गोली खाएका आशावादी पुजारी 'आशाकाजी'

 माघ १३, २०७९ शुक्रबार ९:४७:२४ | कुमार रञ्जित
unn.prixa.net

६३ वर्षीय आशाकाजी महर्जनलाई तीन दशक र दश महिनाअघि लागेको गोलीको घाउ अझै दुखिरहेको छ । पेटको तल्लो भागबाट अण्डकोष छेडेर गएको गोली पछाडि नितम्बबाट निस्किँदा त्यति दुखेको थिएन, जति अहिले सम्झिँदा दुख्ने गरेको छ । 

काठमाण्डाै महानगरपालिका वडा नम्बर २३ अन्तर्गत ॐबहाल टोलमा अवस्थित जोरगणेश मन्दिरका पुजारी गुथिका सदस्यमध्ये एक आशाकाजी नियमित बिहान ५ बजे नै मन्दिर पुग्नुहुन्छ, सरसफाइ गर्नुहुन्छ र दर्शनका लागि आउने भक्तजनलाई फूल–प्रसाद दिनु हुन्छ । गोलीले जीर्ण बनाएको शरीर लिएर पनि उहाँ सक्रियतापूर्वक घर–परिवार, तरकारी पसल, गणेश मन्दिर लगायतका ठाउँमा आफ्ना दायित्व पूरा गर्दै हुनुहुन्छ ।    

देशमा पञ्चायती व्यवस्थाको अन्त्य भएपछि भर्खरै बहुदलीय प्रजातान्त्रिक व्यवस्था अन्तर्गत प्रथम आम निर्वाचन सम्पन्न भएर गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा बहुमत प्राप्त नेपाली कांग्रेसको सरकारले गति लिन लागेको थियो । त्यही बेला “स्थायी सरकार” भनिने कर्मचारी प्रशासन यन्त्रले आफ्नो केही जायज माग राख्दै सडकमै उत्रेर आन्दोलन सुरु गर्यो ।

बहुमतको दम्भ प्रदर्शन गर्दै कोइराला नेतृत्वको सरकारले छानीछानी आन्दोलनकारी कर्मचारीहरुलाई कारबाही गर्न थाल्यो । त्यस्तैमा नागरिकका जल्दोबल्दो जनजीविकासित सम्बन्धित मागहरु राखेर तत्कालीन संसदमा तेस्रो ठूलो दलका रुपमा चिनिएको संयुक्त जनमोर्चा (संजमो) पनि आन्दोलन थाल्यो । त्यसको नेतृत्व तत्कालीन नेकपा (चौथो महाधिवेशन) का नेता निर्मल लामा र संजमोका संयोजक डा. बाबुराम भट्टराईले गर्नुभएको थियो । 

चैत्र महिनालाई नेपालमा आन्दोलन उत्कर्ष र निर्णायक चरणमा पुग्ने महिना भन्ने गरिएको छ । पञ्चायती व्यवस्थाको अन्त्य पनि त्यसै महिनामा भएको थियो । २०४८ सालको चैत्र २४ गते आन्दोलन चरम उत्कर्षमा पुगेको थियो । काठमाण्डाै नगरको वीर अस्पताल, नयाँ सडक हुँदै प्रहरीले आन्दोलनकारीहरुलाई लेखेट्दै दिउँसाेको समयमा ॐबहाल प्रवेश गर्छ । घर अगाडि चोकमै रहेको पसल सामुन्ने काकाका छोरा भाइका साथ उभिरहेका आशाकाजीलाई खाजा खान घरबाट माथि बोलाइएको थियो ।

“एकछिन पर्ख” भन्दै उभिएका उनले नयाँसडकतिर होहल्ला भएको सुनिए पनि त्यसलाई सामान्य “परेवा उडेको” रुपमा मात्रै लिएको बताउनु हुन्छ । त्यस्तैमा एक्कासी नयाँ सडक, दफ्तरतिरबाट आएको प्रहरीको समूहबीचबाट हानिएको एउटा गोलीले “छुस्स” लागेको महसुस भएको उहाँ बताउनु हुन्छ । आशाकाजीलाई लागेको गोली उहाँको पछाडिबाट निस्किएर पनि सँगै उभिएका एक १४ वर्षीय महेश नामका केटालाई लागेको रहेछ । उनलाई पनि अगाडि पिसाब थैली छेडेर गएको गोलीले लडाएको रहेछ । 

“सुरुमा त दुखेको जस्तो लागेको थिएन, एकछिनपछि धेरै रगत बगेर आफैँ लड्न पुगेपछि टोलकै दाजुहरुले तानेर मलाई घर छेउमा लगियो” सम्झिँदै उहाँ भन्नुहुन्छ, “केही बेर मलाई घरछेउमै सुताएर राखियो, पछि टोल–छिमेका दाजुभाइहरु आएर नजिकको वीर अस्पताल लगियो । त्यतिबेला भने बाटोमा पहराका लागि बसेका प्रहरीहरुले रोकेनन्” आशाकाजी सम्झिनु हुन्छ । 

रगत बगेकै अवस्थामा वीर अस्पताल पुर्याइएका आशाकाजीलाई त्यहाँ कोलाहलपूर्ण अवस्थामा हतार–हतार एक कुनामा सुताइन्छ । त्यहाँ गोली लागेका लगायत अन्य घाइतेहरु अरु पनि थुप्रै पुर्याइएका थिए । वातावरण अस्त–व्यस्त थियो । अस्पताल बाहिर प्रहरीको लखेटाइबाट बचेर भागेका आन्दोलनकारीहरु पनि सुरक्षित ठाउँ खोज्दै अस्पतालभित्रै छिरेका थिए । डाक्टर, नर्स लगायत अन्य स्वास्थ्यकर्मीहरु घाइतेलाई सेवा दिँदै अत्यन्तै व्यस्त र तनावमा थिए । केही पत्रकार र फोटोग्राफरहरु पनि इमर्जेन्सीमा घाइतेका अवस्था हेर्न पुगेका थिए । अति संवेदनशील अङ्गमा गोली लागेर अशक्त हुँदै गएका आशाकाजीको अवस्था चिन्ताजनक हुँदै गएपछि डाक्टरहरुले अवस्था बुझेर पाटन अस्पताल लान सुझाव दिन्छन् । “पाटन अस्पताल जान्छौँ ?” कसैले सोध्छ, जवाफमा आशाकाजीले “हुन्छ” भनेपछि त्यहीँबाट पाटन अस्पताल पुर्याइन्छ।

पाटन अस्पताल पुर्याउँदासम्म पनि सुस्त होशमा भएका आशाकाजीलाई त्यहाँ इञ्जेक्सन दिएर बेहोस बनाएर उपचार सुरु गरिन्छ । उपचारका क्रममा रहेका उनलाई पन्ध्र दिन त बेहोस नै तुल्याएर शल्यक्रिया गरिन्छ । त्यसपछिका दिनमा पनि उहाँले शल्यक्रिया गर्दा भएका घाउ निको पार्न झण्डै डेढ महिना अस्पतालको बेडमा बिताउनु भयो । त्यसक्रममा अस्पतालले निःशुल्क औषधोपचार र शल्यक्रिया गरिदियो । सयौँ ठूला–बडा नेता तथा चिन्ने र नचिन्नेहरुले हेर्न आए । त्यस क्रममा आशाकाजीका वृद्ध बुबाका साथै श्रीमती मायादेवीले खानुसम्म हण्डर खेपे । घरदेखि अस्पताल पुगेर आवश्यक व्यवस्था गर्न उनीलाई कम्ता सास्ती भएन । खर्चको उनीले कुनै हिसाब राखेकी छैनन् । स–साना लालाबालाहरुले समेत पाउनसम्म दुःख पाए । महिनौँसम्म अण्डकोष सुन्निने भइरह्यो । 

आशाकाजीसँगै एउटै गोलीले छेडेर ढलेका अर्का बालकलाई त पाँच पटकसम्म शल्यक्रिया गरियो । “चिकित्सकहरुले नै उनलाई बढीमा पाँच वर्षसम्म मात्र बाँच्ने अनुमान गरेका थिए” आशाकाजी दुःखको कुरा सम्झिँदै भन्नु हुन्छ, “साँच्चै उनको पाँच वर्षपछि दु:खद् निधन भएछ ।”

अस्पतालबाट फर्किएपछि आशाकाजीलाई चिन्ने जान्ने सबैले सरकारी निकायमा अनुरोधसहित निवेदन दिएर राहत वा क्षतिपूर्ति लिन सुझाए । तर उनले त्यस्तो केही गर्नुभएन । सोध्दा भन्नुभयो, “म जीवनप्रति आशावादी छु, त्यस्तो केही लोभ गरिएन ।” गोलीबाट अशक्त भएर शल्यक्रिया गरेको तीन दशकपछि पनि घाउ बल्झेर दुख्ने गरेको छ । त्यस्तो बेला पनि आशाकाजीको आशावादी मन र व्यवहारले हरेस खाने गरेको छैन । 

जोरगणेश मन्दिरमा दाजुभाइ गुथियारबाट पालैपालो पुजारी बस्ने नियमित हुन्छ । आशाकाजीको यसवर्ष पनि पालो आएको छ । उहाँले त्यो सेवा र कर्तव्य निष्ठापूर्वक पूरा गरिरहनुभएको छ । केही वर्षअघि एक आफन्तले उहाँलाई गोली लागेर अस्पताल पुर्याउँदा खिचिएको फोटो दिन ल्याए । त्यस फोटोलाई उहाँले स्टुडियोमा लगेर ठूलो बनाएर ल्याउनु भयो । फोटो फ्रेममा राखेर स्मृतिका लागि सजाएर राखिएको छ । तर फोटो खिच्ने फोटोग्राफर को हो उहाँलाई थाहा छैन । मनैदेखि उहाँले ती फोटोग्राफरलाई धन्यवाद दिइरहनुभएको छ ।   

चिने–जानेका साथीहरुले उहाँलाई “गोली खाएका पुजारी” भन्ने गरेका छन् । साँच्चै गोली खाएको क्षण र घटना उहाँले सोध्न आएका जो कसैलाई खररर कथा वाचन गरे जस्तै बताउनु हुन्छ । जीवनप्रति आशावादी आशाकाजी गोली खाएर पनि देश र समाजका लागि सौम्यतापूर्वक अनुशासित जीवन व्यतीत गरिरहनुभएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

कुमार रञ्जित

उज्यालोमा कार्यरत कुमार रञ्जित तीन दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया