नयाँ गठबन्धनलाई अवसरभन्दा चुनौती धेरै

 पुस ११, २०७९ सोमबार १५:२३:४९ | डा‌. विष्णु दाहाल
unn.prixa.net

अहिले तत्कालका लागि यहाँ प्रधानमन्त्री पद र अन्य पदको लाभहानी अनि कार्यकर्ता व्यवस्थापन गर्न सकिने भएकोले माओवादी तथा यसका अध्यक्ष प्रचण्डलाई फाइदा भए पनि एजेण्डाको हिसाबले हेर्दा चाहिँ अहिले गठबन्धन बनाउनेलाई घाटा देखिन्छ । घाटा यसकारण विपरीत ध्रुवका पार्टीहरु एक ठाउँमा छन् । अनि त्यस्तो उछितो काढ्ने ओली र प्रचण्ड एक ठाउँमा छन् । रवीदेखि तर्सिएर चितवन छोडेर गोरखा जाने प्रचण्ड एकठाउँमा छन् । १७ हजारको बलिदानबाट आएको लोकतान्त्रिक गणतन्त्रको हिमायती र पुरानो राज्यसत्ताको राजा ब्युँझाउनुपर्छ भन्ने राजेन्द्र लिङ्देन एक ठाउँमा छन् ।

एजेण्डाको हिसाबले यो गठबन्धन सहज एजेण्डा होइन तथापि सबैलाई पद र शक्ति चाहिएको आधारमा यो गठबन्धन बनेको देखिन्छ । यो गठबन्धन साझा एजेण्डा र साझा कार्यक्रम बनाएर भएको होइन । यो शक्ति कस्ले र सत्ता कस्ले प्राप्त गर्ने भन्ने गठबन्धन हो । त्यसकारण यसमा नैतिकता र जिम्मेवारी दुवै छैन । यसमा हुने र देखिने भनेका अवसर मात्र हो ।

अवसरलाई मात्र हेर्दा कस्लाई लाभ र हानी भनेर विश्लेषण गर्दा गलत हुनजान्छ । रवी, राजेन्द्र लिङ्देन र सीके राउतको भूमिका र एजेण्डा त्यहाँ कस्तो हुन्छ र कसरी प्रस्तुत हुन्छ भन्ने नै अहिलेको गठबन्धनको सबैभन्दा उत्सुकतापूर्ण कुरा हो ।

यो गठबन्धनले सबैभन्दा फाइदा कसैलाई पुर्याएको छ भने त्यो केपी ओलीलाई नै हो । किनकि ओलीले प्रतिगमन गरेको, हेपेको, पेलेको, निरंकुशता लादेको भन्ने जस्ता आरोप लगाउँदै सत्ता तथा चुनावमासमेत कांग्रेस, माओवादी, एकीकृत समाजवादीले जुन गठबन्धन गरेको त्यसको औचित्य अहिलेको सत्ता गठबन्धनले झुठ थियो भन्ने प्रमाणित गराउन ओली सफल हुनुभएको छ । र, त्यति मात्र नभएर राष्ट्रपति र सभामुख तथा प्रदेशका मुख्यमन्त्री पनि आफ्नो भागमा पर्ने भएपछि ओलीलाई यो गठबन्धन सबैभन्दा लाभदायक भएको छ ।

यो गठबन्धनले सबैभन्दा घाटा कसैलाई भएको छ त्यो कांग्रेसलाई हो । किनकि कांग्रेस भित्र गठबन्धन गर्न हुँदैन भन्ने आवाज तीव्र हुँदाहुँदै पनि गठबन्धनका पक्षमा देखिनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले गठबन्धन तोडिँदा व्यक्तिगतरुपमा आफूले प्रधानमन्त्री तथा पार्टीले राष्ट्रपति र मुख्यमन्त्रीलगायतका पदहरु गुमाउनुपरेको छ । त्यति मात्र नभएर राजनीतिक आस्था र सिद्धान्त नमिलेका पार्टीहरुसँग गठबन्धन गरेर अगाडि बढ्दा देखिएको परिणामको पार्टीभित्र औचित्य प्रमाणित गर्नु अर्को चुनौती रहेको छ ।

गठबन्धन बन्नुका कारण  

पहिलो त यो गठबन्धन बन्नुको दुई वटा कारण छन् । एउटा ‘पुस’ फ्याक्टर र अर्को भनेका र ‘पुल फ्याक्टर’ । यसअघिको गठबन्धन बनिरहेमा सरकार निरन्तर चलिरहन्छ र आफू राजनीतिको मियोमा परिँदैन । अर्को संसदमा स्थायी रुपमा प्राप्त हुने पदहरु र अन्यत्र पनि धेरैतिर आफ्ना कार्यकर्ताहरुलाई भर्ती गर्नु थियो । गठबन्धन जसरी पनि भत्काउनु पर्छ भन्ने कुरा ‘पुल फ्याक्टर’ को रुपमा रह्यो ।

अर्को ‘पुस फ्याक्टर’ भनेको केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड कुनै हालतमा मिल्दैनन् भन्ने कुरा प्रधानमन्त्री शेरबहादुर देउवालाई परेको थियो । अनि  ओली र प्रचण्ड नमिल्ने बित्तिकै प्रधानमन्त्री र राष्ट्रपति दुवै पदमा प्रचण्डले चाहे जत्तिको बार्गेनिङ गर्ने क्षमता रहँदैन र, प्रधानमन्त्री र राष्ट्रपति दुवै कांग्रेस पार्टीको हुन्छ भन्ने सोेच देउवाले राखेको देखिन्छ । यो भनेको ‘पुस फ्याक्टर’ हो ।

अघिल्लो गठबन्धन भत्किनुमा देउवाले केवल सोझो अर्थको गणित अर्थात् झिनो बहुमतलाई मात्र ध्यान दिनु हो । यदि देउवाले राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई वार्ताद्वारा आफूसँग समावेश गरिरहेको भए अहिले प्रचण्डलाई यसरी गठबन्धन भत्काएर नयाँ गठबन्धन गर्न गाह्रो हुने थियो । कथंकदाचित प्रचण्डले यो गठबन्धन तोडेको खण्डमा यसको विकल्प के हुनसक्छ भन्ने विचार नगर्दा अहिलेको नसोचेको परिणाम आयो । कस्ले के, के पाउने र नपाउने भन्ने गुटको राजनीति तथा पार्टीभित्रको इतर खेमालाई कसरी व्यवस्थापन गर्ने भन्नेमा देउवा अल्मलिएको देखिन्छ ।

यो गठबन्धन विपरीतहरु एक भएर बनेको गठबन्धन हो । गठबन्धनको यो आन्तरिक पाटो हो । बहुमतका लागि १ सय ३८ देखि ४० भए पुग्नेमा अहिले चाहिनेभन्दा धेरै अर्थात् १ सय ६९ सिट छ । यो भित्र यति धेरै समावेश हुनुले यसभित्र केही स्वार्थ भनेर निश्चितरुपले भन्न सकिन्छ । अर्को भनेको पुस्तान्तरण र रुपान्तरणको एजेण्डा एकदमै धेरै उठेकोले पनि अहिलेको संसद भनेको सबैभन्दा अस्थिर संसद हो । 

बाह्र बुँदेबाट आएका दुईवटा तत्व जस्तै केपी ओली जसलाई पूर्ण समर्थक नभनी अल्प समर्थक भन्छु मचाहिँ । त्यसकारण यसमा बाह्य चलखेल बढी छ । परनिर्भरता झन झन बढ्दो छ । बाह्य शक्तिले जे चाह्यो हामीले त्यही पूरा गर्यौँ । कांग्रेस भएको भए राम्रो हुन्थ्यो भन्ने पनि यस अर्थमा होइन कि कुनै एजेण्डा बोकेर गएको भए त्यसले केही परिणाम दिन्थ्यो । उद्देश्य नै नभएपछि त्यसबाट परिणाम खोज्नु आफैँमा दुःखद हो ।

गठबन्धनको चुनौती र अवसर

यो गठबन्धनमा चुनौती नै चुनौती देखिन्छ । आन्तरिक चुनौती छँदैछ । अहिले राष्ट्रवाद, राष्ट्रियता र देश मात्र छैन । अन्तर्राष्ट्रियवादको कुराले पनि गठबन्धनमा एकदमै धेरै प्रभाव पारेको कुरा हामी देखि रहेका छौँ । हाम्रो अर्थतन्त्रमा चुनौती छ । रेमिट्यान्सले देशको खर्च धानिएको छ । सुशासनको चुनौती छँदैछ । २०४६ सालपछि सबैको सम्पत्ति छानबिन गर्नुपर्छ भन्ने रवी लामिछाने र अर्थतन्त्र धर्मर बनाएको आरोप लागेको पार्टी यही सरकारमा छन् । यसले अब आउने नीति तथा कार्यक्रम हेर्दा पनि कस्तो बन्छ भन्ने थाहा हुन्छ । गठबन्धनको कुरा गर्दा जुनसुकै गठबन्धन तरबारको धारमा हुन्छ । यसलाई सुझबुझका साथ विवेक प्रयोग गरेर नागरिक र देशको हितमा प्रयोग गर्यो भने धार सीधा जान्छ । लामो चल्न सक्छ । सत्ता स्वार्थ र आफ्नो तानातानमा गयो भने यसको आयु र औचित्य धेरै लामो हुँदैन ।

अहिले माओवादीले प्राप्त गरेको अवसरलाई अवसरकारुपमा लियो भने ठीकै हो । होइन यो चुनौती हो र चुनौतीकैरुपमा लिएर त्यसै अनुसार व्यवहार गर्न थाल्यो भने त्यो अर्को विडम्बना हो । अब यस अघिका आफूसँग गाँसिएका नराम्रो कुरालाई राम्रो बनाउने अवसर पनि आएको छ, यसकारण पनि अवसरै अवसरै हो प्रचण्डका लागि ।

अब यसलाई अवसरभन्दा पनि चुनौती भनेर हेर्न थाल्नुभयो यो अवसर कम चुनौती धेरै हुन थाल्छ जस्ले गर्दा काम गर्न गाह्रो हुन्छ । यसकारण पनि यो प्रचण्डका लागि अवसर हो । यसलाई बालेन शाहको कुरामा लगेर पनि हामी जोड्न सक्छौँ । एक्लै मेयरले के काम गर्न सक्छ र भन्नेहरुलाई चाह्यो भने केही गर्न सकिन्छ भन्ने एक किसिमको अनुभूति त भएको छ । समग्र स्वार्थलाई नागरिक तथा देशको हितमा प्रयोग गर्यो भने अरु एजेण्डा गौण हुनजान्छ । अन्यथा यस गठबन्धन भित्र यसले अन्तरकलह सिर्जना गर्न थाल्छ । जुन सत्ताको लागि फाइदा हुँदैन । 

नैतिकताको कुरा गर्दा केपी र प्रचण्ड पक्कै पनि मिल्दैनथे । यसकारण यो नैतिकता हराएको सन्दर्भमा हिजो प्रचण्डले ओली नेतृत्वको त्यत्रो बहुमतको सरकार ढलाएको अवस्थामा प्रचण्डको सारथी बनेर केपी अगाडि बढ्छन भन्ने कुरामा सजिलै विश्वास गर्न सकिने ठाउँ छैन । तर, पनि परिस्थिति कस्तो ढंगले अगाडि बढ्छ त्यो भने हेर्नैपर्ला । राष्ट्रपति र सभामुख पाइसकेपछि ओलीले सहज ढंगले प्रचण्डलाई अगाडि बढ्न सहयोग गर्ने कुरा देखिँदैन ।

अब सरकारले विश्वासको मत प्राप्त गर्नु अगाडि नै राष्ट्रपति र सभामुख चयनको प्रक्रियालाई अगाडि बढाउने देखिन्छ । सरकार गठनमा पनि कस्ले कस्तो पद र मन्त्रालय पाउने भन्ने कुरा छँदैछ । अहिले सरकारमा जाने कुरासम्म तय भएको हो । बस्ने सिट र चढने गाडीको तय भएको छैन । विश्वासको मतमै चुनौती भनेर टिप्पणी गर्नु अहिले अलि हतारो हुन्छ । तर, विश्वासको मत र राष्ट्रपति तथा सभामुखको बाँडफाँटको टुंगो लागेको केही समय पर्ख र हेरको स्थिति रहला त्यसपछि भनेको ओलीले समय हेरेर विश्वासको मत फिर्ता लिने सम्भावना बढी देखिन्छ ।

आलंकारिक भनेर भनिएको राष्ट्रपतिको काम कारबाहीले राष्ट्रपति आफूले नपाउने हो भने आफ्नो राजनीति धेरै हदसम्म कठिन हुने देखेर एमालेले राष्ट्रपतिको लागि यो सबै गरेको देखिन्छ । एमालेलाई राष्ट्रपतिसँग लगाव भएका कारण प्रचण्ड र रवी जस्तो एमालेको उछितो काढेको मान्छेसँग बालकोटमा बसेर गठबन्धन गर्नु भनेको अंकगणित भन्दा पनि अर्कै प्रभाव देखिन्छ राजनीतिमा । 

कांग्रेसलाई अहिले जुन किसिमको धोका भएको छ यसले उसलाई सत्ता र शक्तिको घाटा छँदैछ । अर्को भनेको अब कांग्रेसमा कुनै किसिमको गठबन्धन गरेर अगाडि नजाने भन्ने किसिमको मजबुत सोचाइ पनि विकसित भएको हुनुपर्छ । अहिलेको यो पुस्ताको समय पनि करिब करिब सकिएको र नयाँ पुस्ताले विस्तारै हक जमाउन खोजेको नेपाली कांग्रेसमा यो विचार झन एकदमै मजबुत छ । राजनीति भनेको सत्तामा जानु मात्रै पनि होइन । आफ्नो एजेण्डा स्थापित गर्नु पनि हो । अहिले त कांग्रेसले आफ्नो एजेण्डा नै बनाउन छोड्यो । एजेण्डा बनाउँदा त्यसका आधारमा मत पाउने हो । बाह्र बुँदेपछि सत्ता स्वार्थमा लागेर एजेण्डाविहीन भएका कारण देश पनि अहिले गतिहीन हुन पुगेको छ । 

(राजनीतिक विश्लेषक डा.विष्णु दाहालसँग वैद्यनाथ पौडेलले गरेको कुराकानीमा आधारित) 

अन्तिम अपडेट: माघ ४, २०७९

डा‌. विष्णु दाहाल

राजनीतिक विश्लेषक

तपाईको प्रतिक्रिया