एमालेलाई सरकार बनाउन हताराे छैन : गाेकर्ण विष्ट

 पुष ३, २०७९ आइतबार १४:५५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – नेकपा एमालेका सचिव गोकर्ण विष्टले आफूहरू सरकार निर्माणका लागि अवाञ्छित गतिविधिमा नलाग्ने बताउनुभएको छ । 

आज आइतवार बुटवलमा पत्रकारसँग कुरा गर्दै सचिव विष्टले एमालेले प्रतिपक्षमा बस्ने जनमत पाएको बताउनुभएको हो । उहाँले आफूहरू जनमतको विपरीत सरकार निर्माणका लागि अवाञ्छित र गैरसंसदीय गतिविधि नगर्ने बताउनुभयो । एमालेलाई सरकार गठनका लागि बाध्यता आइपरेमा भने पछाडि नहट्ने उहाँकाे भनाइ थियाे । 

सचिव विष्टले विगतमा सरकार बनाउने नाममा गैरसंसदीय गतिविधि हुने गरेको भन्दै एमालेले जनचाहना विरुद्धका काम नगर्ने बताउनुभयो । सरकार बनाउनका लागि एमालेललाई हतारो नभएको उहाँले उल्लेख गर्नुभयाे । 

उहाँले भन्नुभयो – ‘हामी प्रतिपक्षमा बस्नका लागि जनताले स्थान प्रदान गर्नुभएको छ । हामी सरकार निर्माणका लागि अवाञ्छित गतिविधि गर्ने गैरसंसदीय, गैरलोकतान्त्रिक, अशोभनीय काम गर्दैनाैँ । चाहे एमाले सरकारमा रहँदा होस्, चाहे प्रतिपक्षमा रहँदा होस् लोकतन्त्र, संसदीय अभ्यास, जनताका अपेक्षालाई सम्मान गर्ने गरि लोकतन्त्रको मर्यादा र गरिमालाई माथि उठाउने गरि भूमिका निर्वाह गर्छ । हामीले घोषणामार्फत जनताको जीवनलाई परिवर्तन गर्नेदेखि देशलाई सबल बनाउने प्रतिबद्धता व्यक्त गरेका छौँ । यदि आवश्यकता महसुस भयो भने, जिम्मेवारी लिने बाध्यता भयो भने एमाले जुनसुकै प्रकारको जिम्मेवारीसहित अगाडि बढ्न पनि पछि पर्दैन । तर सरकार बनाउने नाममा अवाञ्छित गतिविधि, गैरसंसदीय गतिविधि गर्दैन । त्यो प्रकारको बाटोमा एमाले हिँड्दैन । यस कारण सरकार निर्माणका लागि हामीलाई हतारो छैन । हामीलाई त्यो गर्नु छैन ।’

सचिव विष्टले एमालेलाई कमजोर बनाउनका लागि गएकाे चुनावमा वामपन्थीहरूले दक्षिणपन्थी शक्तिसँग गठबन्धन गरेकाे दाबी गर्नुभयाे । उहाँले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चामा वैचारिक विचलन देखिएको पनि जिकिर गर्नुभयाे ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया