मानवीय क्षतिका हिसाबले नेपालको हवाई क्षेत्रका ठूला दुर्घटनाहरु

 माघ १, २०७९ आइतबार १९:३:२० | वैद्यनाथ पाैडेल
unn.prixa.net

आज (माघ १ गते) आइतवार पोखरा जाँदै गरेको यति एअरको विमान दुर्घटनामा परेर विमानमा सवार ७२ जना यात्रुमध्ये ६८ जनाको निधन भएको पुष्टि भएको छ । मानवीय क्षतिका हिसाबले यो सबैभन्दा ठूलो आन्तरिक हवाई दुर्घटना हो भने आन्तरिकतर्फ ५० औँ दुर्घटना हो । योसँगै नेपालमा हवाई दुर्घटनाको संख्या १ सय ४ पुगेको छ ।

आठ महिनाअघि मात्रै गएको जेठ १५ गते तारा एयरको पोखराबाट जोमसोमका लागि उडेको जहाज दुर्घटना भएको थियो जसमा १९ जना यात्रु र चालकदलका ३ सदस्य गरी २२ जनाको ज्यान गएको थियो । 
त्यस्तै चार वर्ष अघि २०७५ साल फागुन १५ गते एयर डाइनेष्टीको हेलिकप्टर ताप्लेजुङको फुङलिङ नगरपालिका १० को तारेढुंगा भीरमा दुर्घटना भएको थियो । त्यस दुर्घटनामा तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ लगायत ७ जनाले ज्यान गुमाए ।

हवाई दुर्घटनाको कुरा गर्दा आजभन्दा ३० वर्ष अगाडि विसं २०४९ साल असोज १२ गते ललितपुरको भट्टेडाँडामा भएको दुर्घटनालाई सबैभन्दा धेरै मानवीय क्षति भएको दुर्घटना हो । जसमा पाकिस्तानबाट नेपाल आउँदै गरेको पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको विमान दुर्घटनामा ३६ जना नेपाली नागरिकसहित सबै १ सय ६७ जना यात्रीहरुले ज्यान गुमाएका थिए ।

साल फरक भए पनि संयोग नै मान्नुपर्छ असोज १२ गते यस्तै अर्को दुर्घटना भयो । तर, यो भने २०६९ सालको कुरा हो । भक्तपुरको मनोहरा फाँटमा सीता एयरलाइन्सको विमान दुर्घटना भएको थियो ।

ठूला हवाई दुर्घटनाको कुरा गर्दा ललितपुरको भट्टेडाँडापछि विसं २०४८ सालमा रसुवा जिल्लाको घ्याङफेदीमा भएको हवाई दुर्घटनालाई अर्को ठूलो दुर्घटना हो । त्यस दुर्घटनामा थाई एयरवेजको विमानमा सवार १ सय १३ जनाको ज्यान गएको थियो ।

मानवीय क्षतिका हिसाबले २०७४ साल फागुन २८ गते भएको विमान दुर्घटना पनि ठूलो हो । बंगलादेशको ढाकाबाट नेपालका लागि आएको युएस बंगला ७३८ एयर क्राफ्ट विमान अवतरणको क्रममा रनवेमा नै दुर्घटनाग्रस्त भएको थियो ।

विमानमा चालक दलका ४ सदस्यसहित ७१ जना यात्री  रहेकामा ५१ जना यात्रीहरुको दुःखद निधन भएको थियो । घटनामा केहीलाई घटनास्थलबाट जिवितै उद्धार पनि गरिएको थियो ।

सन् २००६ मा ताप्लेजुङमा भएको श्री एयरलाइन्सको हेलिकोप्टर दुर्घटना पनि मानवीय क्षतिका हिसाबमा ठूलो हो । हेलिकोप्टरमा भएको यो सबैभन्दा ठूलो मानवीय क्षति हो । जसमा २४ जनाले ज्यान गुमाएका थिए । यस दुर्घटनामा तत्कालीन वनमन्त्री गोपाल राई, योजनाविद् हर्क गुरुङ लगायत २४ जना वातावरण तथा अन्य क्षेत्रका विज्ञहरुको निधन भएको थियो ।

ठूला दुर्घटनाको कुरा गर्दा २०६५ साल असोज २२ गते सोलुखुम्बु जिल्लाको लुक्लामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा १८ जना यात्रीले ज्यान गुमाए ।

त्यसैगरी २०६७ सालको भदौ ८ गते मकवानपुर जिल्लाको शिखरपुरको तोरीबारीमा भएको अग्नी एयरको विमान दुर्घटनामा १४ जनाले ज्यान गुमाए ।

२०६७ साल मंसिर २९ गते ओखलढुङ्गामा भएको तारा एयरको विमान दुर्घटनामा २२ जना यात्रीहरुले ज्यान गुमाए भने २०६८ असोज ८ गते ललितपुरको कोटडाँडामा भएको बुद्ध एयरको विमान दुर्घटनामा १९ जनाले ज्यान गुमाएका थिए ।

त्यस्तै ०६८ सालकै कार्तिक १ गते नेपालगञ्जबाट काठमाण्डौ आउँदै गरेको नेपाली सेनाको विमान दुर्घटनामा ६ जनाले ज्यान गुमाए ।

२०६९ जेठ १ गते जोमसोममा भएको अग्नी एयरको विमान दुर्घटनामा १५ जनाले ज्यान गुमाए । ०६९ असोज १२ गते सीता एयरको काठमाण्डौको मनोहरा खोलामा भएको विमान दुर्घटनामा १९ जनाले ज्यान गुमाए ।

यसैगरी २०७० साल फागुन ४ गते अर्घाखाँची जिल्लामा भएको नेपाल वायुसेवा निगमको विमान दुर्घटनामा १८ जनाले ज्यान गुमाए ।

२०७२ फागुन १२ गते म्याग्दीमा भएको तारा एयरको विमान दुर्घटना २३ जना यात्रीहरुले ज्यान गुमाए । मानवीय क्षतिका हिसाबले साना भनिने दुर्घटना पनि यस बीचमा धेरै भएका छन् ।

विसं २००६ सालदेखि हवाई उडान सुरु भएको नेपालमा अहिलेसम्म १ सय ४ वटा विमान दुर्घटना भएका छन् । अहिलेसम्म गरेर आठ सय बढीले हवाई यात्राका कारण ज्यान गुमाएका छन् ।

विसं २०१२ सालमा नेपालमा पहिलो विमान दुर्घटना भएको थियो । कालिंगा एयरको यस विमान दुर्घटनामा २ जनाको ज्यान गएको थियो भने विसं २०१३ साल जेठ १३ मा इन्डियन एयरलाइन्सको विमान दुर्घटनामा १४ जना यात्रीले ज्यान गुमाएका थिए ।

हरेक पटक दुर्घटनापश्चात छानबिन समिति गठन हुने गर्छ । यस पटक पनि दुर्घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरिएको छ । भौगोलिक अवस्था, खराब मौसम, विमान चरासँग ठोक्किनु, प्राविधिक तथा मानवीय कारणले दुर्घटना हुने गरेको विज्ञहरु बताउँछन् ।

तर, दुर्घटनापछि गठन हुने छानबिन समितिको प्रतिवेदनमा धेरैजसो मानवीय दुर्घटनाका कारण भनेर चालकलाई दोष दिएर प्रतिवेदन पेस गर्ने गरिएकाेमा साँच्चै कारण पत्ता लगाउन तथा दुर्घटना न्युनीकरण गर्न भने विज्ञ टोली राखेर छानबिन समिति गठन गर्नुपर्ने र सम्भावित कारणका बारे बेलैमा सचेत रहेर दुर्घटना हुन नदिन प्रयास गर्नुपर्ने पनि विज्ञहरुको राय छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया