विनाविभागीय मन्त्री भन्छन् -'जिम्मेवारी नपाए पनि हामी व्यस्त नै छौँ'

 पुस २८, २०७९ बिहिबार १३:८:५९ | वैद्यनाथ पाैडेल
unn.prixa.net

काठमाण्डाै - जिम्मेवारी नपाएपछि चार मन्त्री अलमलमा परेका छन् । शपथ ग्रहण गरेको १७ दिनसम्म पनि उनीहरुको कुनै जिम्मेवारी तोकिएको छैन । गएको ११ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ खाएका उनीहरुले अहिलेसम्म कुनै जिम्मेवारी पाउन सकेका छैनन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गएको मङ्गलवार २६ गते विश्वासको मत लिएपछि जिम्मेवारी दिने भनिए पनि आजसम्म बाँडफाँट भएको छैन । शक्ति बाँडफाँट पेचिलो बन्दा  मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । 

एमालेबाट मन्त्री भएका ज्वालाकुमारी शाह, राजेन्द्र राई, दामोदर भण्डारी तथा जनमत पार्टीबाट मन्त्री बनेका अब्दुल खान विनाविभागीय हुनुहुन्छ । कामको जिम्मेवारी नपाएपछि उनीहरुको दिनचर्या कार्यकर्ता भेटघाटमै बित्ने गरेको छ । तर, पनि आफूहरु व्यस्त नै हुने गरेको उनीहरु बताउँछन् । 

ज्वालाकुमारी शाह 

जनता समाजवादी पार्टी (जसपा) का रामबाबुकुमार यादवलाई पराजित गर्दै बारा क्षेत्र नम्बर ३ बाट विजयी हुनु भएको शाह एमालेको पोलिटब्युराे सदस्य हुनुहुन्छ । सांसद हुँदा, नहुँदा तथा अन्य समयमा पनि आफू पार्टी तथा अन्य सामाजिक सेवामा व्यस्त हुने हुँदा अहिले मन्त्री भएर जिम्मेवारी नतोकिए पनि व्यस्त नै रहेको उहाँ बताउनुहुन्छ  । 

उहाँ भन्नुहुन्छ, ‘मेरो दिनचर्या व्यस्त भएरै बितेको छ । बैठक, प्रशिक्षण तथा निर्वाचन क्षेत्रका काममा व्यस्त छु ।’ उहाँ मन्त्री भएपछि एक हप्ता जनकपुर, बारा तथा महोत्तरीको भ्रमण सकाएर आउनु भएको छ ।  मन्त्रालयको जिम्मेवारीको सन्दर्भमा यो र यस्तो मन्त्रालय भन्ने उहाँको रोजाइ छैन । शाह भन्नुहुन्छ, ‘मेरो त्यस्तो रोजाइ भन्ने छैन । जिम्मेवारी दिएको कुनै पनि मन्त्रालयमा जान तयार छु ।’

राजेन्द्रकुमार राई 

धनकुटा क्षेत्र नम्बर १ बाट कांग्रेसका सुनिलकुमार थापालाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका राई पनि अहिले पार्टीको बैठक तथा कार्यकर्तासँगको भेटघाटमा व्यस्त रहेको बताउनुहुन्छ । 

मन्त्रालयको जिम्मेवारी नतोक्दा मन्त्रालयसँग सम्बन्धित व्यस्तता मात्र नरहेको तर, पार्टीका अन्य जिम्मेवारी र काममा व्यस्त रहेको राई बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘मन्त्रालयगत व्यस्तता छैन । तर, पार्टीलगायत अन्य व्यस्तता छँदैछ ।’

पार्टीले जुन मन्त्रालयको जिम्मेवारी दिए पनि राम्रोसँग काम गर्ने र परिणाम निकाल्ने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘जुन मन्त्रालय दिए पनि कार्य सम्पादन गर्न सक्ने र परिणाम निकाल्न सक्ने भएकोले जुन दिए पनि हुन्छ भनेको छु ।’

अब्दुल खान 

जनमत पार्टीले समानुपातिकतर्फबाट सांसद बनाएको अब्दुल खान पनि अहिलेको मन्त्रिपरिषदमा विनाविभागीय मन्त्री हुनुहुन्छ । पार्टी कार्यालय तथा कार्यकर्तासँगको भेटघाटमा दिन बितिरहेको छ । उहाँ भन्नुहुन्छ, ‘कार्यालय नतोकिएकोले पार्टी कार्यालय, संसदीय दल तथा कार्यकर्तासँग भेटघाट गरेर समय बितिरहेको छ ।’

उहाँको रुचि तथा पार्टीसँगको सहमति पनि उद्योग मन्त्रालयमा भएको हुनाले यसैसँग सम्बन्धित जिम्मेवारी प्राप्त हुने र काम गरेर देखाउने पनि उहाँको विश्वास छ । गएको १० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नु भएको थियो ।

मन्त्रिपरिषदमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीको जिम्मेवारी विष्णु पौडेलले सम्हाल्नु भएको छ । यस्तै, उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा रवि लामिछाने हुनुहुन्छ । बाँकी मन्त्रालय प्रचण्ड आफैँले राख्नु भएको छ ।

अन्तिम अपडेट: चैत २२, २०८०

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया