अर्जेन्टिनाका कप्तान मेस्सीले तत्काल सन्यास नलिने

 पुस ४, २०७९ सोमबार १०:२३:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले तत्काल अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास नलिने भएका छन् । मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कतार विश्व कपको उपाधि जितेको छ । गएराति कतारको लुसेल मैदानमा भएको फाइनलमा फ्रान्स पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित भयो ।

विश्व कपको उपाधि जितेपछि मेस्सीले आफूले तत्काल सन्यास नलिने प्रतिक्रिया दिएका हुन् । आफू अर्जेन्टिनाको जर्सीमा अझै खेल्न चाहेको उनको भनाइ छ । यसअघि मेस्सीले आफ्ना लागि कतार विश्व कप नै अन्तिम विश्व कप भएको बताइसकेका छन् ।

पाँचौँ पटक विश्व कप खेलेर उपाधि जिताएका मेस्सीले विश्व कपमा सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमान समेत बनाएका छन् । फ्रान्ससँगको फाइनल खेलमा उनले विश्व कपमा आफ्नो २६औँ खेल खेले । अहिलेसम्म विश्व कपमा २६औँ खेल खेल्ने मेस्सी एक्ला खेलाडी हुन् । यसअघि सन् २०१६ मै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका मेस्सीले त्यहाँका राष्ट्रपतिको आग्रहमा सन्यास फिर्ता लिएर पुनः खेलेका हुन् ।

मेस्सीले फिफा विश्व कप–२०२२ मा सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल पनि जिते । अर्जेन्टिनाले कतारमा विश्व कपको उपाधि जित्दा ७ गोल र ३ असिस्ट प्रदान गर्दै मेस्सीले गोल्डेन बल पाएका हुन् । फाइनलमा उनले दुई गोल गरे । उनले प्रतियोगिताको हरेक चरणमा गोल गर्ने दुर्लभ उपलब्धि पनि हासिल गरेका छन् । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया