अलमलमा एकीकृत समाजवादी !

 पुस १२, २०७९ मंगलबार १७:३६:८ | वैद्यनाथ पाैडेल
unn.prixa.net

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसहितको गठबन्धन बनाएर प्रधानमन्त्री भएपछि राजनीतिक वृत्तमा अब एकीकृत समाजवादी के गर्छ भन्ने बहस सुरु भएको छ । 

तत्कालीन नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि प्रतिगमन भएको भन्दै सडक तथा सदनमा प्रचण्डसँगै देखापर्ने गरेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको अबको यात्रा के हुने भन्ने चासो छ । 

तत्कालीन सत्ता गठबन्धनबाट २० सिट प्राप्त गरी प्रतिनिधि सभाको प्रत्यक्षमा १० सिट जितेको एकीकृत समाजवादी थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्न सकेन । राष्ट्रिय पार्टी बन्न नसक्दा अब उसका सांसदको हैसियत स्वतन्त्र सांसदको रहने हुँदा उसलाई आफ्ना सांसद जोगाउने सबैभन्दा ठूलो चुनौती देखिएको छ ।

अझ त्यसमा प्रेम आले तथा किसान श्रेष्ठ जस्ता मन्त्री नपाए घरी एमाले र घरी समाजवादी भइरहने चरित्रका सांसदलाई कसरी पार्टीमा समेटेर लैजाने भन्ने कुराले समाजवादीलाई सताएको देखिन्छ । पार्टीको ह्वीप नलाग्ने भएपछि पैसा र पदको लोभ तथा अन्य लेनदेनको स्वार्थबाट अरु सांसदलाईसमेत कसरी जोगाउने अप्ठ्यारो छँदैछ । प्रदेशमा निर्वाचित भएका सांसदलाई आफ्नै दलमा टिकाइराख्न पनि उसलाई निकै कठिन हुने अनुमान गर्न सकिन्छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अधिनायकवाद लागू गरेको, कानुनको सर्वोच्चतालाई नमानेको र अपमानपूर्ण व्यवहार गरी पार्टीबाट निष्कासन गरेको, केन्द्रीय कमिटि तथा स्थायी कमिटिको बैठक नबोलाएको, बैठकको निर्णय लत्याएको जस्ता अनेकौँ आरोप लगाएर नेपालसहितको जत्था एमालेबाट बाहिरिएको थियो । जसलाई नेकपा रहँदाका सहयात्री प्रचण्डलेसाथ दिनु भएको थियो । तर, ओलीका ज्यादतीका विरुद्ध भनेर जुन जनमत निर्माण गरिएका थियो र सत्ता र चुनावमासमेत गठबन्धन बनाएर अघि बढिएको थियो अहिले त्यसकै सहयात्रीमध्येका एक प्रचण्ड ओलीकै समर्थनमा प्रधानमन्त्री बन्न पुगेपछि यतिखेर एकीकृत समाजवादीलाई त्यो औचित्य पुष्टि गर्न र पार्टी जोगाउन हम्मे परेको छ ।

पार्टी फुटाउनका निम्ति संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत सदस्यको समर्थन भए पुग्ने व्यवस्था सहितको अध्यादेश ल्याएर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले एकीकृत समाजवादीलाई एमालेबाट छुट्टिन सहज बनाइदिनु भएको थियो । पार्टीको ह्वीप नमान्दै विपक्षी दलमा भोट गरेपछि सांसद पदबाट निष्कासनका लागि दिएको पत्र कार्यान्वन नगरिदिएर पार्टी तथा सांसद जोगाउन मद्दत गरेको माओवादी विना सरसल्लाह र छलफल एकतर्फीरुपमा एमाले गठबन्धनमा गएपछि अहिले समाजवादी तनावमा देखिन्छ ।

माओवादीसँग लागेर सरकारमा जाने वा प्रतिपक्षमा बस्ने भन्ने उसलाई द्विविधा छ । सरकारमा सहभागी हुनका लागि प्रधानमन्त्री तथा माओवादीका अध्यक्ष प्रचण्डले नेपाललाई विचार गर्न आग्रह गर्नु भएको छ । यति मात्र नभएर प्रचण्ड ओली तथा नेपाललाईसँगै राखेर वार्ता गराउने कोसिसमा पनि हुनुहुन्छ । यसो भएका खण्डमा आफ्नो पद सुरक्षित राख्न र यो गठबन्धन लम्ब्याउन सकिनेमा पनि आशावादी हुनुहुन्छ प्रचण्ड ।

तर, प्रतिगमन र पार्टीमा स्वेच्छाचारिता बढ्दै गयो भनेर कारबाहीका लागि संघर्ष गर्दै हिँडेका नेपाललाई ओलीसँग बसेर वार्ता गर्न त्यति सहज भने छैन । किनकि यो विषय एमालेमा अझै नसकिएको उसको पार्टी अनि विधान महाधिवेशबाट पनि प्रष्ट देखिन्छ । अनि अहिले घनश्याम भुसाल र भीम रावललाई टिकट नदिएर गरेको अन्यायमाथि कसैले पनि सशक्तरुपमा आवाज उठाउन सकेको छैन । यदि यही अवस्थामा वार्ता गरेर यही गठबन्धन र एमालेसँग सहकार्य गर्ने हो भने हिजोको त्यो विरोध र संघर्ष केवल सत्ता र शक्तिका लागि रहेछ भन्ने जुन सन्देश नागरिकहरुमा जान्छ कम्तीमा त्यसो नहोस् भन्ने नेपालको आशय बुझिन्छ ।

तर, सँगसँगै आफ्ना पार्टीको ‘मुसा प्रवृत्ति’लाई जसरी भए पनि रोकेर पार्टीलाई सिंगो र एक ढिक्का राख्नुपर्ने बाध्यता पनि छ नेपाललाई । सरकार गठन नहुँदै यो गठबन्धनको आयुको बारेमा राजनीतिक विश्लेषकहरुको चर्चा गरिरहँदा यसको आंकलन नेपाल जत्तिको नेताले नगरेको भनेर पत्याउन गाह्रो छ । यसकारण एक/डेढ वर्ष वा त्योभन्दा पनि कम समयका लागि सरकारमा सहभागी हुँदा पार्टी जोगिन्छ भने किन नजाने भन्ने मत एकीकृत समाजवादीका अन्य नेताले पनि विचार नगर्ने कुरा भएन ।

अर्को भनेको सरकारमा सहभागी हुन वा अन्य लाभको पदका लागि अहिले प्रचण्ड प्रधानमन्त्री भएका कारण पनि यसका लागि ओलीसँग कुनै आपसी सल्लाह तथा छलफल गरिरहनु आवश्यक देखिँदैन । गठबन्धनलाई मजबुत बनाउने नाममा त्यो जिम्मा अहिले एकीकृत समाजवादीका शुभचिन्तक प्रचण्डलाई दिँदा नेपालका लागि अवस्था सहज देखिन्छ । यो विकल्प नेपालका लागि सबैभन्दा सुरक्षित र सहज देखिन्छ ।

हुनत् राजनीति सम्भावनाहरुको खेल हो । यो कुरा एकीकृत समाजवादीमा लागू नहुने कुरा भएन । तर, कांग्रेससँग प्रतिपक्षको सशक्त भूमिकामा रहेर आगामी जनमतका लागि आफूलाई कत्तिको दह्रोसँग उभ्याउन सक्छन् यो हेर्न बाँकी छ । यो भूमिकाका लागि उसका सांसदहरु कति तयार छन् र पद विना कत्तिको टिकिरहन सक्छन् भन्ने कुरामा निर्भर रहन्छ । यसका लागि समाजवादीले पार्टीको ह्वीपको डण्डा चलाउन पाउने छैन । यो नै उसको सबैभन्दा ठूलो टाउको दुःखाइको विषय बन्न जान्छ । 

यदि एकीकृत समाजवादीसहितको गठबन्धन कायम रहेको भए उसको एक वर्ष प्रधानमन्त्री, राष्ट्रपति, केही थान मुख्यमन्त्री अनि सभामुखमा पनि दाबी थियो । दाबी सबै पूरा नभए पनि गठबन्धनका नाताले उसले केही लाभका पद अवश्य नै प्राप्त गर्नेवाला थियो । यसले पार्टीमा केही हुँदैछ भन्ने आशाको सञ्चार हुने अवस्था कायम रहन्थ्यो र संगठन विस्तार तथा पार्टी सुदृढीकरणमासमेत मद्दत गथ्र्यो । अब यी सबै विकल्प उसका अगाडि नहुँदा के गर्ने एक प्रकारको अलमल देखिएको छ ।

सत्ता साथमा नहुँदा आम कार्यकर्ता तथा पार्टीप्रति आकर्षण गर्ने अर्को माध्यम के हो त भन्ने विषयमा पनि एकीकृत समाजवादीले सोच्नुपर्ने देखिन्छ । किनकि जतिसुकै आदर्श र सिद्धान्तको कुरा गरे पनि देशकोे राजनीतिक अवस्थाका बारेमा नागरिक जानकार छन् । त्यसमा पनि अहिले भर्खरै प्रचण्ड प्रधानमन्त्री बन्नका लागि भइरहेको गठबन्धन तोडेर विगतमा बोलचालको अवस्थासम्म नरहेको तथा कटुतापूर्ण सम्बन्ध रहेको ओलीसँग गएर जोडिनुलाई पनि समाजवादीका नेता तथा कार्यकर्ताले राम्रैसँग नियालिरहेका छन् । यसकारण पनि एकीकृत समाजवादी अहिले सत्तामा जाने वा प्रतिपक्षमा बस्ने र कसरी पार्टीलाई एक बनाएर लैजाने भन्ने अलमलमा देखिन्छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया