सप्तरीमा चिसोका कारण एक जनाको ज्यान गयाे

 पुस २२, २०७९ शुक्रबार १२:५:४० | शुभनारायण यादव
unn.prixa.net

सप्तरी - चिसोका कारण सप्तरीमा एक जनाको ज्यान गएको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ४ का अन्दाजी ५० वर्षीय राजकुमार सदाको चिसाेका कारण ज्यान गएको वडा अध्यक्ष मुनिलाल मुखियाले जानकारी दिनुभयो । ज्यान गुमाएका सदाको परिवारलाई खान लगाउन समेत समस्या छ । केही दिनयता सप्तरीसहित तराईका जिल्लामा शीतलहर चलेको छ ।  

चिसो बढेपछि केही पालिकाहरुले चोक तथा सार्वजनिक ठाउँमा दाउराको व्यवस्था गरी आगो बाल्ने  व्यवस्था मिलाएका छन् । चिसोका कारण हिजो धनुषामा एक जनाको ज्यान गएको थियो । तराईका जिल्लामा शीतलहर अझै एक/दुई दिन लम्बिने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् शान्ति कँडेलका अनुसार नेपालगञ्ज, भैरहवा, सिमरामा अधिकतम तापक्रम औसत अधिकतम तापक्रमभन्दा ५ डिग्री सेल्सियसभन्दा धेरैले घटेको छ । शीतलहर चलेका बेला बिहान, दिउँसाे र रातिको तापक्रम उस्तैउस्तै हुने भएकाले कठ्याङ्ग्रिँदाे चिसो हुन्छ । यस्तो बेला तातो न्यानो खानेकुरा खाने, न्यानो र बाक्ला कपडा लगाउने, आगो तथा हिटर ताप्ने गरे शरीरलाई न्यानो राख्न सकिन्छ । सावधानी नअपनाए मानवीय क्षति हुने जोखिम धेरै हुन्छ ।

चिसोबाट जोगिन हिटर, कोइला तथा आगो ताप्दा सुरक्षित भने हुनुपर्छ । आगो ताप्दा आगलागीको सम्भावना हुने तथा हावा नछिर्ने गरी झ्याल ढोका बन्द गरेर हिटर र कोइला बाल्दा निसासिएर ज्यान जाने जोखिम हुने हुँदा सावधानी अपनाउन विज्ञको आग्रह छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया