यसरी हटाइयो विष्णुमती किनारबाट अवैध सुकुम्बासी बस्ती

 पुस ४, २०७९ सोमबार १३:२३:३३ | कुमार रञ्जित
unn.prixa.net

काठमाण्डाै - ८३ वर्षीय हेराबहादुर डङ्गोल अस्वस्थ हुनुहुन्छ, सुस्त बोल्नु हुन्छ। घरभन्दा बाहिर कमै मात्र निस्किनुहुन्छ। तैपनि आफ्नो घर अगाडि विष्णुमती खोला किनारमा भैरहेका सौन्दर्यकरण र विकासबाट सन्तुष्ट हुनुहुन्छ। हालै काठमाण्डाै महानगरपालिकाले थापाथलीमा रहेकाे बाग्मती किनारमा अवैध निर्माण गरेर बसेका “सुकुम्बासी” भनाउन चाहनेहरुलाई हटाउन खोज्दा भएको अप्रिय झै–झगडाका कारण भने उहाँ चिन्तित हुनुहुन्छ। 

साढे तीन दशक अगाडि देशमा तत्कालीन पञ्चायती व्यवस्था अन्तिम अवस्थामा पुग्दा काठमाण्डाैको मध्य भागमा रहेकाे विष्णुमती किनारको शोभा भगवती–ढल्को पुलदेखि ताम्सिपाखा–डल्लु पुलसम्मका खाली भू–भागमा अवैध कब्जा गरेर बस्नेहरुको हालिमुहाली थियो। देशका विभिन्न जिल्ला र भू–भागबाट आएर बसेका ८७ परिवारले स–साना घर–टहरा बनाएर बसेकाहरुको अवाञ्छित क्रियाकलापले नदी क्षेत्र नै दुर्गन्धित थियो। नजिक वरपरकै र अन्यत्रका बासिन्दाहरु त्यहाँ नजिकबाट हिँड्न डराउँथे। एक्लै–दुक्लै हिँड्नेहरुलाई कुटपिट गरेर उनीहरुसित भएका नगद, गर–गहना साथै विभिन्न सामानहरु लुट्ने घटना कयौँ पटक भएको थियो। 

“सुकुम्बासी बस्ती” भन्ने गरिएको त्यस अवैध दुर्गन्धित बस्तीमा दिनदिनै चित्कार र कोलाहलपूर्ण झै–झगडा हुने सामान्य जस्तै थियो। अवैध बस्ती अन्यत्रबाट भागेर आएका अपराधीहरु लुक्ने ठाउँ जस्तै भएको थियो। पटक–पटक गरेर तीनजनाको त्यसै बस्तीभित्रै हत्या समेत भयो। अपराध र दूर्गन्धको मात्रा अति नै बढेपछि ठूलो जनदबाबबाट तत्कालीन काठमाण्डाै नगर पञ्चायतले २०४५ सालमा त्यस दुर्गन्धित बस्ती हटाउने प्रयास गर्दा वर्तमानमा थापाथलीमा जस्तै हिंस्रक प्रतिकारमा उत्रिनेहरुको जमात् बन्यो।

विष्णुमती नदी किनारको यस क्षेत्रमा अवैध कब्जा गर्नेहरुका संरक्षक पूर्व राष्ट्रिय पञ्चायत सदस्य नानीमैँया दाहाल थिइन्। उनले नै तत्कालीन पालिकाका पदाधिकारीहरुलाई हप्की–दप्की गर्दै अवैध बस्तीमा बस्नेहरुलाई प्रेरित गर्थिन्। स्वभाव नै त्यस्तो भएकाले उनीविरुद्ध कसैले बोल्ने आँट गरेका थिएनन् वा चाहेनन्। दाहालकै उक्साहटमा अवैध कब्जा गर्नेहरुले विष्णुमती किनारमा दुई वर्षभित्रै झण्डै सय वटा स–साना घर तथा टहराहरु बनाएका थिए। “त्यति मात्रै होइन, दिनदिनै सार्वजनिक बाटोको क्षेत्रफल मिच्दै उनीहरुले आफ्ना टहराका कम्पाउण्ड बढाउँथे”, डङ्गोल सम्झिनु हुन्छ। तत्कालीन अवस्थामा पालिका काठमाण्डाै नगरको वडा नम्बर १७ बाट निर्वाचित वडा सदस्य समेत रहेका हेरा बहादुर डङ्गोललाई आफ्नै घर अगाडि यस्तो अवस्था असह्य हुनु स्वाभाविकै थियो। 

नदी किनारका अवैध बस्ती हटाएर वातावरण स्वच्छ बनाउने सूचनासहित घर–टहराहरु हटाउन पुगेका पालिकाका कर्मचारी तथा प्रहरीहरुमाथि त्यहाँ अवैध कब्जा गरेर बसेकाहरु उल्टै जाइलाग्न आएपछि मन्त्रालयस्तरकै नीति र निर्देशन बमोजिम वास्तविक सुकुम्बासी पत्ता लगाउन छानबिन गरियो। छानबिनबाट देखियो कि कसैका दाजु–भाइका नाममा अन्तै महँगा घर–जग्गा थियो भने कसैका छोरा–छोरीका नाममा किनिएको थियो। त्यस क्रममा कतै कहीँ केही नभएका ७ परिवार मात्रै भेटिएको डङ्गोल सम्झिनुहुन्छ। ती ७ परिवारलाई सरकारको नियमानुसार अन्यत्र स्थानान्तरण गरेर २०४७ सालमा पञ्चायती व्यवस्थाको अन्त्यसँगै विष्णुमती किनारबाट अवैध निर्माणसहितको कथित सुकुम्बासी बस्ती पनि हटाइयो। 

विष्णुमती किनारबाट अवैध घर–टहरा हटाइएपछि त्यही ठाउँमा अब के गर्ने भन्ने प्रश्न उठ्नु स्वाभाविकै थियो। त्यस्तोमा हेरा बहादुर आफैँ अघि सरेर आफ्नै निजी खर्चमा विष्णुमती नदी किनारमा माटो सम्याउनेदेखि विभिन्न प्रकारका फलफूलका बिरुवा सहित रमणीय बगैँचा बनाउने काम थाल्नुभयो। त्यसका लागि उहाँ आफैँ दिनको ३–४ घण्टा खट्नु भयो। त्यसरी महिनौँ खटेर उहाँले विष्णुमती किनारलाई हराभरा पार्दै “नमुना बगैँचा” बनाउनु भयो। आफू जन्मेको, हुर्केको र पिता पुर्खाले पसिना बगाएर उब्जनी गरेको खेत भएको ठाउँमा प्रत्येक वर्षातमा नदीको भेल र बाढीबाट हुने क्षति नियन्त्रण गर्न पनि डङ्गोल सफल हुनुभयो। अहिले त्यस क्षेत्रमा विष्णुमती काेरिडोरको फराकिलो बाटो र बगैँचाले सुविधा साथै सौन्दर्य पनि प्रदान गरिरहेको छ। त्यसबापत पालिकाबाट सम्मान साथै तत्कालीन राजा वीरेन्द्रबाट पनि डङ्गोलले पदक पाउनुभयो। 
  

हेरा बहादुरको सङ्घर्षपूर्ण यात्रामा त्यतिले पूर्णता पाएको थिएन। त्यसपछिका दिनहरुमा पनि विष्णुमती किनारमा विभिन्न आपराधिक घटना बढेकोमा चिन्तित स्थानीयवासीको माग अनुसार त्यहाँ नदी किनारमा प्रहरी चौकी राख्नुपर्ने माग बढ्यो। चौकी राख्न सानो घर पनि बनाइयो। त्यतिबेला त्यहाँ प्रहरी चौकी राख्न दिनु हुँदैन भन्नेहरु पनि सक्रिय थिए। त्यसका लागि पनि हेरा बहादुरले सङ्घर्ष गरेर प्रहरी चौकी राख्न सफल हुनुभयो।    

“अहिले विष्णुमती किनार ढल्को–ताम्सीपाखा डल्लु पुल क्षेत्र शान्त, हराभरा र सुरक्षित छ। त्यसको पूर्ण श्रेय हेरा बहादुर डङ्गोललाई नै जान्छ”, स्थानीय क्षेत्रमै कार्यालय खोलेर बस्नु भएका फर्माको इण्डष्ट्रिजका सञ्चालक औषधि उत्पादक तथा व्यवसायी सानुकाजी श्रेष्ठ बताउनु हुन्छ।

अहिले काठमाण्डाै महानगरपालिका अन्तर्गत विष्णुमती नदी किनारका प्रायजसाे भू–भागमा काठमाण्डाै प्राचीन नगर क्षेत्रका बासिन्दाहरुको सांस्कृतिक कार्य र मृतकहरुको अन्त्येष्टिका लागि बनाइएका घाटका साथै बगैँचा, पार्क, आधुनिक शौचालय, विभिन्न राष्ट्रिय व्यक्तित्वका शालिकहरु बनाइएका छन्। महानगरपालिकाले त्यस्ता काम गर्नुभन्दा धेरै वर्ष अगाडि नै श्रृजनशील काम गरेर देखाएका हेरा बहादुरप्रति स्थानीयवासी नतमस्तक छन्। 

वर्तमानमा बालेन्द्र शाह नेतृत्वमा रहेको काठमाण्डाै महानगरपालिकाले थापाथलीमा अवैध कब्जा गरेर संरचना बनाएर बसेकाहरुलाई हटाउन खोजेको काम पनि विगतबाट सिकेर समाधान गर्न सकिने हेरा बहादुरको सुझाव रहेको छ।

अन्तिम अपडेट: चैत १५, २०८०

कुमार रञ्जित

उज्यालोमा कार्यरत कुमार रञ्जित तीन दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया