प्रधानमन्त्रीसहित चार वटै सुरक्षा निकायका प्रमुख बुधवार गोरखा आउँदै

 पुस २६, २०७९ मंगलबार १९:५९:० | किरण लोहनी
unn.prixa.net

फाइल फाेटाे

गाेरखा – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित चार वटै सुरक्षा निकायका प्रमुख बुधवार गोरखामा आउने भएका छन् । प्रधानमन्त्री दाहाल बुधवारदेखि सुरु हुने ११ औँ गोरखा महोत्सवको उद्घाटन गर्न आउन लाग्नुभएको हो । 

यस्तै ३०१ औँ पृथ्वी जयन्तीको अवसरमा सदरमुकामको ठूलो आँगनमा निर्माण गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण तथा 'राष्ट्र निर्माता सलामी' शुभारम्भ गर्न नेपाली सेनाका प्रमुख प्रभुराम शर्मा पनि गोरखा आउन लाग्नुभएको हो । उहाँका साथमा सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख एवम् मुख्य अनुसन्धान निर्देशक हुत्तराज थापा पनि सहभागी हुने प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताउनुभयो । 

गाेरखाकाे ठूलाे आँगन

प्रधानमन्त्री प्रचण्ड महोत्सव उद्घाटनका लागि उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसहित दिउँसो १२ देखि १ बजेको समयमा हेलिकप्टरमार्फत आइपुग्ने प्रजिअ आचार्यकाे भनाइ छ । सुरक्षा निकायका प्रमुखहरू भने दिउँसो ३ बजे हुने सालिक अनावरण कार्यक्रमका लागि त्यसको झन्डै एक घण्टाअघि हेलिकप्टरबाटै गोरखा सदरमुकाम आइपुग्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । 

प्रधानमन्त्रीसहितका सुरक्षा प्रमुख आउने भएकाले गोरखामा मंगलवारदेखि नै सुरक्षा सतर्कता बढाइएको छ । बुधवार महोत्सव उद्घाटन कार्यक्रम हुने हरमटारी खेलकुद मैदान आसपास र सालिक निर्माण गरिएको आसपासको क्षेत्रमा सवारी साधन आवतजावतमा रोक लगाइएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया