डोटीकाे भाइरल झोलुङ्गे पुलकाे अवलोकन गरेबापत अब कर तिर्नुपर्ने

 पुस २१, २०७९ बिहिबार ११:१३:५१ | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटीको दिपायलमा निर्माण भएको भाइरल पुलका नामले चिनिँदै आएको झोलुङ्गे पुलकाे अवलोकन गरे वा पुलमा टिकटक बनाएबापत अब कर तिर्नुपर्ने भएको छ । दिपायल सिलगढी नगरपालिकाले  झोलुङ्गे पुलकाे अवलोकन गरेबापत कर उठाउने तयारी गरेको हाे । 

सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा दिपायल सिलगढी नगरपालिका–५ दुधेश्वर र २ नम्बर वडामा पर्ने कोटभैरव जोड्नका लागि पुल निर्माण भएको हो । दुई पर्यटकीय तथा धार्मिक स्थल जोड्ने गरी निर्माण भएको पुल दिपायल घुम्न आउने आन्तरिक पर्यटकको प्रमुख रोजाइमा पर्दै आएको छ । नगरपालिकाले अब शुल्क तिरेर मात्रै पुलकाे अवलोकन गर्न पाइने सूचना निकालेकाे छ । 

पुल अवलोकन गरेबापत शुल्क उठाउनका लागि दिपायल सिलगढी नगरपालिकाले यही पुस १२ गते दोस्रो पटक सूचना प्रकाशन गरेको थियाे । प्रत्येक महिना कम्तीमा पनि पाँच हजार दिनेगरी बढाबढमा प्रतिस्पर्धा हुनेगरी नगरपालिकाले दोस्रो पटक सूचना प्रकाशन गरेको हाे । द्धारीखोला माथि ७० मिटर उचाइ र २ सय मिटर लामो पुलबाट दृश्यावलोकन गरी टिकटक बनाउँदा, भिडियो खिच्दा तथा फोटो खिच्दा शुल्क तिर्नु पर्ने नियम नगरपालिकाले लागू गरेपछि स्थानीयवासी आक्रोसित बनेका स्थानीयवासी रामसिंह कामीले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘पर्यटकहरुलाई आकर्षित गर्नका लागि अन्य कार्यक्रम लागू गर्नुपर्नेबेला नगरपालिकाले पुल अवलोकन गर्नेबाट कर लिनु भनेको राम्रो कुरा होइन, नगरले कर हाेइन त्यहाँ भएका ऐतिहासिक धार्मिक स्थलको संरक्षणसहित प्रचारप्रसारमा ध्यान दिनुपर्छ।’

पुल अवलोकनका लागि कर तिर्नु पर्ने नियम नगरपालिकाले लागू गरेपछि अहिले सामाजिक सञ्जालहरुमा त्यसको विरोध भइरहेकाे छ । नगरपालिकाले पुलमा जाने आउने पर्यटकका कारण यहाँ निर्माण भएका संरचना भत्किन थालेकाले पुलसहितका अन्य भौतिक संरचनाको संरक्षणका लागि कर उठाउन लागेकाे जनाएकाे छ । पुल निर्माणका लागि २०७८ असारमा सम्झौता भएको थियाे भने देवभूमि कन्स्ट्रक्सन निर्माण सेवाले २०७९ असोजमा पुल निर्माणकाे काम सम्पन्न गरेको थियो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया