दैलेखकाे गुराँस गाउँपालिका ८ बालमैत्री वडा घोषणा

 मंसिर २९, २०७९ बिहीबार १९:६:२४ | अमर सुनार
unn.prixa.net

दैलेखकाे गुराँस ८ मा रहेकाे मालिका मावि । तस्बिर : अमर सुनार

दैलेख – दैलेखकाे गुराँस गाउँपालिकाको ८ नम्बर वडालाई बालमैत्री वडा घोषणा गरिएको छ । बाल श्रममुक्त, हिंसारहित, बालविवाह निषेधितको आधार तयार भएपछि गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बीसीले आज बिहीवार एक कार्यक्रमका बीच बालमैत्री वडा घोषणा गर्नुभएकाे हाे । 

गुराँस गाउँपालिकामा बाल अधिकार सुनिश्चित गर्न बालमैत्री वडा घोषणा गरिएको यो दाेस्राे वडा हो । यसअघि गुराँस गाउँपालिकाको ६ नं वडालाई २०७५ पुस १६ गते बालमैत्री वडा घोषणा गरिएको थियो । जिल्लाभरमा यो तेस्रो बालमैत्री वडा बनेको छ ।

सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ ले तय गरेको ५१ सूचकमध्ये ८० प्रतिशत सूचक पूरा गरेसँगै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न सकिन्छ ।

बाल अधिकारका ‘बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता’ गरि चार वटा पक्षलाई मुख्य आधार मानेको छ । चार सय १९ घरधुरी रहेको वडा नं. ८ काे जनसङ्खया दुई हजार चार सय २९ रहेकाे छ ।

बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तय गरेका सूचकमध्ये धेरैजसाे सूचक पूरा गरेर बालमैत्री वडा घोषणा गरिएको वडाध्यक्ष दीपेन्द्र ओलीले बताउनुभयो । बालमैत्री वडा निर्माणको यात्रामा वडाले चुनौतीपूर्ण सूचक तथा मापदण्ड पूरा गर्दै बालबालिकाको अधिकारलाई स्थानीय नीति, नियम, कार्यक्रम र बजेटमा समावेश गरेको वडाध्यक्ष ओलीको भनाइ छ ।

वडालाई बालमैत्री घोषणाका लागि गाउँपालिका, वडा कार्यालय, सेभ द चिल्ड्रेन र सोसेक नेपालको साझेदारीमा बालमैत्री भौतिक संरचना निर्माण, बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताको क्षेत्रमा विभिन्न क्रियाकलाप सञ्चालन भएका थिए ।

निर्देशिकाले तय गरेको ५१ वटा सूचकमा गर्भवती महिला, नवजात शिशुको स्वास्थ्य जाँच, टीटीविरुद्धको खोप, दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराएको, छ महिनासम्म अनिवार्य स्तनपान, पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खाएको हुनुपर्ने व्यवस्था छ ।

त्यसैगरी एक वर्षभित्रका बालबालिकालाई पूर्ण खोप, सबै घरपरिवारमा आयोडिनयुक्त नुन, कम तौल, पुड्को र ख्याउटेपन हुने बालबालिकाको सङ्ख्यामा कमी हुनुपर्ने, सबै घरधुरीमा खानेपानी, शौचालय, अनिवार्य जन्मदर्ता, बालविवाहमुक्त भएको हुनुपर्ने व्यवस्था छ ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया