यसरी भयाे नेपाल–भारतबीच संयुक्त सैनिक अभ्यास (तस्बिरहरू)

 पुस १४, २०७९ बिहिबार १४:२४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल र भारतबीचकाे संयुक्त सैनिक अभ्यास समापन भएकाे छ । रुपन्देहीको सालझण्डीमा रहेकाे नेपाली सैनिक ब्याटल स्कुलमा यही पुस १ गतेदेखि सञ्चालन भएकाे नेपाल–भारत संयुक्त सैनिक अभ्यास आज बिहीवार समापन भएकाे हाे । नेपाली सेनाका बलाधिकृत रथी सरोज प्रताप राणाले एक विशेष कार्यक्रमका बीच समापन गर्नुभएको छ । 

विपद् व्यवस्थापनको समयमा गरिने खोज तथा उद्धार र स्वास्थ्य उपचारलगायत प्रतिविद्रोह तथा प्रतिआतङ्कवादजस्ता विषयहरू समावेश गरी सञ्चालन भएको अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी विमल कुमार वाग्ले र भारतीय सेनाबाट कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा दुवै देशका ३३४/३३४ जना सकलदर्जा सहभागी रहेका थिए । समापन समारोहमा बलाधिकृत रथी राणाले अभ्यास सफलतापूर्वक सम्पन्न गरेकोमा सहभागी सैनिकलाई बधाई दिँदै तालिमप्रति देखाएको समर्पण, उत्सुकता र कडा परिश्रमले भविष्यमा आइपर्ने जस्तोसुकै चुनौतीहरूलाई प्रभावकारी ढङ्गले समाधान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले सहभागी दुवै देशका सैनिकलाई प्रमाणपत्रसमेत प्रदान गर्नुभएको थियो ।

समापन कार्यक्रममा सैनिक तालिम महानिर्देशक उपरथी बाबुराम श्रेष्ठ, मध्य पश्चिम पृतनाका पृतनापति उपरथी याम प्रसाद ढकाल, नं. ३ बाहिनीपति एवम् संयुक्त अभ्यासका अभ्यास निर्देशक सहायक रथी प्रेम बहादुर पुन, नं. २२ बाहिनीपति सहायक रथी नवराज गुरुङ, नेपालका लागि भारतीय सैनिक सहचारी कर्णेल अमित शर्मा, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी तथा रुपन्देही जिल्लामा रहेका सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो । 

यस संयुक्त सैनिक अभ्यासले दुई देशबीच कायम रहेको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउनुका साथै दुवै देशको सेनाका सकलदर्जामा आधारभूत सैनिक सीपको विकास र आपसी समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।

तस्बिरहरू : नेपाली सेना

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया