सुरक्षा कवच बन्दै किशोरी आत्मरक्षा अभियान

 मंसिर २२, २०७९ बिहिबार १९:२४:३० | अमर सुनार
unn.prixa.net

दैलेख – आठबीस नगरपालिका–५ एक गाउँकी २३ वर्षीया युवती जेठको अन्तिम साता वनमा घाँस काट्न गएको बेला गाउँकै चिनेजानेको २४ वर्षीय विवाहित युवकले एक्लै देखेर बलात्कारको प्रयास गरे तर ती युवती बल्लतल्ल जोगिन सफल भइन् ।

‘श्रीमान् वैदेशिक रोजगारीमा भएकी मान्छे तिमीलाई पनि चाहना हुन्छ होला’ भन्दै युवकले बलात्कारको प्रयास गरेका थिए । त्यो घटनाको दुई हप्ताअघि इन्सेकले राकममा आयोजना गरेको किशोरी आत्मरक्षा तालिममा सहभागी भएर जानेको सीपले बलात्कार हुनबाट जोगिएको ती युवतीले बताइन् ।

‘आफूले जानेको सीपले पो जोगिएँ नत्र बलात्कृत भएकी हुन्थेँ होला’ आफू बलात्कृत हुनबाट जोगिएपछि उनले प्रहरीमा जबरजस्ती करणीमा उजुरी गरिन् । युवतीको उजुरीपछि प्रहरीले आरोपितलाई पक्राउ गरी आवश्यक अनुसन्धान सकेर असार १६ गते जिल्ला सरकारी वकील कार्यालयमार्फत् दैलेख जिल्ला अदालतमा पेस भएको मुद्दामा त्यही दिन थुनछेक बहसपछि आरोपित व्यक्ति पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

आत्मरक्षा अभिमुखीकरणको प्रभाव प्रहरीले पनि राम्ररी बुझेर प्रहरी साझेदारी अभियानका कार्यक्रममा पनि जोड्ने गरेको छ । मङ्सिर ९ गतेदेखि सुरु भएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको समयमा पनि प्रहरीले यस्ता कार्यक्रमलाई जोड्ने गरेको छ ।

मङ्सिर १४ गते रेडक्रस मावि भूर्ती र मङ्सिर १६ गते महेन्द्र मावि सोतमा भएको लैंगिक हिंसा विरुद्धको अभियान कार्यक्रममा महिलामाथि हुने हिंसा रोकथामका सचेतना गतिविधि भित्र किशोरी आत्मरक्षा अभिमुखीकरण प्रमुख प्रस्तुती रह्यो ।

त्यस कार्यक्रममा दैलेखका प्रहरी इञ्चार्ज प्रहरी नायव उपरीक्षक भुवनेश्वर साह र भूतीमा प्रहरीको महिला सेल इञ्चार्ज प्रहरी नायव निरीक्षक सुशीला भुसालले आत्मरक्षा अभिमुखीकरणले विद्यालय उमेरका किशोरीहरुलाई सुरक्षा सीप सिकाएको  बताउनुभयो ।

भगवतीमाई गाउँपालिका–५ कट्टीकी आशा विकलाई लैंगिक हिंसा विरुद्धको अभियानकै सन्दर्भमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको किशोरी आत्मरक्षा तालिममा सहभागी भएदेखि के कस्ता भाषा, संकेत वा व्यवहार र क्रियाकलाप यौन दुर्व्यवहार र बलात्कार लक्षित हुन्छन् भन्ने थाहा भयो ।

यौनजन्य दुर्व्यवहार र बलात्कार घटनाबाट कसरी जोगिने ?

आत्मरक्षा सीप सिकाउन केही नमूना अभ्यास गरेको बेला देखेकोबाटै पनि आत्मविश्वास बढेको आशाको भनाइ छ । याे तालिम विद्यालय गइरहेका किशोरीहरुका लागि झनै उपयोगी भएको चाँदनी थापाको बुझाइ छ ।

तालिम चलाउन जानु भएकी सहजकर्ता सुनिता सोनीको टोलीको प्रस्तुती हेरेपछि कार्यक्रमकी अतिथि भगवतीमाई गाउँपालिकाकी अध्यक्ष मीना खड्काले टोलीलाई गाउँगाउँमा अभिमुखीकरण गराउन गाउँपालिकाको बजेट विनियोजन गर्ने वचनबद्धता पनि व्यक्त गर्नुभयो ।

बालिका बचाउ अभियानको प्राविधिक टोलीले इन्सेकको अधिकार–२ परियोजना अन्तर्गतको कार्यक्षेत्रका युवायुवतीहरुलाई दिएको एक हप्ते प्रशिक्षक प्रशिक्षण तालिममा सहभागी भएकी सुनिताले आफूसँग पढ्दै गरेका किशोरीहरुलाई नै गराएको अभ्यास अनुसार ७ जनाको टोली गाउँगाउँमा किशोरी आत्मरक्षा अभिमुखीकरण चलाउँदै हिँड्ने गरेको छ ।

अभियानकै क्रममा नारायण क्याम्पसका किशोरी तथा युवतीहरुका लागि किशोरी आत्मरक्षा अभिमुखीकरण लिएर गएकी सुनिता र साथीहरुको प्रस्तुती हेरिसकेपछि क्याम्पसका उपप्राध्यापक अधिवक्ता सुरेन्द्र अधिकारीले १२ कक्षा उत्तीर्ण भएका र पढ्दै गरेका किशोरीहरुको अनुशिक्षण अझै बढी प्रभावकारी रहेको टिप्पणी गर्नुभयो ।

उच्च शिक्षा अध्ययन गर्न सदरमुकामको नारायण क्याम्पस जान लागेका सुनिताको टोलीलाई तपाईँहरुको टोली छिट्टै नारायण क्याम्पसमै पढ्न आउनुस् भनेर उपप्राध्यापक अधिकारीले आफू विद्यार्थीकाे स्वागतका लागि आतुर रहेको कुराको जनाउ दिनुभयो ।  

‘अभिमुखीकरण पनि राम्रो लाग्यो आफैँ पनि मेहनती देखेर उनीहरुलाई चिया खुवाएर पठाएँ’ नारायण क्याम्पसका प्रमुख नरबहादुर शाहीले भन्नुभयो । नारायण क्याम्पस मात्र होइन वसन्त मावि किमुगाउँ, सरस्वती मावि तर्ताङ्ग, त्रिवेणी मावि चुप्रा पुग्दा पनि शिक्षक, जनप्रतिनिधिले साह्रै सराहना गरे ।

यस्ता अभिमुखीकरणको बेला अधिकार क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था, नजिकको प्रहरी इकाइ समेतलाई खबर गरेर किशोरी आत्मरक्षा अभिमुखीकरण अभ्यास देखाउने गरेकोले उनीहरुलेसमेत सहकार्य बढाउन थालेका छन् ।

महिला तथा बाल अधिकारको क्षेत्रमा काम गर्ने सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको बाल हेल्पलाइनकी कार्यक्रम संयोजक रमा श्रेष्ठले आफूहरुले सञ्चालन गर्ने जनचेतनामूलक कार्यक्रममा प्रसङ्ग मिलेसम्म किशोरी आत्मरक्षा अभिमुखीकरण अभ्यास गराउन सहकार्य गर्ने वचन दिनुभयो ।

यौन दुर्व्यवहार र बलात्कारजन्य घटनाका पीडित किशोरीहरु नै भइरहेको अवस्थामा किशोरीहरुले नै चलाइरहेको किशोरी आत्मरक्षा अभिमुखीकरण कार्यक्रमले समाजमा अपराध रोकथाम र सचेतनाको राम्रो काम गरेको पाएको जिल्ला प्रहरी कार्यालय दैलेखको महिला तथा बालबालिका सेवा केन्द्रका इञ्चार्ज प्रहरी नायव निरीक्षक सुशीला भुसालको टिप्पणी छ ।

प्रहरीले पनि जनचेतनाका कार्यक्रमहरु सञ्चालन गरिरहेको हुन्छ । विषय वस्तु मिल्दोजुल्दोहुँदा किशोरी आत्मरक्षा अभिमुखीकरण पनि जोडेर लिने गरी जिल्ला प्रहरी कार्यालयमा सल्लाह भएको महिला तथा बालबालिका सेवा केन्द्रका इञ्चार्ज भुसालले जानकारी दिनुभयो ।

विद्यालय, क्याम्पस, गाउँपालिकामा किशोरी आत्मरक्षा अभिमुखीकरण कार्यक्रम गर्न सुनिताको टोली स्वयंसेवी ढंगबाट काम गरिरहेको छ । आफूले जानेको सीप देखाउन वा सिकाउन सके स्राेत भएको बेला पालिक वा अन्य निकायको स्राेतमा काम गर्ने अवसर मिलोस् भनेर अहिले स्वय‌ंसेवीका रुपमा काम गरिरहेको सहजकर्ता सुनिताले बताउनुभयो ।

के हो आत्मरक्षा अभिमुखीकरण र कसरी सिकाइन्छ ?

अभिमुखीकरणमा भौतिक रुपमा आक्रमण नगरिकनै पनि यौनजन्य आकांक्षाले गरिने अभिव्यक्ति, शारीरिक हाउभाउ वा गतिविधिले पनि क–कसले राम्रो भावना र दुराचारको व्यवहार गर्दैछ भन्ने अनुमान गर्नलाई सचेतना, सावधानी, शारीरिक आक्रमणबाट बच्न तरिका सिकाइन्छ । कुनै हालतमा बलात्कारबाट जोगिन नसके कानुनी प्रक्रिया के हो भन्ने बारेमासमेत एउटै प्याकेजमा अनुशिक्षण गर्ने गरिएको छ ।

चार वर्षअघि कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको देशभर विरोध अभियान चलेको बेला दैलेखमा मानव अधिकार सम्बन्धी काम गर्ने संघसंस्थाको अगुवाइमा बालिका बचाउ अभियानले थालेको सचेतनाले किशोरी आत्मरक्षा अभिमुखीकरणको जग बसालिएको थियो ।

युवा अभियन्ता सजना सुनार संयोजक र पत्रकार अमर सुनार सहसंयोजक रहेको ९ सदस्यीय बालिका बचाउ अभियानले कर्णाली प्रदेशका सुर्खेत, जाजरकोट, जुम्ला र कालिकोटमासमेत विस्तार भएको छ । बालबालिकाको क्षेत्रमा काम गरिरहेका किडार्क नेपाल, क्याड नेपाल, आवाज, सोसेकले पनि आफ्ना सचेतना अभियानमा सहकार्य गर्दै सुनिता सोनी जस्ता दर्जनौँ सहजकर्ताहरुले गाउँगाउँमा यी अभियान चलाइरहेका छन् ।

बालिका बचाउ अभियानले तयार पारेको पाठ्यसामग्रीका आधारमा ११ चरणको किशोरी आत्मरक्षा अभिमुखीकरणमा सामान्य सांकेतिक शारीरिक छुवाइदेखि बलात्कार गर्ने प्रयास भएको समयमा आफूभन्दा बलियो मान्छेलाई के कस्ता शारीरिक प्रतिरोध गर्ने र कस्तो अवस्थामा आक्रमणकारीको सम्वेदनशील अङ्गमा कसरी प्रहार गरेर जोगिन सकिन्छ भनेर सिकाउने गरिन्छ । जस्तै :– 

१. एक हातले आक्रमण गर्दा 
२. दुई हातले आक्रमण गर्दा 
३. एक हातले पछाडिबाट आक्रमण गर्दा
४. कपाल समातेको बेला
५. पछाडिबाट शरीरमा समातेको अवस्थामा
६. पछाडिबाट शरीर र हात समातेको अवस्था 
७. पछिल्तिरबाट घाँटी समाएमा
८. अगाडि सम्मुखमै उभिएर आक्रमण गर्दा 
९. अघिल्तिरबाट शरीर र हात समातेको अवस्था
१०. लडाएर घाँटी थुन्न खोजेको खण्डमा र
११. बलात्कारको उद्देश्यले लडाइ सकेको अवस्था 

यी अवस्था अनुसार शारीरिक प्रतिरोध गर्ने र कस्तो अवस्थामा आक्रमणकारीको सम्वेदनशील अङ्गमा कसरी प्रहार गरी आफू भाग्ने वा उम्कने र घटना परिवेश अनुसार पीडितले प्रतिरोध गर्ने सीप र कौशलता बारे प्रयोगात्मक अभ्यास गराउने गरिन्छ ।

त्यस्तो अभ्यासमा आफूभन्दा बलियो आक्रमणकारी भए पनि प्रतिरोधका अभ्यास, कला, कौशलता, छरितापन र सजगता विषय केन्द्रित गरिन्छ । आफूले गर्ने क्रियाकलाप र त्यसपछि समुदाय वा वरपरका व्यक्ति तथा निकायहरुको सहयोग र सहकार्य बढाउने बारे सीप तथा ज्ञानका कुरा किशोरी आत्मरक्षा अभिमुखीकरणमा सिकाउने गरिएको छ ।

मानव अधिकार हनन तथा ज्यादतीका घटनाको अभिलेख राख्ने गरेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अनुसार कर्णाली प्रदेशका १० जिल्लामा सन् २०२१ को अवधिमा ४ सय ३० जना पीडितमध्ये २२ वयस्क महिला र १८ वर्ष मुनिका ८४ जना बालिका बलात्कृत भएको नेपाल मानव अधिकार वर्ष पुस्तकमा छापिएको छ ।

कर्णाली प्रदेशमा मात्र एक वर्षमा बलात्कृत ८४ मध्ये १९ जना दैलेखका छन्, बालिकाहरु बलात्कृत भइरहेको तथ्याङ्कले देखाएको आधारमा इन्सेकले अधिकार–२ परियोजनामा किशोरी आत्मरक्षा अनुशिक्षण चलाएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को अधिकार–२ परियोजना कार्यक्रम संयोजक किरण पौडेलले जानकारी दिनुभयो ।

प्रशिक्षक प्रशिक्षण तालिम दिएपछि अधिकार–२ परियोजनाको कार्यक्षेत्र दैलेखको दुल्लू, दैलेख सदरमुकाम र आठबीस नगरपालिकामा किशोरी आत्मरक्षा अनुशिक्षण प्रभावकारी रुपमा सञ्चालन भइरहेको सुनेर आफूलाई गौरव लागेको युवा अभियन्ता सजना सुनारले सुनाउनुभयो ।  

अन्तिम अपडेट: चैत १४, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया