काठमाण्डौ उपत्यकामा आजदेखि फेरि मेलम्चीको पानी वितरण

 मंसिर २३, २०७९ शुक्रबार ७:५०:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – मेलम्ची खानेपानी आयोजनाले काठमाण्डौ उपत्यकामा आजदेखि फेरि पानी वितरण गर्दैछ । मेलम्चीको पानी तेस्रो पटक उपत्यकाका धारामा पुग्दैछ ।

खानेपानीमन्त्री उमाकान्त चौधरीले महाँकालमा रहेको काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडको वितरण केन्द्रको साँचो खोलेर पानी छोड्नुहुनेछ ।

मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठका अनुसार सुन्दरीजल प्रशोधन केन्द्रबाट हिजो काठमाण्डौ भण्डार केन्द्रका लागि पानी छोडिएको छ । उहाँले यस पटक लगातार कम्तीमा छ महिना पानी वितरण गरिने जानकारी दिनुभयो ।

यसअघि २०७७ चैतमा पहिलो पटक मेलम्चीको पानी अस्थायी रूपमा काठमाण्डौ ल्याइएको थियो ।

मेलम्ची खोलामा आएको बाढीपहिरोका कारण क्षति पुगेपछि वितरण बन्द गरिएको थियो र २०७८ चैतमा दोस्रो पटक मेलम्चीको पानी वितरण थालिएको थियो ।

तर, बाढी पहिरोको जोखिम बढेको भन्दै गएको असार १७ गतेदेखि मेलम्चीको पानी वितरण बन्द गरिएको थियो ।

अहिले सुरुङबाट प्रतिसेकेन्ड झण्डै पाँच सय लिटर पानी सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा जम्मा भइरहेको छ ।

काठमाण्डौ उपत्यकामा क्रमशः दैनिक १७ करोड लिटर पानी वितरण गरिनेछ । काठमाण्डौ उपत्यका खानेपानी आयोजनाअन्तर्गतका विभिन्न स्रोतबाट सङ्कलित १० करोड लिटर पानी पनि वितरण गरिनेछ ।

मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठका अनुसार उपत्यकामा १० वटा ट्याङ्की निर्माण गर्नुपर्नेमा नौवटाको निर्माण सम्पन्न भइसकेको छ भने भक्तपुरको कटुञ्जेमा पानी ट्याङ्की निर्माणाधीन अवस्थामा छ ।

आयोजनाका अनुसार आरुबारी, महाँकाल चौर, बाँसबारी, पानीपोखरी, बालाजु र ललितपुरको खुमलटारमा ट्याङ्की निर्माण गरिसकिएको छ । ती ट्याङ्कीमा ७४ हजार पाँच सय घनमिटर पानी सङ्कलन हुनेछ ।
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया