ओलीप्रति लक्षित गर्दै माधव नेपालकाे टिप्पणी– ‘यो गिरिजाको समयको नेपाल होइन’

 पुस २६, २०७९ मंगलबार १६:८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति इङ्गित गर्दै संसद् विघटन प्रधानमन्त्रीले लहडको भरमा गर्न नमिल्ने बताउनुभएको छ । उहाँले प्रतिनिधि सभा विघटन प्रतिगामी थियो भन्ने महसुस अध्यक्ष ओलीले गर्नुभएको होला भन्ने सोचे पनि अझै आत्मालोचना हुन नसकेको बताउनुभएको हो । 

मङ्गलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष नेपालले ओलीले प्रतिनिधि सभा विघटन गर्न पाइन्छ भनिरहेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले प्रतिनिधि सभा विघटन गर्न नपाउने भन्दै सरकारलाई प्रतिनिधि सभा विघटन गर्ने कुरामा नलाग्न सचेत गराउनुभयो । उहाँले अध्यक्ष ओलीप्रति लक्षित गर्दै विदेशको कुरा ल्याएर संसदमा नअल्झाउन आग्रह गर्नुभयो । अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि विश्वासको मत दिने भनिसकेपछि आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त गर्नुपर्ने हतारो छ, हतार गरेर केही हुँदैन । प्रमुख प्रतिपक्ष दलले नै विश्वासको मत दिने भनेपछि अब झस्किनुपर्ने केही छैन । हामीले आशा गरेकै व्यक्ति प्रधानमन्त्री बनेपछि आत्तिनुपर्ने आवश्यकता छैन । तर ख्याल गर्नुपर्छ, संविधानप्रतिको प्रतिबद्धता छ कि छैन, शङ्का गर्नुपर्ने कुरा त्यहाँ छ । किनभने यही रोस्ट्रममा मैले संसद् विघटन गर्न पाइन्छ भनेकाे सुनेँ । यो गठबन्धनको याे हो भने खतरनाक सङ्केत हो । के यो ब्रिटेन हो, भारत हो, पुरानो नेपाल हो ? गिरिजाप्रसाद कोइराला नेतृत्वको २०५१ सालको सरकार हो ?  २०५८ सालको शेरबहादुर देउवा नेतृत्वको सरकार हो ? होइन, ख्याल के होस् भन्दा राणाकालमा पनि २००५ सालमा, २००७, २०१९, २०४७ सालमा संविधान बन्यो, २०४७ मा त म आफैँ संलग्न छु । विगतका त्रुटि नदाेहाेर्‍याउने प्रतिबद्धता गरेका छौँ । हेक्का रहोस्, प्रधानमन्त्रीले जथाभाबी प्रतिनिधि सभा विघटन गर्न पाउँदैनन् ख्याल होस् । संविधानले आफूखुसी संसद् विघटन गर्ने अधिकार दिएको छैन ।’ 

अध्यक्ष नेपालले अर्को सरकार विकल्प हुन्जेलसम्म कसैको लहडको भरमा प्रतिनिधि सभा विघटन गर्न नपाउने बताउनुभयाे ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया