बँदेललाई थापेको पासोमा परेर चितुवा मर्‍याे

 माघ ९, २०७९ सोमबार १९:३०:२१ | अमर सुनार
unn.prixa.net

दैलेख – बँदेललाई थापेको पासोमा परेर चितुवाको मरेको छ । दुल्लु नगरपालिका–९ चिसापानीमा बँदेललाई थापेको पासोमा परेको चितुवा उद्धार गरेर दैलेख सदरमुकाम ल्याउदै गर्दा श्रीस्थानमा मरेको डिभिजन वन कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख वेदप्रसाद ढकालले जानकारी दिनुभयो ।

बँदेलका लागी थापेको पासोमा परेर चितुवा घाइते भएको भन्ने आइतवार बिहान खबर प्राप्त भएपछि बर्दिया राष्ट्रिय निकुञ्जका पशुचिकित्सक डा. चित्र खड्काको टोलीले घटनास्थलबाट उद्धार गरेको ढकालले बताउनुभयो ।

‘उद्दार गरिएको चितुवा बर्दिया राष्ट्रिय निकुञ्ज लैजान गाडीमा आउदै थियौँ बाटैमा मर्‍याे । पशु अस्पतालमा पोष्टमार्टम गर्न लगाइयो,’ बर्दिया राष्ट्रिय निकुञ्जका पशुचिकित्सक डा. चित्र खड्काले भन्नुभयो ।

बँदेललाई थापेको पासोमा परेपछि चितुवा भाग्न खोज्दा डोरीले कसिएर पछाडिको भाग नचल्ने भएको र त्यही दुखाइले चितुवा मरेको पशु चिकित्सक डा. खड्काले बताउनुभयो ।

उपचार गर्न खोजिएको चितुवा बाटैमा मरेको कारण राष्ट्रिय आखेटोपहार चितवनमा पठाउनका लागि मृत चितुवाको छाला काढेको र भित्री शरीर पशु अस्पताल दैलेखको हातामा गाडिएको डिभिजन वन कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख वेदप्रसाद ढकालले जानकारी दिनुभयो ।

दुल्लु नगरपालिका–९ पादुवा क्षेत्रमा बँदेलले अन्नबाली र सागपात नोक्सानी थालेपछिको कुरा डिभिजन वन कार्यालयलाई खबर गरे पनि त्यस क्षेत्रमा बँदेललाई पासो थाप्ने गरिएको स्थानीयको भनाइ छ ।

अन्तिम अपडेट: चैत १, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया