मेरो बुवालाई लाग्छ - छोराको हातले कोदाली र खर्पन हैन कलम मात्र समातोस्

 पुस १९, २०७९ मंगलबार १७:३१:८ | जेनिश बाडे
unn.prixa.net

म घरमा आनन्दले बसिरहेको थिएँ । मेरो आँखा कै अघिल्तिर बुवा भने तरकारी पखाल्दै हुनुहुन्थ्यो । सोचेँ बुवालाई अलिकति भए पनि काममा सघाउँछु । बुवाको छेउमा मात्र के पुगेको थिएँ बुवाको मुखबाट एक्कासी शब्द निस्कियो ‘तैँले केही काम गर्न पर्दैन, जा पढेर बस ।’

बुवाको मनले सोच्दो हो छोरालाई काम लगायो भने पढाई बिग्रन्छ । तर मलाई भने बुवा सँगसँगै घर व्यवहार, खेतबारी र तरकारी सबैको काम गर्न मन लाग्छ । किनकि मलाई मेरो बुवाले गर्ने हरेक काम म आफैँ गरौँ जस्तो लाग्छ । 

मेरो बुवा जागिर खान कतै जानुहुन्न । उहाँले जागिर भने पनि वा मेरो सुन्दर भविष्यको कल्पना गर्ने आधार भने पनि एउटै कृषि हो । 

यो कुरा सुन्दा धेरैलाई लाग्न सक्छ कृषि गरेर पनि जीवन चल्छ र ? जिन्दगी चलाउन त जागिर खान पर्छ । तर जागिर नै नखाई हामी छोराछोरीको हरेक रहर पूरा गर्न सक्ने मेरो बुवाको कृषि कर्म मलाई असाध्यै मन पर्छ र त म पनि बुवासँग उहाँले गर्ने कृषिको काम सिक्न चाहन्छु । तर बुवालाई लाग्छ, मेरो छोराले हातले कुटो कोदालो, खर्पन हैन कलम मात्र समातोस् ।

मेरो बुवा उमेरले ४५ वर्ष लाग्नुभयो । उहाँले खर्पनसँगै जीवन अघि बढाउन थालेको तीन दशकभन्दा बढी भइसक्यो । मेरो उमेरभन्दा झण्डै दोब्बर उमेरको यो कृषि अनुभवले पनि होला बुवालाई लाग्छ मेरो छोरोले कृषि चाहिँ नगरोस् । 

म आजकाल सुकिलो सर्ट पाइन्ट, कोट र टाई लगाएर कलेज बढ्छु । तर मेरो बुवाका लागि कलेज भने पनि स्कुल भने पनि आफ्नै खेत र माटो भयो । कोदाली र खर्पन कापी कलम भए । आम्दानी प्रश्न थियो । अनि हरिया तरकारी उत्तर । यिनैको सहारामा मेरो बुवाले आफ्नो जीविकोपार्जन गर्नुभयो ।

आज मेरो बुबाले मलाई कोदाली र खर्पनको साटो कापी र किताबको झोला थमाउनुभएको छ । 

थोरै मात्र सघाउँछु नि भन्दा पनि बुवालाई मेरो भविष्यको डर लाग्छ । उहाँको सपना छोरो मजस्तै कृषक नबनोस् । पढिलेखी कलम मात्र चलाएर जीवन चलाओस् भन्ने छ ।

बुवा आमाले पसिना बगाएको देख्दा मलाई पनि कोदाली खन्न मन लाग्छ । बुवा तपाईँ आराम गर्नुस् आज म खन्छु भनेर साथ दिन मन लाग्छ । तर मेरो बुवालाई सकेसम्म छोराको पाइला खेतमा नपरोस् भन्ने लाग्छ । 

बुवा भन्नुहुन्छ ‘हातमा ठेला र पसिना हैन बाबु प्रमाणपत्रले भरेस् ।’

मेरो बुवा बिहानको चिसो र भोक नभनी खट्नुहुन्छ । तर मलाई भने कामभन्दा बढी पढ भन्नुहुन्छ ।

आजकाल मेरो बुवाको मनमा तरकारी नफल्ला कि, किराले खाला कि, बजारमा नबिक्ला कि भन्दा पनि छोराले नपढ्ला कि भन्ने डर ठुलो छ ।  

कहिले काहीँ त बुवालाई सघाउन नपाउँदा छटपटी हुन्छ । फुर्सदको समयमा अलिअलि काम गरेरै भए पनि पढ्न सक्छु जस्तो लाग्छ मलाई । तर मेरो बुवालाई त्यस्तो लाग्दैन । 

म अहिले कक्षा १२ मा पढ्दै छु । मेरो हातले भोलि बुवाले समातेकै खर्पन र कोदाली समात्छ या बुवाले चाहेजस्तै कलम निश्चित भइसकेको छैन । तर मनले भन्छ, अलिअलि मेरो बुवाजस्तै अनि अलि धेरै बुवाले चाहेजस्तै छोरो बन्नु पर्छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

जेनिश बाडे

जेनिश कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ ।

1 Comments

  • Anita achhame

    Jan. 3, 2023, 6:57 p.m.

    घर मै हुँदा त सघाउनु पनि पर्छ जस्तो लाग्छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया