माइतीघर मण्डलामा अटाे व्यवसायीकाे धर्ना, ‘माग सम्बाेधन नगरे थप आन्दाेलन गर्छाैँ’

 मंसिर २२, २०७९ बिहीबार १९:१८:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अटो व्यवसायीले आज बिहीवार माइतीघर मण्डलामा धर्ना दिएका छन् । नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालको आयोजनामा गाडीको आयात खुले पनि अटो व्यवसायीले राष्ट्र बैंकको नीतिका कारण गाडी बिक्री गर्ने वातावरण नभएको बताए । उनीहरूले सरकारसँग व्यवसायीमैत्री नीति ल्याउन माग गर्दै आफ्ना माग सरकार र राष्ट्र बैंकले पूरा नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनीसमेत दिए । 

धर्ना कार्यक्रममा बोल्दै एसोसिएशनका अध्यक्ष ध्रुव थापाले गाडी आयात गर्न खुला भए पनि एलसी खोली गाडी आयात गर्न ५० प्रतिशत नगद मार्जिन कायम रहेकाले मार्जिन हटाउनुपर्ने बताउनुभयो । उहाँले गाडी आयात खुला गरे पनि ५० प्रतिशत मार्जिन, ५० प्रतिशतमात्रै फाइनान्सिङ गर्न पाइने व्यवस्थाले अटो व्यवसायी मारमा परेका गुनासो गर्नुभयो । उहाँले सरकाले गाडीको आयात खोले पनि अहिलेकै बैंक ब्याजदरमा कसैले गाडी खरिद नगर्ने बताउनुभयो । 

अध्यक्ष थापाले ब्याजदर उच्च रहेको र ५० प्रतिशतमात्रै फाइनान्सिङ हुने अवस्थामा गाडी बिक्री नै नहुने बताउनुभयो । शान्तिपूर्ण धर्ना तथा दबाबमूलक कार्यक्रम गर्दा सरकारले अटो व्यवसायीका मागलाई सम्बोधन नगरे थप आन्दोलन गर्ने उहाँले चेतावनी दिनुभयो । उहाँले सरकारले अटो व्यवसायीमैत्री नीति बनाउन नसक्दा गाडीका शोरुममा हुनुपर्ने व्यवसायी सडकमा आउनुपर्ने अवस्था आएको बताउनुभयो ।

राष्ट्र बैंकले अटो क्षेत्रको कर्जामा जोखिम भारलाई एक सय ५० प्रतिशत पुर्‍याएकाे छ । व्यवसायीले भने पुरानै अवस्थामा अर्थात् ७५ प्रतिशत नै कायम गरिनुपर्ने माग गरेका छन् । कोभिड तथा आयात प्रतिबन्धका कारण लामो समयदेखि थला परेको अटोमोबाइल व्यवसायको पुनरुत्थानका लागि कर्जामा पुनर्तालिकीकरण तथा ब्याजदरमा विशेष सहुलियतको व्यवस्था गरिनुपर्ने अटो व्यवसायीको माग छ । 

नेपाल राष्ट्र बैँकद्वारा जारी चालु पुँजी कर्जा मार्गदशर्न २०७९ तत्कालका लागि स्थगित गर्न अटो व्यवसायीको माग छ । शतप्रतिशत नगद मार्जिन र ५० प्रतिशत नगद मार्जिन राखेर प्रतित पत्र खोल्नुपर्ने व्यवस्थालाई पहिलेकै अवस्थामा ल्याउनुपर्ने उनीहरूले बताएका छन् ।

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया