नेपाली सेनाकाे 'एकीकरण पदयात्रा' लाई धादिङमा स्वागत

 पुस २२, २०७९ शुक्रबार १९:११:१५ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तारका क्रममा प्रयोग गरेको बाटाेलाई नेपाली सेनाले एकीकरण पदमार्ग पदयात्रा नामबाट सुरु गरेकाे पदयात्रालाई धादिङकाे सल्यानटारमा भव्य स्वागत गरिएकाे छ । 

सेनाले पृथ्वी जयन्तीको अवसर पारेर ऐतिहासिक नेपाल एकीकरणका क्रममा प्रयोग भएको पदमार्गको संरक्षणका लागि पदयात्रा सुरु गरेको हाे । गोरखाबाट सुरु भएको पदयात्रामा टर्च, राष्ट्रिय झण्डा, पृथ्वीनारायण शाहकै पालामा स्थापना भएका नेपाली सेनाका पाँच कम्पनीका झण्डा समावेश गरिएकाे छ । गाेरखाकाे रिपुमर्दन गणले धादिङको शिवदल गणलाई झन्डा र टर्च हस्तान्तरण गरेपछि धादिङ खण्डको पदयात्रा शिवदल गणका गणपति प्रमुख सेनानी अशोकराज बराल, उपसेनानी विशाल काजीकाे टाेलीले गर्‍याे । 

पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा १८०२ मा नुवाकोटमा हमला गर्दा गोरखा राज्यले बूढीगण्डकी किनारमा रहेको बोर्लाङ्गघाट पार गरी सल्यान्टार, सामरी भञ्ज्याङ हुँदै धादिङको पदमार्ग प्रयोग गरेको इतिहास छ । तत्कालीन समयमा काठमाण्डौको हनुमान ढोका र गोरखासम्मको दुरी २६ कोस रहेको र काेसैपिच्छे ढुङ्गा गाडिएकोमा सात वटा कोसेढुङ्गा धादिङमा रहेका छन् । सल्यान्टार रानीपौवा, हांसेपसल, खहरेबजार, लाकुरी, कटुञ्जे, भोक्टिनी र थर्पुमा कोशेढुङ्गा छन् । धादिङ खण्डमा दुई दिन हुने पदयात्रा यिनै कोशेढुङ्गा भएर गरिने छ  । 

भाेलि शनिवार बेलुका जर्वजंङ गणलाई टर्च हस्तान्तरण गरिने छ । धादिङ खण्डमा यस पदयात्राकाे ४२ किलोमिटरको दुरी रहेको छ । पुस २१ गतेदेखि सुरु भएको पदयात्रा पौस २७ गते पृथ्वी जयन्तीका दिन काठमाण्डाै पुगेर सकिने छ ।

कार्यक्रममा अतिथिको रूपमा त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेती, धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल र श्री ६ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथि रामचन्द्र कार्की रहनुभएको थियो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया