अत्यधिक चिसोका कारण सोलुखुम्बुका १ सय १० विद्यालय बन्द

 माघ ६, २०७९ शुक्रबार १६:२:४ | सुवास दर्नाल
unn.prixa.net

साेलुखुम्बु - साेलुखुम्बुका एक सय १० सामुदायिक विद्यालय बन्द भएका छन् । अत्यधिक चिसोका कारण जिल्लाका दुई सय ६८ सामुदायिक विद्यालयमध्ये एक सय सय १० बन्द भएका हुन् । 

आठ पालिका रहेको जिल्लाको सोताङ गाउँपालिकाबाहेक अन्य सबै पालिकाका प्रायजसाे विद्यालय बन्द छन् । खुम्बु पासाङल्हामु गाउँपालिकामा रहेका १७ विद्यालयमध्ये १४ बन्द छन् भने सोलुदूधकुण्ड नगरपालिकाका ६२ विद्यालयमध्ये ५८ बन्द रहेको शिक्षा शाखा संयोजक सन्तोषकुमार राउतले बताउनुभयो । 

खुम्बुमा पुस दोस्रो हप्तादेखि ४० दिनसम्मका लागि विद्यालय बन्द गरेको खुम्बुका गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले बताउनुभयो । नगरपालिकाभित्रका विद्यालय यही माघ २५ गतेपछि मात्रै खुल्ने जनाइएको छ । थुलुङदूधकोसी गाउँपालिकाका ५२ विद्यालयमध्ये १२ बन्द रहेको पालिकाका प्रवक्ता भोजराज कार्कीले बताउनुभयो । 

यस्तै महाकुलुङ गाउँपालिकाका २० मध्ये सात विद्यालय बन्द रहेको पालिकाका शिक्षा शाखा संयोजक झमक कटवालको भनाइ छ । लिखुपिके गाउँपालिकाका २२ विद्यालयमध्ये सात बन्द रहेको शिक्षा शाखाप्रमुख गोमादेवी खड्काले बताउनुभयो । 

नेचासल्यान गाउँपालिका उपाध्यक्ष विना राईका अनुसार पालिकाभित्र रहेका ३४ मध्ये तीन विद्यालय बन्द छन् । माप्यदूधकोसी गाउँपालिकाका ३९ मध्ये चार विद्यालय बन्द छन् । 

हिमाली भेगमा चिसो अत्यधिक हुने भएको धेरैजसो विद्यालयले प्रत्येक वर्ष पुस÷माघमा जाडो बिदा दिने गरेका छन् भने केहीले बर्खे बिदा दिने गरेको शिक्षा विकास तथा समन्वय एकाइ सोलुखुम्बुका प्रमुख खगेन्द्र श्रेष्ठले बताउनुभयो। 
 

अन्तिम अपडेट: चैत १५, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया