आत्महत्या राेक्न मानसिक स्वास्थ्यबारे बुझ्न जरुरी

 माघ १६, २०७९ सोमबार १२:१०:१ | डा. वासुदेव कार्की
unn.prixa.net

एउटा व्यक्तिले आफ्नो जीवनका लक्ष्यलाई बुझ्न सक्ने, लक्ष्यअनुसारको काम गर्दा आउने अप्ठ्याराहरुलाई चिर्न सक्ने र आफ्नो जीवनमा उत्पादनशील ढङ्गले काम गरेर आफू, आफ्नो परिवार र समुदायलाई योगदान गर्न सक्ने अवस्थालाई मानसिक स्वास्थ्यको अवस्था भनिन्छ । यो अवस्थाले निर्धारण गर्ने व्यक्तिको विचार, भावना र व्यवहार हुन्छ । यदि व्यक्तिको विचार, भावना र व्यवहारमा कहीँ कतै असहजता, अप्ठ्यारो वा असामान्य प्रकारको विचार, भावना र व्यवहार  देखिन थाल्यो भने अर्थात् एउटा निश्चित अवधिसम्म देखियो भने, व्यक्तिको आफ्नो दैनिकी, सम्बन्ध र व्यावसायिकतामा फरक पार्‍यो भने त्यसलाई हामी मानसिक समस्या भनेर बुझ्ने गर्छौँ । 

यसमा व्यक्तिको समस्या कतिपय भावनासँग सम्बन्धी हुनसक्छ, कतिपय समस्या विचार केन्द्रमा रहेर देखिएको समस्या हुनसक्छ भने कतिपय सन्दर्भमा भने व्यक्तिको व्यवहारमा नै लक्षित भएका समस्या हुनसक्छन् । त्यसकारण यी धेरै समस्याको फरक फरक प्रस्तुति हुने कारणले गर्दा मानसिक स्वास्थ्य समस्याहरु विभिन्न प्रकारका हुने गर्छन् ।

मानव व्यवहारका विभिन्न पक्षहरु जस्तै नशालु पदार्थको प्रयोग गर्ने, कतिपय सन्दर्भमा उनीहरुले गर्ने व्यवहार अरुले गर्नेभन्दा फरक हुने र सामाजिक मूल्य, मान्यता र नियमलाई पनि उल्लङ्घन गर्ने खालको व्यवहारलाई पनि हामी मानसिक स्वास्थ्य समस्या भनेर बुझ्ने गर्छौँ । 

मानसिक अस्वस्थताको कारण यही नै हो भन्ने प्रष्ट हुँदैन । यसलाई हामी विभिन्न प्रकारको अवस्थाहरुको परिणाम भनेर बुझ्ने गर्छौँ । जसलाई हामी व्यक्तिको जैविक अवस्था, मनोविज्ञानको अवस्था र उसको सामाजिक, पारिवारिक अवस्थाले एउटा व्यक्तिको मानसिक स्वास्थ्यको अवस्थालाई निर्धारण गर्ने गर्छ । जस्तो व्यक्तिको जैविक अवस्था अर्थात उसको आनुवांशिक चरित्र कस्तो छ, कस्तो खालको जिनको अवस्था हो त्यो सवाल । त्यसपछि त्यो व्यक्तिको दिमागमा कस्तो खालको रसायनहरुको उत्पादन भइरहेको छ, यसको विचार, भावना र व्यवहारलाई निर्देशन गर्ने रसायनहरुको उत्पादन र यिनीहरुको सन्तुुलनको सवाल आदि । कतिपय अवस्थामा दिमागमा नै हुनसक्ने चोटपटक, विभिन्न खालको रोगको प्रभाव र त्यसले पार्ने परिणामले पनि व्यक्तिको जैविक अवस्था निर्धारण गर्न सक्छ भने व्यक्तिको मनोविज्ञानको अवस्था ऊ कस्तो खालको परिवारमा जन्म्यो, हुर्क्याे कसरी सिकाइ अगाडि बढ्यो, उसको बाल्यकाल कति सहज खालको हो, यसलाई कुनै आघातजन्य घटना भयो र यसको विकासक्रममा नै यसले आघात गरेको छ र प्रभाव पारेको छ भन्ने मनोविज्ञानको सन्दर्भ रहन्छ भने उ कस्तो परिवार, देश र समाजमा तथा सम्भावनाहरुबाट हुर्किरहेको छ, त्यहाँ व्यक्तिहरुबीचको सम्बन्ध र विश्वासको अवस्था कस्तो छ, रोजगारीको अवस्था कस्तो छ, उसले निर्वाह गर्नुपर्ने भूमिका कस्तो छ, उसले कस्तो धर्म, संस्कार र संस्कृतिमा हुर्किरहेको छ भन्ने सामाजिक पक्षले पनि व्यक्तिलाई मानसिकरुपमा स्वस्थ रहने वा समस्या लिएर गुज्रने भन्ने कुरा निर्धारण गर्छ । 

व्यवहारमा फरकपन 

मानसिक रोगको प्रकृति अनुसार व्यवहारमा फरकपन आउँछ । रोगहरु विभिन्न प्रकारका छन् । जस्तो कि हाम्रो समाजमा अलि बढी देखिनेलाई कमन मेन्टल कन्डिसन भन्छौँ जस्तो एन्जाइटी, डिप्रेसनका कुराहरु भने कतिपय अवस्थामा लागु औषध र जाँडरक्सीको दुर्व्यसन अत्यन्त धेरै व्यक्तिहरुले भोगिरहेको मानसिक स्वास्थ्य समस्या हो । डिप्रेसन भएका व्यक्तिहरुलाई कम्तीमा दुई हप्ता वा त्योभन्दा लामो समयदेखि मन उदास र खिन्न रहने, कुनै कुरामा रमाइलो र रुचि नरहने सँगसँगै थाकेको महसुस हुने हुन्छ । यसका अलावा खानमा अरुचि हुने, निद्रा नपर्ने, छटपटी हुने, काममा ध्यान केन्द्रित गर्न नसक्ने, आफूलाई अरुहरुले माया गर्छन्, जिन्दगी राम्रो सम्भावनायुक्त छ, अथवा जीवनको मूल्य छ भन्ने कुराको महसुस नहुने हुन्छ । कतिपय अवस्थामा मैले जे गरेँ गल्ती गरेँ भनेर पछुतोको भावना आउने र कतिपय सन्दर्भमा जीवन मूल्यहीन छ र मर्नु नै यसको उचित निकास हुनसक्छ भन्नेसम्मको सोच आउने गर्छ । सँगसँगै दैनिकीमा, जिम्मेवारीमा, सम्बन्धमा नकारात्मक प्रभाव पर्‍यो यो कम्तीमा दुई हप्तादेखि लगातार छ र कुनै परिस्थिति र परिवेशले बाहिर ल्याउन सकिरहेको छैन भने हामी उदासीनता भयो भनेर भन्छौँ । 

त्यसैगरी एन्जाइटीको आफ्नै समस्याको समूह छ, साइकोसिस भएका व्यक्तिका लक्षणहरु आफ्नै प्रकारका रहन्छन् । समग्रमा भन्नुपर्दा व्यक्तिको विचार, भावना र व्यवहारमा आएका परिवर्तनहरु जस्ले निश्चित समयसम्म प्रभाव पार्छ र दैनिकीमा, सम्बन्धमा, जिम्मेवारीमा, जीवनशैलीमा प्रभाव पारिरहेको छ भने यसलाई मानसिक स्वास्थ्य समस्या भनिन्छ । 

मानसिक समस्यालाई कतिपय सन्दर्भमा हामी बोल्दा उस्तै प्रकारले बोल्ने गर्छौँ । तर, रोगहरु भने फरक फरक हुन्छन् । मानसिक रोग भनेको कुनै लक्षण भएको र त्यसले गरेको प्रभाव र पारेको परिवर्तन हो भने डिप्रेसन त्यही मानसिक समस्यामध्येको एउटा अवस्था हो । फ्रस्टेशन भनेको एउटा अर्कै अवस्था जहाँ व्यक्तिलाई मानसिक स्वास्थ्य समस्या नभएको पनि हुनसक्छ । अथवा कुनै एउटा मानसिक स्वास्थ्यको कारण फ्रस्टेशन बन्न पनि सक्छ । 

मानसिक स्वास्थ्य सेवालाई हामीले अस्पतालले दिने सेवा मात्र हो भनेर बुझ्न हुँदैन । समुदायमा उपलब्ध हुने अरु सेवा जस्तै मानसिक स्वास्थ्यको सेवा पनि समुदायमा उपलब्ध हुनुपर्छ भन्ने ढङ्गले बुझ्नु, बुझाउनु र त्यही अनुसार काम गर्नु जरुरी रहन्छ । त्यसकारण हाम्रो संवैधानिक हकको लागि बनेको ऐन र कानुनको व्यवस्था अनुसार नै अहिले हामी पालिका तहमा तल्लोभन्दा तल्लो निकायमा केही स्वास्थ्य समस्याहरु जुन सामान्यतया समुदायमा देखिने गर्छ । जसलाई उल्लेख गरेर भन्नुपर्दा एन्जाइटी, डिप्रेसन, साइकोसिस, लागूऔषध दुर्व्यसन मध्येको चुरोट, खैनीसँग सम्बन्धि विषय र जाँडरक्सीसँग सम्बन्धित विषय, छारेरोगलगायतका समस्याहरु समाधानका सुरुवाती प्रयासहरु समुदायस्तरमा जहाँ स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरु रहन्छ त्यहाँबाट सुरुवात गर्नुपर्छ भनेर भन्छौँ । उहाँहरुको क्षमता विकासका लागि हामीले कार्यक्रम सञ्चालन गरिरहेका छौँ । उहाँहरुले यसलाई आफ्नो नियमित सेवाको ढङ्गले त्यस्ता सेवाहरु आफ्नो स्वास्थ्य संस्थाबाट प्रदान गर्नुहुन्छ, प्रवर्द्धन गर्नुहुन्छ । त्यसका लागि स्वयमसेविका जसले समुदायमा रहेर समुदायका व्यक्तिहरुको आधारभूत स्वास्थ्यका बारेमा जानकारी राख्ने र त्यस्ता सेवाहरुको स्वास्थ्य संस्थासँग सम्बन्ध बढाउने एउटा महत्त्वपूर्ण भूमिकामा हुनुहुन्छ उहाँहरुले ती आधारभूत स्वास्थ्य समस्याहरुलाई पहिचान गर्ने, पहिचान गरिएका समस्या समाधानका लागि सम्बोधनका लागि स्थानीय स्वास्थ्य संस्थामा पुर्‍याउनका लागि प्रेषण गर्ने र भोलिका दिनमा उहाँले समुदायमा फर्केर आइसकेपछि लिइराखेको सेवाको निरन्तरताको लागि के कस्तो भइरहेको छ भनेर निगरानी गर्ने काम महिला स्वास्थ्य स्वयमसेविकाले गर्नुहुन्छ । 

१४ वर्ष अगाडि नै समस्याको सुरुवात

बालबालिका तथा किशोरकिशोरीहरुमा मानसिक स्वास्थ्य समस्या एकदमै सुरुवातको अवस्था हो । विश्वव्यापी तथ्याङ्कले पनि मानसिक स्वास्थ्य समस्यामध्येको ५० प्रतिशत समस्या १४ वर्ष अगाडि नै सुरुवात भइसकेको हुन्छन् । एउटा व्यक्ति २५ वर्षको उमेरको हाराहारीमा ७५ प्रतिशत मानसिक स्वास्थ्य समस्या सुरुवात भइसकेको हुन्छ भन्ने छ । त्यसकारण हाम्रो मानसिक स्वास्थ्य समस्याको सबैभन्दा ठूलो लक्षित वर्ग भनेको बालबालिका तथा किशोरकिशोरी हुन् । त्यसकारण उनीहरुको समस्यालाई हाम्रो समुदायले यो समस्या बालबालिकाको मानसिक स्वास्थ्य समस्यासँग सम्बन्धित हो भन्ने कुरामा सचेतना छैन । जति मात्रामा हामीकहाँ बालबालिका बिरामी भएर आउनुहुन्छ त्यो भनेको अत्यन्त न्यून संख्या मात्र हो । बालबालिकामा हुने बाल विकाससँग सम्बन्धित समस्या, बालबालिकाको व्यवहारसँग सम्बन्धित समस्या र बालबालिकाको भावनाको प्रष्फुटन र यसको प्रस्तुतीकरणसँग सम्बन्धित समस्या त धेरै छन् । ५० प्रतिशत मानसिक स्वास्थ्य समस्या १४ वर्षभन्दा अगाडि सुरुवात हुन्छ भन्ने बित्तिकै यदि मानसिक समस्या हुने व्यक्ति हो भने यसै समयमा सुरुवात भइसक्छ । 

मानसिक स्वास्थ्य समस्याको कारण भनेकै व्यक्तिको जैविक अवस्थासँग सम्बन्धित रहन्छ । व्यक्तिको आनुवांशिक चरित्र जुन उसको जीनले निर्धारण गर्छ त्यो स्वभाव जुन उसले जन्मँदै लिएर आएको हुन्छ । अर्को भनेको उसको मनोविज्ञानको विकासको सन्दर्भ छ । ती कुन परिवारमा, कुन समुदायमा, कुन संस्कारमा हुर्कँदै गरेको छ उसको मनोविज्ञान कत्तिको परिष्कृत र परिमार्जित छ र परिपक्व ढङ्गले विकास भइरहेको छ भन्ने कुराले निर्धारण गर्ने कारणले बालबालिकामा मनोविज्ञानको विकासको एउटा चरण नै हुन्छ । त्यसकारण उनीहरु जोखिममा छन् । उनीहरु पनि यही समाज परिवार र समुदायको भएको हुँदा सम्पूर्ण प्रभाव बाल्यकालदेखि नै पर्छ भने बालबालिकाहरुमा मानसिक स्वास्थ्य समस्या देखिँदा तिनै कारक तत्वहरु विद्यमान रहन्छ । 

बालबालिकाको सन्दर्भमा अभिभावकलाई बालबालिकालाई पनि मानसिक स्वास्थ्य समस्या हुन्छ भन्ने कुराको जानकारी हुनुपर्‍यो र विद्यालय गइरहँदा शिक्षकहरुले बालबालिकाहरु फरक प्रकृतिका हुन्छन् र हरेका बालबालिका आफैँमा ‘युनिक’ रहन्छन् र कतिपय सन्दर्भमा  उनीहरुलाई मानसिक स्वास्थ्य समस्या वा व्यवहार सम्बन्धी समस्या पनि हुनसक्छ भन्ने कुरा उहाँहरुले पनि हेक्का राख्नुपरर्‍यो । सिंगो समुदायले पनि बालबालिका हुर्काउने सन्दर्भमा हामी पनि एउटा जिम्मेवार पक्ष रहन्छौँ । र, बालबालिका भनेको परिवारको, विद्यालयको मात्र नभएर सिंगो समाज र देशको महत्त्वपूर्ण जनशक्ति हो भन्ने ढङ्गले उहाँहरुले पनि बालबालिकाहरुमा हुनसक्ने समस्यालाई बुझ्न सक्नु भयो भने धेरैजसो समस्याहरु जुन सघनताका साथ बालिबालिकाको उमेरमा देखिन्छन् तिनलाई समयमै पहिचान गर्न सकिन्छ । यसका लागि उहाँहरुलाई यो समस्याको व्यापकताको बारेमा जानकारी हुनुपर्‍यो, ज्ञान हुनुपर्‍यो । सँगसँगै अहिले त बालबालिकाहरुको स्कुलमा नजिकमा रहेर काम गर्ने नर्सहरु पनि हुनुहुन्छ उहाँहरुलाई पनि जानकारी हुनुपर्‍यो । र, उहाँहरु सम्पूर्णको जानकारीपछि त्यस्ता समस्या भएका बालबालिकाहरुको समस्या समाधानका लागि स्थानीय स्वास्थ्य संस्थाहरुले पनि बुझ्न सक्नुपर्‍यो भने कतिपय सन्दर्भमा स्थानीय सरकार र स्थानीय स्वास्थ्य संस्थाबाट मात्रै यी कुराको सम्बोधन भएन भने केन्द्रसम्म जस्तै अहिले कान्तिबाल असपतालमा पनि बाल मनोविज्ञानको विभाग रहेको र मानसिक अस्पताल लगनखेल र अरु देशभर रहेका मेडिकल कलेजहरुमा पनि मनोचिकित्सक र परामर्शदाताहरुको उपस्थिति रहन्छ त्यहाँ पनि प्रेषण गर्न ढिला गर्नु हुँदैन । 

परिवार र समाजसँग प्रत्यक्ष सरोकार 

मानसिक स्वास्थ्य समस्या भन्ने बित्तिकै व्यक्ति मात्र होइन उसको बुझाइसँग, उसको परिवारसँगको सम्बन्धसँग र परिवारसँगको सिकाइसँग, संस्कार र संस्कृतिसँग प्रत्यक्षरुपमा सरोकार राख्छ । यसले गर्दा हाम्रो समाजको विकासक्रमलाई नै हेर्ने हो भने पनि अझै पनि हामीलाई यी समस्याहरुको प्रस्तुतीकरण, समस्याको व्यापकता र समस्या समाजको अस्तित्वमा छैनन् भन्ने कुराको ज्ञान छैन । यो ज्ञान नहुँदा पनि समस्या त छन् । त्यसले गर्दा हाम्रो समाजको परम्परा, संस्कृति जे कुरा हामीलाई सिकाइ राखेको छ त्यो कुरालाई हामीले होइन भन्न मिलेन । यसकारण धामी, झाँक्रीका कुरा विज्ञानसम्मत् छैनन । ती विषयले व्यक्तिलाई केही हदसम्म सामान्य मनोसामाजिक ढाडस प्रदान गर्नसक्छ तर, उपचारको सवालमा ती परिपक्व र विज्ञानको अहिलेको आधुनिक उपलब्धिहरुले प्रमाणित नगरेका व्यवहार भएका कारण हाम्रो समाज जुन सामाजिक अवस्थाबाट हामी गुज्रिरहेका छौँ, जुन शैक्षिक, आर्थिक अवस्था छ अनि हाम्रो सामाजिक बुझाइ छ त्यसमा मानसिक स्वास्थ्य समस्यालाई धामी झाँक्रीकोमार्फतबाट सम्बोधन गर्ने एउटा परिपाटी रहेको छ यसलाई बदल्नुपर्छ । यसलाई उहाँहरुलाई हामीले गलत भनेर मात्र पनि हुँदैन उहाँहरुलाई सही के हो भन्ने कुराको जानकारी दिलाउन सक्नुपर्छ । त्यसो गर्न सकियो भने बहुसङ्ख्यक व्यक्तिहरु जे धामी, झाँक्रीको उपचारमा जानुहुन्छ उहाँहरुले पनि यो समस्यालाई पहिचान गरेर उपयुक्त उपचारका लागि स्वास्थ्य संस्था र स्वास्थ्यका संयन्त्रमा प्रेषण गर्ने प्रभावकारी संयन्त्रको विकास गर्नु जरुरी छ ।

मानसिक रोगको बारेमा जानकारी नहुने  

मानसिक स्वास्थ्य मूलतः दुई वटा भनेर बाँड्ने गरिन्छ । पहिलो आफूलाई आफ्नो स्वास्थ्य समस्याको बारेमा जानकारी नहुने । ३ देखि ५ प्रतिशत मानसिक रोगीलाई आफ्नो रोगको बारेमा होस हुँदैन । समग्र समाजले भने तिनै समस्यालाई मात्र मानसिक स्वास्थ्य समस्या भन्ने गर्छ । जसलाई हामी कडा प्रकारको मानसिक स्वास्थ्य समस्या भन्ने गर्छौँ । त्योभन्दा बढी ९५ प्रतिशत मानसिक स्वास्थ्य समस्या भनेको हाम्रो समाजमा भएका र रोग भनेर नजानिएकालाई नै हुने हो ।

आफूलाई होस नभएका समस्याभन्दा आफूलाई होस भएको तर, के हो भनेर थाहा नहुने समस्या बढी छ । उसलाई एन्जाइटी भइरहेको हुन्छ तर, उसले मुटुको ढुकढुकी मात्र महसुस गरिरहेको हुन्छ त्यसैले ऊ जहिले पनि मुटुको जाँच गर्न गइरहेको हुन्छ । शरीर झमझम गरिराखेको हुन्छ अनि गाह्रो भयो भनेर ऊ धामी, झाँक्रीकहाँ गइरहेको हुनसक्छ । यसै सन्दर्भमा व्यक्तिलाई खाना अपच, अरुचि भइरहेको हुन्छ र पेटसम्बन्धी समस्या भनेर पेटको डाक्टरकहाँ जान्छ । त्यसकारण मानसिक स्वास्थ्य समस्याको प्रस्तुतीकरण कतिपय सन्दर्भमा शारीरिक हिसाबले पनि हुन्छ तर त्यसको मूल जरा चाहिँ मनमा रहेको हुन्छ । यसमा डाक्टरको पनि राम्रो बुझाइ नहुँदा व्यक्ति लामो समय भौँतारिइ रहेको हुन्छ । उपचारबाट निको हुने रोगबाट पनि एउटा लामो समयसम्म जीवनको गुणस्तर पनि कमजोर भइरेको, धेरै व्ययभार ब्यहोर्नु परेको र सामाजिक, पारिवारिक जिम्मेवारीबाट चाहिँ पन्छिएर सधैँ रोगी भएर बाँचिरहनु पर्ने स्थिति हाम्रो समाजमा अत्यन्तै धेरै विद्यमान छ । 

तथ्याङ्कले के भन्छ भन्दा मानसिक स्वास्थ्य समस्या अत्यन्तै व्यापक छ । हाम्रो जस्तो देशमा सामुदायिक स्वास्थ्य संस्थामा आउने २५ देखि ३० प्रतिशतमा यो वा त्यो प्रकारको मानसिक स्वास्थ्य समस्या हुन्छ भन्ने देखाउँछ । तथ्याङ्क अनुसार आएका व्यक्तिहरुको उपचार उहाँहरुको सेवाको लागि, उहाँहरुको सेवालाई सुदृढ गर्नको लागि हाम्रो समुदायमा रहेका स्वास्थ्य संस्था र उहाँहरुसँग सहकार्य गर्ने हामी जस्ता विज्ञहरु सचेत रहनु अनिवार्य रहन्छ । 

व्यवहारबाट अनुमान

व्यक्तिले आफ्नो सामान्य अवस्थाको बारेमा त जानकारी राख्छ । ९५ प्रतिशत मानसिक स्वास्थ्य समस्याको बारेमा त व्यक्ति र उसका नजिकमा रहेका परिवारले व्यवहार देखेर अनुमान लगाउन सक्छन् भने त्यतिखेर उसले बुझ्नु पर्‍यो कि मेरो शरीर जस्तै मनको पनि अस्तित्व छ । म मस्तिष्कले पनि निर्धारण गरेका व्यवहारहरु गर्छु । कतिपय अवस्थामा मनसँग सम्बन्धित लक्षणहरु देखियो भने उहाँहरुलाई के लाग्नु पर्‍यो भने मलाई मुटु सम्बन्धी रोग अनि पेट सम्बन्धी खराबी पनि होइन रहेछ । र, कमजोर मात्र भएको होइन रहेछ बिरामी परेको रहेछु । यो चाहिँ मानसिक स्वास्थ्य समस्या भएको हो कि भन्ने कुरा बिरामी र उसको परिवारले पनि यो विषयमा जानकारी राख्ने हो भने समस्या हुँदा उहाँहरु अलमलिनु हुन्नँ।

