दैलेख : शिक्षिकाकाे स्नेह र उत्प्रेरणापछि विद्यालय जान थाले झलक

 पुस ४, २०७९ सोमबार ११:१८:३८ | अमर सुनार
unn.prixa.net

दैलेख – दैलेखको डुङ्गेश्वर गाउँपालिका–३ कल्सेढुङ्गाका अपाङ्गता भएका झलक रोकाय मगर आजभाेलि सधैँ विद्यालय जान्छन् । जनक आधारभूत विद्यालय बालेकी शिक्षिका करुणा बीसीको स्नेह र उत्प्रेरणापछि ७ वर्षीय झलक निरन्तर विद्यालय जान थालेका हुन् । झलक कक्षा १ पढ्छन्। शिक्षिका बीसी चार वर्षदेखि यस विद्यालयमा आधारभूत तहमा विज्ञान विषय पढाउँदै आउनु भएकाे छ । उहाँ आलडाँडामा डेरा सरेपछि झलकलाई विद्यालय आउजाउ गर्न सजिलाे भएकाे हाे।  

‘घरकै दिदी र छिमेकका अरु पनि स्कुल जान्छन्, उनीहरु छोडेर गइहाल्छन् । मिसले भिरको बाटो सधैँ डोर्याएर आफूसँगै पुर्याइदिनुहुन्छ, उहाँले देखाएको माया र सहायताले स्कुल जाऊँजाऊँ लाग्छ’ झलकले भने। 

जन्मेको १५ दिनमा २०७२ साल माघ २१ गते अगेनाेमा परेर पोलिएपछि झलकको शरीर अपाङ्ग भएकाे हो । झलकका बुबा बलबहादुर रोकायले भन्नुभयाे ' जेनतेन गरी सुर्खेत पुर्याएर गरिएको उपचारले घाउ पाक्नबाट जाेगियो । तर खर्चको जोहो गर्न नसकेर थप उपचारका लागि कोसिस नै गरेनौँ’। त्यतिबेला उपचारका लागि लागेकाे डेढ लाख रुपैयाँ भारतमा मजदुरी गरेर तिरेकाे तर अझै एक लाख रुपैयाँ जति तिर्न बाँकी रहेकाे उहाँले बताउनु भयाे । 

शिक्षिका करुणा आफैँमा अपाङ्गता भएका कारण पनि झलकको शारीरिक अशक्तताप्रति सहायता जागेकाे बताउनु हुन्छ । ‘मेरो कानमा ट्युमर भएर अप्रेशन गरेकी हुँ, आफैँले पनि अपाङ्गताको समस्या भोगेको कारण होला झलकलाई मैले बढी सहायता गरेकी छु’ उहाँले भन्नुभयो । 

‘हत्केलाले टेक्दै, खुट्टा लतार्दै ठाउँठाउँमा एउटा खुट्टाले उफ्रिएर कहिले हिँड्दै कहिले थुचुक्क बस्दै झलक स्कुल पुग्छन् । झलकले हाम्रो भन्दा करुणा म्याडमकाे भरोसा गर्छ’ झलककी दिदी भविसराले भन्नुभयो ।झलकलाई विद्यालय जान ओरालोमा आधा घण्टा र फर्किँदा उकालो ४५ मिनेट जति लाग्छ ।  

शिक्षिका करुणाले झलकको दैनिकी आफ्नो टिकटकमार्फत् भिडियाे बनाएर सार्वजनिक गर्नु भएकाे थियाे। याे खबर सञ्चारमाध्यममा आएसँगै सहयोगी हातहरुले चासो देखाएका पत्रकार हिक्मत नेपालीले बताउनुभयो ।

दैलेख जिल्लाकै विकट, शिक्षा र चेतनाको हिसाबले पछाडि परेको कल्सेढुङ्गाको आलडाँडा गाउँमा बस्ने झलककाे परिवार गाउँकै अति विपन्न परिवार हो ।

अन्तिम अपडेट: चैत १२, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया