माग बढेसँगै उपकरणले नधान्दा झ्याप्प–झ्याप्प बत्ती जान थाल्यो, २६० मेगावाट भारतबाट आयात

 पुस १४, २०७९ बिहिबार २०:२२:१६ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ – जाडो बढेसँगै बिजुली जाने समस्या बढेको छ । हिटर, एसी लगायतका उपकरण चलाउने क्रम बढेकाले माग बढेसँगै बिजुली जाने समस्या बढेको हो । काठमाण्डौको नेपालटार, नयाँ बानेश्वर, शान्तिनगर, भक्तपुर र ललितपुरका विभिन्न ठाउँमा झ्याप्प–झ्याप्प बत्ती गइरहेको उपभोक्ताले गुनासो गरेका छन् । यस्तै चितवन, कैलाली, कपिलवस्तु, नवलपुर, सुर्खेत लगायतका जिल्लाका उपभोक्ताले पनि बत्ती गइरहेको गुनासो गरेका छन् । चाहिने बेलामा नै बत्ती जाँदा समस्यामा परेको उपभोक्ताको भनाइ छ । 

नेपाल विद्युत् प्राधिकरणले नेपाललाई चाहिनेजति बिजुली प्रवाह भइरहेको भन्दै प्राविधिक समस्याका कारण कुनै बेला बत्ती गएको हुन सक्ने बताएको छ । प्राधिकरणको भार प्रेषण शाखाका प्रमुख तथा प्रवक्ता सुरेशबहादुर भट्टराईले भारतबाट आयात गरेरै भए पनि नेपाललाई चहिनेजति बिजुली आपूर्ति भइरहेको बताउनुभयो । अझै पनि कतै–कतै पुराना संरचना भएकाले माग धान्न नसकेर डाउन भइरहेको उहाँको भनाइ छ । ‘कतै–कतै अझै धेरै पुराना ट्रान्सफर्मरहरू छन्, ओभरलोडका कारण पड्किने र काम नगर्ने समस्या छन्, कतै फ्युज गइरहेको हुन्छ, हामी चाँडोभन्दा चाँडो मर्मत गरिरहेका छौँ’, भट्टराईले भन्नुभयो । 

यस्तै सडक मर्मत र विस्तारका कारण देशका विभिन्न ठाउँमा बत्ती गइरहेको हुन सक्ने पनि भट्टराईले बताउनुभयो । कतै सूचना दिएर तथा कतै विना सूचना पनि बत्ती गएकोले उपभोक्तालाई समस्या परेको हुन सक्ने उहाँको भनाइ छ ।  

देशभित्रको उत्पादनमा व्यापक कमी, भारतबाट आयात

गएको जेठ १९ गतेदेखि पुसको ३ गतेसम्म ११ अर्ब रुपैयाँभन्दा धेरैको बिजुली भारतलाई बेचेको प्राधिकरणले अहिले भने उतैबाट आयात गरिरहेको छ । अहिले नेपाल विद्युत् प्राधिकरणले माग धान्नका लागि भारतका विभिन्न प्वाइन्टबाट बिजुली आयात गरिरहेको छ । 

अहिले पिक आवर अर्थात् बेलुका ६ देखि ९ बजेसम्म १६ सय ८५ मेगावाटसम्म बिजुलीको माग रहेको छ । तर नेपालभित्रैको बिजुलीको उच्चतम उत्पादन भने अहिले एक हजार मेगावाटमात्रै रहेको छ । नेपाल विद्युत् प्राधिकरण र यसका सहायक कम्पनीले दिउँसोको समयमा पाँच सय ६० मेगावाट हाराहारीमा बिजुली उत्पादन गरिरहेका छन् । उच्च माग हुने बेलुकाको समयमा प्राधिकरणले कुलेखानी, कालीगण्डकी लगायतका केही जलाशय र अर्ध–जलाशय आयोजना पूर्ण क्षमतामा चलाउँदा यो परिमाण केही बढ्ने गरेको छ । यस्तै निजी क्षेत्रले दिउँसोको समयमा चार सय मेगावाट बिजुली उत्पादन गरिरहेका छन् । अपुग भएको बिजुली प्राधिकरणले भारतबाट किन्दै आएको छ । प्राधिकरणका अनुसार आज दिउँसो मात्रै भारतबाट दुई सय ६३ मेगावाट बिजुली आयात भएको छ । 

‘हामीकहाँ जलाशययुक्त आयोजना छैनन्, हिउँद लाग्दा नदीमा पानीको बहाव घटेसँगै भारतबाट किन्नुपर्ने बाध्यता छ’, प्रवक्ता भट्टराईले भन्नुभयो, ‘दिउँसो भारतबाट किन्दा सस्तो हुने भएकाले दिउँसो धेरै किनिरहेका छौँ, बेलुका भने हाम्रै केही जलाशय र अर्ध–जलाशययुक्त आयोजना पूर्ण क्षमतामा चलाएर कम आयात हुने गरेको छ ।’ 

उहाँले वैशाख महिनासम्म बिजुली किन्नुपर्ने सम्भावना रहेको बताउनुभयो । वैशाखपछि भने फेरि निर्यात सुरु हुने भट्टराईको भनाइ छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया