पाेखरालाई झिलिमिली बनाउन चाेकचाेकमा 'हाई मास्ट' र 'स्मार्ट' बत्ती

 पुष १४, २०७९ बिहीबार १६:१२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालको प्रमुख पर्यटकीय नगर पोखरालाई 'हाई मास्ट' र 'स्मार्ट' सडक बत्तीबाट झिलिमिली बनाउन सुरु भएको छ । उज्यालो पोखरा अभियानअन्तर्गत पोखराका मुख्य–मुख्य चोकहरूमा हाई मास्ट र सडकमा बत्ती राखी झिलिमिली बनाउने काम भइरहेको छ ।

पोखरा महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको साझेदारीमा पोखराका २३ वटा मुख्य चोकमा १६ मिटर अग्लो पोलमा २३ वटा हाई मास्ट लाइट जडान भइरहेको छ । चारै दिशामा उज्यालो छर्ने अत्याधुनिक हाई मास्ट लाइट जडान भइरहेको हो । अहिलेसम्म आठ वटा हाई मास्ट लाइट जडान गरिएको छ ।

महानगरभित्रको ५० किलोमिटर मुख्य सडकमा एक हजार छ सय २४ वटा सडक बत्ती जडान गरिने छ । जसमध्ये ऊर्जा दक्षतायुक्त ९० वाटका एक हजार एक सय चार वटा र एक सय २० वाटका पाँच सय २० वटा स्मार्ट बत्ती जडान गरिने छ । अहिलेसम्म एक सय ७१ वटा बत्ती जडान गरिएको छ । सडक बत्ती जडान कार्य आउँदाे फागुनभित्र सकिने छ ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हिजाे बुधवार बेलुकी बिरौटा क्षेत्रमा जडान गरिएका हाई मास्ट र सडक बत्तीकाे संयुक्तरूपमा उद्घाटन गर्नुभयो । रिमोटमार्फत बिरौटा, लेकसाइड लगायत ठाउँमा राखिएका हाई मास्ट र सडक बत्ती बालिएको थियो ।

कम बिजुली खपत गर्ने तर उज्यालो बढी दिने बत्ती जडान गरिएको हो । सडक बत्तीले रातको समयमा सडकको यात्रा सुरक्षित र सडक तथा सहरी सौन्दर्यलाई वृद्धि गरी पोखराको रात्रिकालीन सौन्दर्यता बढाउने छ । पोखरा महानगरपालिकाले सडक बत्तीकाे महसुल तिर्ने व्यवस्था गरेको छ ।

प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालितरूपमा सडक बत्तीलाई नियन्त्रण गर्न सकिन्छ । यसका लागि २७ वटा फिडर प्यानल जडान गरिने छ । त्यसमध्ये तीन वटा जडान गरिएको छ । सडक बत्तीका लागि मात्र छुट्टै ट्रान्सफर्मर जडान गरिएको छ ।

स्मार्ट बत्ती प्राधिकरणको सर्भरसँग सिधै जोडिएको छ । सफ्टवेयरबाटै अँध्यारो हुँदा बत्ती बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था छ । सफ्टवेयरबाट बिजुलीकाे महसुलको बिलिङ गरिन्छ । बत्ती बलेकाे/नबलेको अनुगमन पनि सफ्टवेयरबाटै गर्न सकिन्छ ।

प्राधिकरणले उज्यालो सहर अभियानअन्तर्गत पालिकासँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदा, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय ठाउँहरूमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गरिरहेको छ । यसबाट सहरको सौन्दर्य अभिवृद्धि हुने, बिजुलीकाे माग बढ्ने र रातिको खेर जाने बिजुली पनि खपत हुने प्राधिकरणको विश्वास छ ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया