दुई केन्द्रीय सदस्य र क्षेत्रीय सभापतिलाई कारबाही गर्न काभ्रे कांग्रेसको सिफारिस

 पुष ३, २०७९ आइतबार ६:५४:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेस काभ्रेले मङ्सिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन सहयोग गरेको निष्कर्षसहित दुई केन्द्रीय सदस्य र प्रतिनिधि सभा क्षेत्र नम्बर–२ का क्षेत्रीय सभापतिलाई कारबाही गर्न केन्द्रीय अनुशासन समितिमा सिफारिस गरेको छ।

पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी केन्द्रीय सदस्य मधुप्रसाद आचार्य, गणेश लामा र प्रतिनिधि सभा क्षेत्र नम्बर–२ का सभापति महेश खरेललाई कारबाही गर्न सिफारिस गरेको जिल्ला सभापति तीर्थ लामाले जानकारी दिनुभयो । 

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन–२०७९ मा कांग्रेसका तर्फबाट काभ्रे क्षेत्र नम्बर–२ का प्रत्यक्षतर्फका उम्मेदवार, पूर्वकेन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँ र जिल्ला सभापति तीर्थ लामालाई असहयोग गरेको र पार्टीका उम्मेदवारलाई भोट नमागी विपक्षका उम्मेदवारलाई भोट मागेकाले उनीहरूलाई कारबाही सिफारिस गरिएको लामाले बताउनुभयो ।     

केन्द्रीय सदस्य मधुप्रसाद आचार्यविरुद्ध वडा कार्यसमिति, गाउँ तथा नगर कार्यसमिति र क्षेत्रीय समितिमार्फत् जिल्ला अनुशासन समितिमा उजुरी परेको छ । त्यस्तै केन्द्रीय सदस्य गणेश लामाविरुद्ध पनि पार्टी सभापति तीर्थ लामालाई हराउने अभियान सञ्चालन गरेको उजुरी परेको छ ।

बनेपा नगरपालिकाबाट प्रदेश सभा सदस्यका उम्मेदवारभन्दा प्रतिनिधि सभा सदस्य उम्मेदवारलाई तीन हजारभन्दा बढी मत कम आउनुको कारणबारे स्पष्ट पार्न प्रदेश सांसद कञ्चनचन्द्र बादे र बनेपा नगरपालिका समितिलाई काभ्रे कांग्रेसले निर्देशन दिने निर्णयसमेत गरेको जिल्ला सभापति लामाले जानकारी दिनुभएको छ ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया