मन्त्रिपरिषद् विस्तारसँगै सिंहदरबारमा चहलपहल, बधाई र शुभकामना दिनेहरुको भिड

 माघ ५, २०७९ बिहिबार ११:१८:२३ | वैद्यनाथ पाैडेल
unn.prixa.net

देशको सङ्घीय राजधानी काठमाण्डौको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार त्यसै पनि चहलपहल भैरहने ठाउँ हो । स्वास्थ्य तथा जनसंख्या बाहेकका अरु सबै मन्त्रालय सिंहदरबार भित्रै छ । रेडियो नेपाल, नेपाल टेलिभिजन, संघीय संसदको सचिवालयलगायत अरु कार्यालयहरु पनि रहेकाले कर्मचारी र सेवाग्राहीको दिनहुँजसो भिड हुन्छ । तर, यही सिंहदरबार केही दिनअघि सुनसान जस्तै थियो । सुनसान यस अर्थमा कि त्यहाँ मन्त्रालयहरुमा दैनिक कार्यसम्पादन त हुन्थे तर, मन्त्रिपरिषद् विस्तार र भएका मन्त्रीहरुको पनि कार्यभार नतोकिँदा त्यहाँ नागरिकहरुसँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालयसँग सम्बन्धित काम तथा मन्त्रीहरुलाई भेट्न आउनेहरुको चहलपहल थिएन ।

गएको पुस १० गते नयाँ सरकार गठन भयो । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुनुभयो । प्रधानमन्त्रीसँगै अन्य सात जना मन्त्री पनि नियुक्त भए । गृह, अर्थ र भौतिक पूर्वाधार मन्त्रालयमा नयाँ मन्त्रीले काम थाले । बाँकी चार जना मन्त्रीले मन्त्रालयले पाएनन् अर्थात विना विभागीयको रुपमा बस्नुपर्यो । प्रधानमन्त्री दाहाल, गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री विष्णु पौडेल मन्त्रालयको कामको सिलसिलामा सिंहदरबारमा रहनुभयो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ कहिलेकाहीँ मात्रै मन्त्रालय पुग्नुभयो । धेरै मन्त्रालयमा मन्त्री नभएका र भएका मन्त्रालयमा पनि कम समय मात्रै मन्त्री जाने भएकाले सिंहदरबारमा जुन चहलपहल हुनुपर्ने हो त्यो भएन ।

तर, मङ्गलवार मन्त्रिपरिषदको विस्तारसँगै सिंहदरबारमा चहलपहल बढेको छ । अघिल्लो दिनसम्म सिंहदरबार छिर्नका लागि खासै भिड नदेखिने दक्षिण गेटसँगै रहेको चिट काट्ने ठाउँमा बुधबार एक्कासी भिड बढ्यो ।

सिंहदरबारको दक्षिण गेटबाट भित्र छिर्ने बित्तिकै पहिलो लहरमा छ कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय । मन्त्रालयमा गाडीको चहलपहल छ । तर, मानिसको खासै चहलपहल देखिँदैन कारण मन्त्रालयमा मन्त्रीको उपस्थिति छैन ।

तर, सँगै रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भने गाडीको चहलपहल पनि उत्तिकै छ । मन्त्रालय अगाडिको ढोकैमा मन्त्रीको गाडी पार्किङमा छ । साथै सचिव तथा प्रदेशका मन्त्री तथा अन्य सरकारी गाडीहरुले पार्किङ स्थल भरिभराउ छ । मानिसको चहलपहल पनि छ । मन्त्रीको कार्यकक्ष जाने बाटोमा रहेको नेमप्लेटमा मन्त्री भित्र भन्ने लेखिएको छ । मन्त्रीको कार्यकक्ष बाहिर बधाई तथा शुभकामना दिनेहरु छन्, केहीले माला तथा खादा रहेको झोला बोकेका छन् । तर, मन्त्रीलाई सचिवले ब्रिफिङ गरिरहेकाले उनीहरुले शुभकामना र बधाई दिन पाएका छैनन् ।

केहीबेरपछि मन्त्रिपरिषदको बैठक भएको भन्ने सूचना आएपछि बधाई दिन नपाइने हो कि भन्ने चिन्तामा हुनुहुन्छ सुनसरीका केशव भट्टराई । खासै कुनै व्यक्तिगत काम नभए पनि काठमाण्डौमा नै भएका कारण अहिले बधाई मात्र दिन आएको बताउनुहुन्छ भट्टराई । उहाँ भन्नुहुन्छ, ‘काम त केही होइन, छैन । यतै काठमाण्डौमै भएका कारण मौकाले जुरेको हुनाले यसो भेटेर बधाई दिन मात्र खोजेको हो, खोइ भेट भएन ।’

थोरै समय कुर्ने र त्यसपछि पनि भेट नभए जाने विचार छ उहाँको । उहाँ भन्नुहुन्छ, ‘हामीले धेरै डिस्टर्ब पनि गर्नुहुन्न उहाँलाई । काम गर्न दिनुपर्छ ।’

मन्त्रालयमा कार्यरत चालक कृष्ण देसार पनि नयाँ मन्त्री आएपछि चहलपहल बढेको बताउनुहुन्छ । मन्त्री नहुँदा खासै मान्छेहरु पनि नआउने तथा गाडीहरु पनि नहुने उहाँको अनुभव छ । देसार भन्नुहुन्छ, ‘अस्तिसम्म यहाँ खासै मान्छे पनि हुँदैन थिए । गाडी पनि थिएन । अहिले नयाँ मन्त्री आएसँगै मान्छेको भिड पनि बढेको छ । गाडी पनि पार्किङ गर्ने ठाउँ छैन ।’

तर मन्त्रिपरिषद विस्तारपछि पनि मन्त्री नियुक्त नभएका युवा तथा खेलकुद र वन मन्त्रालयमा भने अरु मन्त्रालयमा देखिएको जस्तो चहलपहल छैन । यहाँ मानिसको आउजाउ अनि भिडभाड छैन । पार्किङ पनि भरिभराउ छैन । प्रधानमन्त्री आफैँले राखे पनि उहाँ मन्त्रीकोरुपमा मन्त्रालयमा नआउने हुँदा पनि आम मानिसको चासो यी मन्त्रालयहरुमा देखिँदैन ।

यी दुई मन्त्रालय बाहेक सिंहदरबार भित्रका अरु सबै मन्त्रालयमा चहलपहल बढेको छ । धेरैजना मन्त्रीलाई बधाई र शुभकामना दिन पुगेका छन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया