नेपाली सेनाका गजेन्द्र राई बने एघारौं 'म्यान अफ द गोरखा'

 पुस २७, २०७९ बुधबार १२:४:५० | किरण लोहनी
unn.prixa.net

गाेरखा – नेपाली सेनाका गजेन्द्र राई यो वर्षको 'म्यान अफ द गोरखा' बन्नुभएको छ । एघारौं गोरखा महोत्सवका क्रममा भएको दौड प्रतियोगितामा पहिलो हुनुभएका त्रिभुवन आर्मी क्लबका राईले ३० हजार रुपैयाँ पुरस्कारसहित म्यान अफ द गोरखा उपाधि जित्नुभएको छ ।

द्रव्य शाहले राज्याभिषेक गरेको ऐतिहासिक पस्लाङ चौताराबाट गोरखा दरबारसम्म भएको ८ किलोमिटर दूरी राईले ३० मिनेट ७ सेकेण्डमा दौडनुभएको थियो । उपाधी विजेता राईलाई ऐतिहासिक पोशाकसहित गोरखा बजार परिक्रमा गराइएको थियो । यस्तै उहाँलाई जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापाले पगरी लगाई सम्मान पनि गर्नुभयो ।

यस्तै नेपाली सेनाकै मोहनदेव जोशीले ३० मिनेट ५७ सेकेण्डमा पूरा गरेर दोस्रो हुँदै २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो । दौडमा तेस्रो स्थान पनि नेपाली सेनाकै टंक कार्कीले प्राप्त गर्नुभयो । कार्कीले निर्धारित दूरी ३१ मिनेट १४ सेकेण्डमा पार गर्दै १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो । चौंथो हुनुभएका राजेन्द्र तामाङले ५ हजार रुपैयाँ  पुरस्कार प्राप्त गर्नुभयो ।

दौड प्रतियोगितामा १६ जनाको सहभागिता रहेको प्रतियोगिताका संयोजक चन्दनबाबु खत्रीले बताउनुभयो । गोरखा उद्योग वाणिज्य संघले गोरखा महोत्सवका क्रममा हरेक पटक म्यान अफ द गोरखा दौड प्रतियोगिता गर्दै आएको छ । पृथ्वी जयन्तीको अवसर पारेर गोरखा उद्योग वाणिज्य संघले एघारौं गोरखा महोत्सव गरेको हो । महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुहुनेछ ।

 

अन्तिम अपडेट: चैत १४, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया