यसवर्ष हिउँदमा कम पानी पर्छ, अहिलेदेखि नै पूर्वतयारी थालौँ

 पुस ३, २०७९ आइतबार १४:३२:३३ | डा. विनाेद पाेखरेल
unn.prixa.net

हिउँदे बर्खामा थोरै पानी पर्छ तर पनि महत्वपूर्ण छ । हिउँदे बर्खा तीन वटा कारणले महत्वपूर्ण छ । एउटा भनेको कृषिको लागि । अर्को भनेको वातावरणमा भइरहेको अहिलेको प्रदुषण हटाउन मद्दत गर्छ । तेस्रो भनेको डढेलो लाग्ने समय आउँदैछ त्यो घटाउने वा बढाउनेमा महत्वपूर्ण योगदान गर्छ ।

यो वर्षको सिजनल फोरकास्ट अर्थात् करिब ३ महिनासम्मको प्रक्षेपण जुन सामान्तया मिल्छ । कति कम कति बढीभन्दा पनि कम र बढीमा मिल्ने सम्भावना हुन्छ । यसरी अहिले आगामी १५ दिन तुरुन्तै पानी पर्ने सम्भावना देखिँदैन । र अर्को तीन महिना पनि सुक्खा हुने देखिन्छ । एक/दुई वटा झरी आउला नआउला भन्न सकिन्न तर समग्रमा जति झरी पर्नुपर्ने हो त्यति पर्ने देखिँदैन ।

नेपालमा मुख्यतया मनसुनको बेलामा र हिउँदमा पानी पर्छ । बर्खामा मनसुन बंगालको खाडीबाट नेपाल प्रवेश गर्छ । त्यो एकदमै शक्तिशाली हुन्छ र लगातार तीन महिना आइरहन्छ । त्यहाँबाट पानीको वाफ नियमित प्रवाह भइरहन्छ । जाडोमा मेडिटेरेनियन सागर भएको क्षेत्रबाट आउँछ । त्यहाँबाट पानी आउनको लागि हावामा पानीको वाफ कति छ त्यो भर पर्छ ।

अर्को भनेको हाम्रो मेट्रोलोजीको भाषामा त्यहाँबाट आउने प्रणालीलाई वेदर डिस्टर्बेन्सेस अर्थात् मेडिटेरेनियन सागरको हावामा भएको जलवाष्प हाम्रो क्षेत्रसम्म आउने प्रक्रियालाई पश्चिमी वायु भनिन्छ ।

जाडो महिनामा सधैँ पश्चिमबाट आउने हुनाले यसलाई पश्चिमी वायु भनिन्छ । मनसुनी वायु भने दक्षिण पूर्वी बंगालको खाडीबाट आउँछ । समुद्र र जमिनको तापक्रकमको फरकले गर्दा जुन हावा बग्छ त्यसलाई मनसुन भनिन्छ । मनसुनमा हावाको दिशा उल्टो हुने गर्छ ।

जाडोमा मनसुन पश्चिम तथा गर्मीमा पूर्वबाट आउने गर्छ । गर्मीमा दक्षिण एसिया बंगालको खाडी र अरेबियन सागरभन्दा तातो हुन्छ त्यसकारण अलि चिसो ठाउँबाट हावा तातो ठाउँतिर आउने भयो । तर, अहिले भने ठ्याक्कै उल्टो हुन्छ ।

अहिले चाहिँ जमिन बढी चिसो हुन्छ पानी बढी तातो हुन्छ । त्यसले गर्दा जमिनबाट हावा समुद्रतिर जाने भयो । त्यसकारण पश्चिमतिर, दक्षिणतिर जाने भयो । गर्मीमा भने पूर्वबाट उत्तरतिर आउँछ । जुन त्यस प्रकारको फरक खालको हावाको गति हुन्छ त्यसले नै हिउँदे र बर्खे मनसुनको दिशा फरक हुन्छ ।

यस पटक जलवाष्प बोकेर आएको मनसुनी वायु नै कम आउने कारणले कम वर्षा हुन्छ । यस पटक धेरैले याद गरेको पोहोर, परारभन्दा अलि न्यानो छ । त्यो भनेको पश्चिमी वायुले हावामा जुन पानीको वाफ बोकेर आउँथ्यो त्यो सँगसँगै चिसो तापक्रम पनि लिएर आउँथ्यो र पानी पनि पर्थ्याे । तर, यसपटक त्यो जलवाष्प कम भएका कारण पानी र मौसममा चिसो दुवै कम हुने देखिएको हो ।

अहिले हिउँदमा तुलनात्मकरुपमा न्यानो हुनु र कम पानी पर्नुको धेरै वटा कारण छन् । एउटा भनेको जलवायु परिवर्तन हो । जलवायु परिवर्तनको प्रत्यक्ष असर भनेको तापक्रम वृद्धि नै हो । यसले गर्दा जुन किसिमको हावाको गति वा पानीको बहाव, पानीको वाफ जति हुनुपर्ने हो त्यति छैन । भनेपछि सबैकुरा भइरहेको भन्दा फरक भयो ।

अहिले हाम्रोमा पश्चिमी वायु नआउनुको कारण भनेको अहिले डिसेम्बर महिनामा भारतमा एउटा सामुद्रिक आँधी आयो । त्यहाँका एक जना साथीसँग डिसेम्बर महिनामा सामुद्रिक आँधी आउनु भनेको सामान्य होइन भन्ने कुरा थाहा भयो । सामुद्रिक आँधी भनेको समुद्र तातो भएपछि आउने हो । तर, डिसेम्बरमा त त्यस्तो नहुनु पर्ने हो । त्यहाँ अहिले पनि समुद्र तातो भएर न्यूनचापीय रेखा बनिरहेको अवस्था छ । त्यो र हाम्रो पश्चिमी वायु आउनु पर्ने बाटो दुई वटाको बीचमा टक्कर परेर यसले त्यसलाई रोकिरहेको अवस्था छ ।

एउटा कारण यो हो र यसले कति प्रतिशत हिउँदे मनसुन रोकियो त्यसको अध्ययन हुन बाँकी छ । अर्को भनेको जलवायु परिवर्तनले तापक्रम वृद्धि भयो । अन्य युरोपियनहरुले गरेको अध्ययनबाट के देखिन्छ भने मेडिटेरेनियन सागरमा जति वाफ हुनुपर्थ्याे त्यहाँको जलस्रोत लेक तथा नदीहरुमा पानी घट्दै गएको देखिन्छ । पानी कम भएका कारण वाफ कम भयो । यो अर्को कारण हुनसक्छ ।

यसो हुँदा कहिलेकाहीँ हावा आए पनि पानी नबोकी आउने भयो । हामीकहाँ हावा आएर चिसो हुनसक्ला तर, पानी नपर्न पनि सक्छ । यसको असर उत्तरी भारत तथा उत्तरी पाकिस्तानमा पनि देखिएको छ । यो क्षेत्रमा जति पानी पर्नुपर्ने हो त्यति परेको छैन । र, आगामी तीन महिनामा पनि त्यही कुरा देखिन्छ । पूरै दक्षिण एसियामा पानी पनि कम पर्ने, वायु प्रदुषण पनि बढ्ने र डढेलो पनि बढ्ने देखिन्छ । 

कसरी मिल्न थाल्यो पूर्वानुमान ?

सबैभन्दा प्रमुख कारण भनेको प्रविधिको विकास नै हो । अहिले हामी जल तथा मौसम विज्ञान विभागकै मौसम नहेरे पनि विश्वका अन्य मौसम पूर्वानुमानमार्फत नेपालको मौसम हेर्न सक्छौँ । जल तथा मौसम विज्ञान विभागमा पहिले काम गर्ने साथीहरुसँग पनि पहिले त्यस किसिमको कम्प्युटरहरु थिएन, प्रविधि थिएन । अहिले प्रविधि सरल र सहज भएको छ ।

दोस्रो भनेको अहिले भएका साथीहरुले बाहिर जाने, पढेर आउने, तालिम गर्ने विभिन्न अवसर पाउनु भएको छ यसले दक्षता वृद्धि भएको छ । जल तथा मौसम विज्ञान विभागमा पहिले काम गर्ने साथीहरुले पुरै टेबलमा नक्सा राखेर पूर्वानुमान गर्नुहुन्थ्यो । त्यो नक्सामा नेपालको तथ्याङ्क  पनि थोरै थियो । अहिले भने तथ्याङ्क पनि धेरै छ ।

हामीले पूर्वानुमानको कुरा गर्दा अहिलेको अवस्था थाहा हुनुपर्यो । त्यसका लागि उपकरणहरु हुनुपर्यो । अहिले भइरहेको उपकरण, जनशक्ति, तालिम तथा प्रविधिले यसमा सहयोग गरेको छ । भविष्यमा अझै धेरै मिल्ने अवस्था देखिन्छ । अनि अर्को कुरा अहिले हामी धेरैको हातमा मौसमसम्बन्धी निःशुल्क उपलब्ध आधिकारिक एप तथा वेवसाइटहरु छन् ती विश्वसनीय छन् ।

तर, उसोभए किन जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान किन चाहियो त भन्ने प्रश्न पनि उठ्न सक्छ । त्यो भनेको संसारभरको एकैपटक एउटै मोडलबाट निकालिएको पूर्वानुमान हो ।

त्यसमा हामीले काठमाण्डौ, पोखरा वा चितवन भनेर ठाउँ हाल्दा पनि त्यसमा खासै फरक देखाउँदैन । त्यसमा समग्र उस्तै उस्तै आउँछ । तर, पछि जल तथा मौसम विज्ञान विभागले नेपालको अवस्थालाई हेरेर छुट्टै फेरि पूर्वानुमान गर्छ । यहाँ नेपालकै लागि मात्र भनेर फोरकास्टिङ मोडल रन गरिन्छ । त्यहाँबाट आउने पूर्वानुमान तुलनात्मक सुधारिएको हुन्छ ।

यसमा पनि बर्खाको मनसुनभन्दा हिउँदको मनसुन प्रक्षेपण धेरै मिल्छ किनकि त्यहाँ पश्चिमी वायुको बाटो मजाले देखिन्छ । बर्खामा पानी पर्छ भन्न सजिलो छ । तर, अधिक वर्षाको पूर्वानुमान भने गाह्रो छ । मौसममा स्थानीय प्रभाव पनि रहन्छ । त्यो भनेको त्यहाँबाट हावामा आउने पानीको वाफ जसलाई हामी स्थानीय स्रोत भन्छौँ त्यो कहीँबाट आउने छ कि छैन भन्ने हुन्छ एउटा ।

पोखरामा बढी पानी पर्नुको कारण मानिसहरुले फेवातालका कारण हो भनेर सोच्छ । तर, त्यसो होइन । त्यहाँ बंगालको खाडीबाट आउने हावा, पोखराको बनावट, त्यसको गति, जहाँ गएर ठोकिनुपर्ने हो त्यो बाटो आदिका कारण त्यहाँ बढी पानी पर्छ । काठमाण्डौमा सुन्दरीजल, शिवपुरी, नगरकोट आदि ठाउँमा बढी पानी पर्छ । हावामा वाफ पनि बढी र गहिराइ पनि बढी हुँदा त्यस क्षेत्रमा बढी पानी पर्ने गर्छ ।

यस पटक काठमाण्डौको मौसम शून्य वा त्योभन्दा कम हुँदैन भनेर अहिले भन्न सकिन्न । सरदरमा पनि यसरी भन्न सकिन्न । सरदर भनेको तीन महिनाको हो । काठमाण्डौमा तापक्रम शून्यभन्दा तल जान पश्चिमी वायु नै आउनु पर्छ । पानी परेपछि पनि बादल लाग्यो भने त न्यानो हुन्छ । तर, आकाश खुला भयो भने झनै चिसो हुन्छ । त्यसकारण यदि माघमा पानी पर्यो भने जाडो हुने र पानी पर्ने सम्भावना सरदरमा कम भने पनि काठमाण्डौको मौसम शून्यभन्दा तल जाने सम्भावना अझै रहन्छ । काठमाण्डौमा लामो समय शून्य वा माइनस नभए पनि एक/दुई दिन हुने सम्भावनालाई भने नकार्न सकिँदैन । लामो समय नहुनु भनेको त तापक्रम वृद्धि वा जलवायु परिवर्तनको प्रभाव हो ।

आगामी १५ दिनको अहिलेसम्मको अवस्था हेर्दा प्रष्टरुपमा पानी पर्ने सम्भावना छैन । यसमा अवस्था परिवर्तन पनि हुनसक्ला । कतिपय अवस्थामा हाम्रो पूर्वानुमान नमिल्नुको कारण के हो भने पूर्वानुमान अहिलेको अवस्थालाई लिएर गरिन्छ कहिलेकाहीँ आकस्मिक परिवर्तन पनि हुन्छ । तर, अहिलेको हिउँदे वर्षाको सम्भावनामा भने केही परिवर्तन हुँदैन । बर्खामा जस्तो भारी वर्षा हुने सम्भावना एक/एक घण्टामा परिवर्तन हुन्छ अहिले त्यस्तो चाहिँ हुँदैन ।

काठमाण्डौमा केही दिनदेखि वायु प्रदुषण बढी सकेको छ । काठमाण्डौ उपत्यका भएका कारण यहाँ भएको प्रदुषण बाहिर जान पाउँदैन । अहिले हावा नचलेर प्रदुषण झन बढेको छ । तल्लो तहमा जति हावा छ त्यो स्थिर भएर यहीँ बसिरहने खालको छ । 

कसरी सचेत रहने ?

डढेलोको बारेमा भन्नुपर्दा हामीले त अहिलेदेखि नै सचेत हुनुपर्ने अवस्था छ । किनभने अहिलेदेखि सुक्खा हुँदै हुँदै गएर, सुक्खा बढ्दै गएर अहिले नै धेरै आगलागीको घटना देखिँदैन । तर, समग्रमा जोडिँदै जोडिँदै गएर अर्को महिना, दुई महिनापछि विकराल अवस्था आउन सक्छ यदि पानी नपर्ने हो भने ।

हिउँदे बालीमा किसानले लगाउने गहुँ तथा कोदोको कुरा गर्दा यी बालीलाई धेरै पानी चाहिँदैन । एक पटक अथवा दुई पटक चाहिने हो । अहिले पानी लगाइहाल्ने बेला भएको छैन । बर्खाको मनसुनले जमिन अझै चिसो पनि छ । ठूलो परिमाणमा कसैले कृषि बाली तरकारी आदि लगाएको छ भने त्यसमा पानी एक/दुई पटक लगाउनु पर्ने हुनसक्छ । त्यसको लागि सोच्नुपर्ने अवस्था आउन सक्छ । सरकारले यदि सहयोग गर्न सक्छ भने किसानसँग सम्बन्धित निकायले ध्यान दिनुपर्यो ।

वायु प्रदुषणको कुरा गर्दा त्यसको एउटा स्रोत गाडी भयो । त्योसँगै भक्तपुर क्षेत्रमा चिम्नी भट्टाहरु अहिले पनि त्यत्तिकै छ । अहिले पनि वायु प्रदुषणको मात्रा हेर्नुभयो भने भक्तपुरमा जहिले पनि बढी नै देखिन्छ । हावा पश्चिमबाट आउँछ अनि त्यहीँ गएर थुप्रिएर बस्छ । अनि त्यहाँबाट फेरि पनि प्रदुषण हुन्छ भने त्यसलाई नियन्त्रण गर्न व्यावसायी, सरकार वा पालिका मिलेर व्यवसायलाई असर नगर्ने गरी केही गर्न सकिन्छ कि ।

अर्को भनेको हामीकहाँ ठूलो परिणाममा नभए पनि खेतबारीमा आगो लगाउने र घर वरपर फोहोर बाल्ने चलन छ । त्यसबाट निस्कने धुवाँ पहिलो त आफ्नो स्वास्थ्यको लागि हानिकारक त भइहाल्यो । त्यो सँगसँगै त्यो गएर लामो समय वातावरणमा बस्छ । त्यसले पनि असर गर्ने भयो ।

यसकारण प्रदुषण कम गर्न सकभर काम नपरी गाडी नचलाउने र, सबैभन्दा सावधानी अपनाउनु पर्ने भनेको डढेलोमा हो । एकदमै सानो गल्तीले ठूलो दुर्घटना हुन्छ । वनमा लाग्ने डढेले त छँदैछ घरहरुमा पनि त्यत्तिकै सचेत हुनुपर्छ । त्यसका लागि व्यक्ति, व्यक्ति सचेत हुनुपर्छ । जाडो छ भनेर घरमै आगो तापेर बसेर र कहिलेकाहीँ निसासिएर ज्यान गएका धेरै घटना छन् ।

डढेलो नियन्त्रण गर्न वन, पालिका, जल तथा मौसम विज्ञान विभाग, विपद् व्यवस्थापन आदि मिलेर जनचेतना तथा आपसी समन्वयमा सर्तकता अपनाउने । विदेशतिर यस्तो अवस्थामा अरु बेलामा पिकनिक मनाउन पाउने जंगलमा पनि यस्तो बेलामा आगो बालेर पिकनिक मनाउन दिइँदैन । नेपालमा पनि यस्तो गर्न सकिन्छ । नेपालमा ९० प्रतिशतभन्दा धेरै आगलागी मान्छेका कारण भएका छन् । त्यसकारण यस्ता कुरामा सचेत र समन्वय गरेका खण्डमा प्राकृतिक विपदबाट सजिलै जोगिन पनि सकिन्छ ।

(त्रिभुवन विश्वविद्यालय जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक पोखरेलसँगको कुराकानीमा आधारित ।) 

अन्तिम अपडेट: चैत २९, २०८०

डा. विनाेद पाेखरेल

सहप्राध्यापक, जल तथा मौसम केन्द्रीय विभाग 

तपाईको प्रतिक्रिया