नवदुर्गा देवगणले ३३ वर्षपछि काठमाण्डौ उत्तरतर्फको शहरी यात्रामा जे देखे...

 पुस १४, २०७९ बिहिबार ११:१४:२५ | कुमार रञ्जित
unn.prixa.net

३३ वर्षपछि काठमाण्डाै उत्तरतर्फको शहरी यात्रामा आएको भक्तपुरको नवदुर्गा देवगणको नाच टोलीले यहाँ आधुनिकतासँगै मानिसका स्वार्थका कारण समाज र संस्कृतिमा अस्तव्यस्तताका बाबजुद पुनः नयाँ ढंगबाट शुरु गर्ने उत्साह पनि देखेको छ ।

संस्कृति संरक्षण र निरन्तरतामा थुप्रै समस्याका बाबजुद ती देवगणले यहाँका बासिन्दासँग बिदाइका बेलामा शुभ संकेत र समुन्नति प्राप्तिका लागि आशीर्वचन दिएर गए । 

देवी–देवताका नाचगान संस्कृतिको राजधानी मानिने भक्तपुरमा मानव समाजमै आधारित जीवित देवीका रुपमा पुजिँदै आएको नवदुर्गा देवगणको यात्रा र जात्रा प्रत्येक वर्ष ८ महिना मुकुण्डो सहित र चार महिना तिथिमिति समय नहेरिकनै हरेक वर्ष निरन्तर गरिँदै आएको सञ्चालक मध्येका नारायण मान बनमाला बताउनु हुन्छ । यसै क्रममा यसवर्ष ३३ वर्षअघिदेखि रोकिएको देवगणको नाच यात्रा उत्तरी काठमाण्डाैका स्थानीयकै अनुरोधमा पुनः सञ्चालन गरिएको हो ।

काठमाण्डाैको उत्तरी भेगमा अवस्थित चार वटा नगरपालिकाहरुमा रहेका प्राचीन शहरहरुलाई लक्षित गरिएको यात्रा सांस्कृतिक संरक्षित क्षेत्र टोखा, तारकेश्वरको साङ्ला, बुढानीलकण्ठको चगां (चपली) र तुप्या (तुपेक) साथै गोकर्णेश्वरको प्राचीन गोकर्ण देशमा केन्द्रित थियो । इतिहासको कालखण्डमा यी सबै क्षेत्र टोखा मौजा अन्तर्गत नै उल्लेख गरिएका प्राचीन बस्तीहरु भएको टोखाका सांस्कृतिक मू–नायः हेमराज श्रेष्ठले जानकारी गराउनुभएको छ ।

काठमाण्डाै उपत्यकाभित्रका विभिन्न भू–भागमा लिच्छविकालमै व्यवस्थित शहरहरु बनिसकेको र भक्तपुरमा नवदुर्गा गण नाच मल्लकालमै विकसित भइसकेको तथ्यमा इतिहासकारहरु एकमत छन् । मल्लकालदेखि आपसी प्रतिस्पर्धा, शत्रुता र युद्ध जे भए पनि वा गरिए पनि उपत्यकाभित्रका विभिन्न प्राचीन शहरका जनतालाई सांस्कृतिक रुपमा एकरुपताको मालामा जोड्ने कार्य नवदुर्गा गण नाचले गर्दै आएको थियो भन्ने पनि यस देवगण नाच टोलीको यात्रा र जात्राबाट पनि देखाएको छ । 

“नेपाल आएर भक्तपुर पुगेन भने आधा संसारको यात्रा नगरेको ठहरिन्छ”, भक्तपुरका स्वप्नद्रष्टा वरिष्ठ राजनीतिज्ञ तथा नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायण मान बिजुक्छेले आफ्नो चर्चित पुस्तक “सय वर्षपछिको भक्तपुर”को अन्तिम हरफमा विदेशी पर्यटकबाट बोल्न लगाइएको यस वाक्यले भक्तपुरको वर्तमान र भविष्यलाई छर्लङ्ग पारेको छ । वास्तवमै भक्तपुरका अनेकौँ देवी–देवताका नाचहरुमध्ये एक नवदुर्गा गण नाच टोलीले यस हप्ता गरेको काठमाण्डाै उत्तरी भेगतर्फको यात्राले पनि त्यस वाक्यलाई प्रष्ट्याएको छ । ती पाँच वटा प्राचीन नगरका बासिन्दामा देवगणको यात्रा र जात्राप्रति अपार उत्सुकता र उत्साह उर्लिएको देखिन्छ ।  

भक्तपुरमा बनमाला समुदायद्वारा सञ्चालन हुँदै आएको “गाथा प्याखं” भन्ने गरिएको यस नाच टोलीका १९ जना देवीदेवता साथै तिनका सेवकहरुसहित झण्डै ६० जनाको टोली परम्परागत मार्गबाट देवगणका मुखुण्डो र गरगहनासहित खर्पनमा बोकेर हिँडेरै टोखा पुग्दा स्थानीयबाट न्यानो सत्कार पाउनुका साथै बदलिएको टोखामा मानिसका बदलिएको स्वभाव पनि देखे । टोखा तलेजुका ८३ वर्षीय नायः सेते डंगोल आफै विष्णुमती खोला किनारसम्म स्वागत र बाटो देखाउन पुग्नुभएको थियो । खेतबारीका कान्लाबाट हिँड्ने पैदल मार्गहरु चौडा मोटर बाटो भैसकेका थिए । घर तथा बजार अत्याधुनिक रुपमा झकिझकाऊ थियो । भव्य रुपमा तरिकाबाट स्वागत र पूजा गरियो ।

पहिले मानिसहरु देवता आउँदा बाटो काट्न हुँदैन भन्थे, अहिले त्यसो भन्नेमा कमी आएको थियो । पञ्चायतकालदेखि बहुदलीय, लोकतान्त्रिक र संघीय गणतान्त्रिक अवस्थामा आइपुग्दा टोखा वर्तमानमा सांस्कृतिक जनजीवन बोकेर पनि आधुनिक शहर बन्नेतर्फ उन्मुख रहेको महसूस टोलीले गर्न पायो । टोलीले भक्तजनलाई कालो मोहनी टीका लगाइदिएर पासूका धागो प्रदान गरेर जात्रामय वातावरण बनाइदियो । पहिलो दिन नै टोखाको थःनेलाछिमा गंछि नाच, खः प्याखं, मू बाहाँ जात्रासहित रात्री नाच सम्पन्न गरियो ।

यस्तोमा ज्येष्ठ नागरिकहरु ३३ वर्ष अगाडिका दृश्य सम्झिँदै बयान गर्दै थिए । युवाहरुमा पहिलो पटक हेर्ने रहर तीव्र थयो । 

यात्राको दोस्रो दिन टोलीका चार देवी–देवतासहित एक समूह तारकेश्वर नगरपालिका अन्तर्गत प्राचीन बस्ती साङ्ला पुग्दा स्थानीयका घरहरु महाभूकम्प गएको ७ वर्षपछि पनि भग्नावशेष र पीडितै अवस्था थियो । स्थानीयद्वारा पुजिने तलेजु आकृतिविहिन अवस्थामा थियो भने सम्पूर्ण भत्किएका मन्दिरहरुका मूर्तिहरु एकमुष्ट एउटा खुला टहरामा खुला र असुरक्षित रुपमा राखिएका थिए । देवगण टोलीलाई स्वागत गर्न साङ्लामा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन आफै साङ्लाको सांस्कृतिक पुनरुत्थान हुनुपर्नेमा जोड दिन पुग्नुभयो । वर्तमान नेपालका तीन तह सरकारका तर्फबाट अपहेलित जस्तै देखिने साङ्लामा पूजा र नाच प्रदर्शनपछि देवगण टोली साङ्लावासीलाई सुख र समृद्धिको आशीर्वाद दिएर टोखातिरै फर्कियो । टोखामा सरकारी पूजा, बलि पूजा र स्थानीयबाट पूजापछि बाराही नाच, सिम्हा दुम्हा ङा लाकेगु (माछा पक्रिने) नाच, महाकाली नाच, श्वेत भैरब ङा लाकेगु नाच देखाइयो । जसमा स्थानीयले अभूतपूर्व सांस्कृतिक शिक्षा र मनोरञ्जन लिन पाए ।

देवगण टोली टोखाबाट बुढानीलकण्ठ नगरपालिका अन्तर्गत प्राचीन बस्ती चगां (चपली) पुग्दा पहिले पहिले देवगण बास बस्ने घर व्यक्तिको कब्जामा रहेको थाहा भयो । परम्परागत रुपमा बासस्थल सत्तल र पोशाक परिवर्तन गर्ने स्थान अतिक्रमणमा परेको थियो । आधुनिक शहर र चौडा बाटोले स्थानीयवासीमा ठूलो परिवर्तन ल्याएको थियो । सांस्कृतिक सम्पदास्थलहरु आधुनिक भवन जस्तै बनेका थिए । स्थानीय चापाचौरमा नाच प्रदर्शन हुँदा आधुनिक शहरमा देखाइएको सांस्कृतिक प्रदर्शन जस्तै भएको थियो । स्थानीय ६८ वर्षीया कमला कुँवर लगायत ज्येष्ठ नागरिकहरु आफ्ना बाल्यकालदेखि हेर्दै आएको देवी–देवताहरु ३३ वर्षपछि फेरि दर्शन गर्न पाउँदा अत्यन्तै खुशी हुनुहुन्थ्यो । 

चपलीबाट देवगण बुढानीलकण्ठ नगरपालिकाकै प्राचीन बस्ती तुप्या (तुपेक) पुग्दा सर्वप्रथम ढोग गर्नुपर्ने नासःद्यःको मन्दिर व्यक्तिको अधिनमा रहेको जग्गामा परेको अवस्था थियो । मन्दिर भग्नावशेष दुरावस्थामा थियो । यस्तो अवस्थाप्रति स्थानीय जनप्रतिनिधिहरु ग्लानीको अवस्थामा देखिए । 

“यसपटक जसरी पनि यो मन्दिर बनाउनु पर्छ”, वडाध्यक्ष टिकेश नारायण श्रेष्ठ भन्दै हुनुहुन्थ्यो । तुप्याको ननिमा पूजा र चारजना देवगणको नाच प्रदर्शनपछि टोली साँझमा गोकर्णतर्फ प्रस्थान गर्‍यो ।

पहिलो दिन गांछि नाच साथै बलि पूजासहित रात्री नाचपछि स्थानीयद्वारा गरिएको सत्कार स्वीकार्दै देवगण बास बसेको थियो । त्यहाँ दोस्रो दिन बाराही नाच, सिम्हा दुम्हा ङा लाकेगु जात्रा, महाकाली नाच, श्वेत भैरब ङा लाकेगु जात्रा सम्पन्न गरेर त्यहीँ बास बसेका देवगण टोली अर्कोदिन बिहान भक्तपुर फर्कियो ।

इतिहासमा पूर्वको दोलखादेखि पश्चिमोत्तर नुवाकोटको कबिलाससम्मको यात्रा पूरा गर्दै आएको नवदुर्गा देवगण नाचलाई निरन्तरता दिन एउटा मजबुत आर्थिक कोषको आवश्यकता सम्बन्धित सबैले औँल्याएका छन् । यसपटक पनि यात्रामा पुगेका सबैजसो नगरपालिकाहरुले सक्दो आर्थिक अनुदान दिए । टोलीले सुँगुर र कुखुराको भाले बलि लिने परम्परागत शैलीलाई अधिकांश दर्शकले अत्यन्तै बर्बर हिंस्रक मानेका छन् । यस सन्दर्भमा लेखक बिजुक्छेले पुस्तकमा “युरोपको जिप्सी जातिको जस्तो बर्बर मातृसत्तात्मक र घुमन्ते उत्तरबाट आएको एक जातिलाई नै मल्ल राजाहरुले नवदुर्गा गणका रुपमा परिणत गरेको” अनुमान गर्नुभएको छ ।  
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

कुमार रञ्जित

उज्यालोमा कार्यरत कुमार रञ्जित तीन दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया