दैलेखमा जलेकाे अवस्थामा एक जनाकाे शव फेला

 पुस २४, २०७९ आइतबार १५:४८:१६ | अमर सुनार
unn.prixa.net

दैलेख – दैलेखकाे भैरवी गाउँपालिका वडा नं. ४ लिउडामा घरभित्रै जलेकाे अवस्थामा एक जना पुरुषको शव फेला परेको छ । गए राति भएको आगलागीको विस्तृत विवरण तयार गर्न गएको बेला घरधनी ४५ वर्षीय नरेक विककाे शव जलेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

शनिवार राति साढे ८ बजेतिर घरमा आगो लागेको देखेपछि स्थानीयवासी र भैरवी प्रहरी चौकीबाट खटिएको टोलीले आगो निभाएकाे थियाे । आज आइतवार बिहान आगलागीको क्षतिको विवरण तयार गर्न लाग्दा घरधनी मृत अवस्थामा फेला परेका इलाका प्रहरी कार्यालय दुल्लूका इञ्चार्ज एवम् प्रहरी निरीक्षक कृष्ण डाँगीले बताउनुभयो ।

घरको भित्रपट्टिको कोठामा कम्मरमुनिको भाग ढुङ्गाले च्यापिएको र माथिको शरीर पहिचान गर्न मुस्किल पर्ने गरी जलेकाे अवस्थामा फेला परेको छ ।

जेठी छोरी सुनिताले पुस १८ गते बिहान आत्महत्या गरेको कुरा एक महिनाअघि भारतको गढवालमा रहँदा नरेशलाई खबर गरेपछि आफू नआउँदासम्म शव त्यस्तै राख्न भनेकाेमा प्रहरी मुचुल्का, अस्पतालमा पोस्टमार्टम र दाहसंस्कारसमेत त्यही दिन गरेको कुरामा नरेशको विमति थियो ।

आफू नआउँदासम्म छोरीको शव ‘त्यस्तै रहनदिनू’ भनेँ तर किन जलाएको ? अब सबैकाे ज्यान लिन्छु भनेर धम्काएका कारण शनिवार सुनिताको काजकिरिया सकिएलगत्तै श्रीमती सुना र छोराछोरी छिमेकी छुपाराम विककाे घरमा गएका बेला नरेश आफैँले घरमा आगो लगाएको र जलेर ज्यान गएको अनुमान गरेकाे भैरवी ४ का वडाध्यक्ष चक्रप्रसाद शर्माले बताउनुभयो ।

घर आउँदै गर्दा नरेशले बाटोबाट फोन गरेर ‘म नआउँदै लास किन जलायाैँ ? तिमीहरुलाई काट्छु’ भनेर धम्क्याए पनि काजकिरियाको काम चलिरहेको बेला शनिवार दिउँसो घरमा पुग्दा सामान्य अवस्थामा काजकिरियामा सहभागी भएका थिए । घरमा पुग्दा सामान्य अवस्थामा काजकिरियामा सहभागी भए पनि बेलुकी कुटपिट गर्लान् कि भन्ने डरले श्रीमति र छोराछोरी छिमेकीको घरमा गएको बेला नरेशले घरमा आगाे लगाएका हुन सक्ने वडाध्यक्ष शर्माले बताउनुभयो ।

श्रीमति र छोराछोरीलाई निरन्तर कुटपिट गरिरहने र फोन गरेर धम्की दिएकाे जानकारीका आधारमा नरेश आफैँले घरमा आगो लगाएको र केही सामान लिन जाँदा त्यही जलेको हुन सक्ने दुल्लूका प्रहरी निरीक्षक कृष्ण डाँगीले बताउनुभयो । नरेशले घरमा आगो लगाएर भागेको हुन सक्ने भन्ने प्रहरीमा जानकारी आएअनुसार खाेजी भइरहेकाेमा आज बिहान क्षतिको विवरण लिन लाग्दा जलेर ज्यान गएको अवस्थामा शव फेला परेकाे उहाँले सुनाउनुभयो ।

नरेशले श्रीमति र छोराछोरीलाई कुटपिट गरिरहने कारणले छोरीले आत्महत्या गरेको र यही घटनासँग जोडिएर घरमा आगजनी र ज्यान गएकाे कुरा प्रारम्भिक अनुसन्धानबाट खुलेको र थप अनुसन्धान चलिरहेको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया