुरोध गर्छु ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
थापा उज्यालाेमा कार्यरत हुनुहुन्छ ।