विचार, व्यवहार र भावनामा आउने परिवर्तन जसले लामो समय प्रभाव पार्छ भने यो मूलभूतरुपमा मानसिक समस्यासँग जोडिएको विषय हुनसक्छ । त्यसैले व्यक्तिले मानसिक स्वास्थ्य समस्या हुनसक्छ भन्ने कुराको जानकार रहनु पर्‍यो । यतिसम्म कि हामीकहाँ जाँडरक्सी र चुरोट खाने व्यवहारलाई सामान्य व्यवहार भनेर लिने गरिन्छ । तर, यो पनि मानसिक स्वास्थ्य समस्या हो । त्यसैले गर्दा यस्ता व्यवहारलाई मानसिक स्वास्थ्य समस्या हो भनेर पहिचान गर्न सकियो भने व्यवस्थापनका प्रभावकारी विधि र तरिका छँदैछन् । संघीय सरकारले गुणस्तरीय उपचार विधि र डकुमेन्ट पनि बनाएर सहज पहुँचमा पठाइ पनि सकेको छ । त्यसैले गर्दा यो विषयलाई नागरिकले पनि बुझ्नु पर्‍यो । र, आम नागरिकको स्वास्थ्य समस्यालाई समाधान गर्नको निमित्त भनेर समुदायमा खटिएका जनशक्तिले पनि यसको हेक्का राख्नुपर्‍यो । सँगसँगै उहाँहरुले विज्ञहरुसँग एउटा प्लेटफर्ममा हामीले कोभिडको सन्दर्भमा अनलाइन तथा टेलीहेल्थको पनि गाइड लाइन्स बनाइसकेको कारणले गर्दा कोही पनि व्यक्तिले आफू देशको दूरदराजमा छु भनेर डराउनु परेन । अहिलेको विज्ञान र प्रविधिले स्रोत र साधन दिएको छ । उहाँहरुले यो विषयको विज्ञसँग साधन र स्रोतको पहुँचबाट कार्यक्रममै जोडिएर काम गर्न सक्नुहुन्छ । त्यसैले व्यक्तिको, उपचार गर्ने स्वास्थ्य संस्थाको र समुदाय सबैको सहकार्य भइदियो भने हामी मानसिक स्वास्थ्य समस्यालाई समयमै पहिचान र उपचार गर्न सक्छौँ ।

लाञ्छना र विभेदलाई चिर्नुपर्ने  

अहिले व्यक्तिले आफूले मानसिक स्वास्थ्य समस्या महसुस गरे पनि घरपरिवारमा व्यक्त गर्दैन किनकि त्यसलाई बुझिदिने परिवारका सदस्यहरु पनि हुनुहुन्नँ । कतिपय सन्दर्भमा साथीभाइ, घरपरिवारमा भन्यो भने उसलाई लाञ्छना, दुर्व्यवहार, घृणा हुन्छ भन्ने आम बुझाइ छ । शारीरिक समस्या जति भए पनि खुला ढङ्गले अरुसँग अभिव्यक्त गरेर सहयोगको लागि सहकार्य गर्न सक्छ तर, मानसिक स्वास्थ्य समस्या जान्दा जान्दै पनि अरुलाई नभनिरहेको समस्या विद्यमान छ । त्यसकारण यो विषयमा लाञ्छना, विभेद, अन्धविश्वास र भ्रमलाई चिर्नु अत्यन्तै जरुरी छ । यसको लागि परिवारले र समुदायले बिस्तारै रोगहरुको अस्तित्वलाई स्वीकार गर्नुपर्‍यो । 

जसरी शरीर छ र शरीरका क्रियाकलाप र विधिमा समस्या हुनसक्छ त्यसैगरी मन र मस्तिष्क छ र यिनीहरुको क्रियाकलापमा व्यवधान आउन सक्छ । त्यसकारण मनको कुराहरुलाई समस्या भयो जस्तो भन्ने बेलामा आफूलाई महसुस भयो भने त्यसलाई अभिव्यक्त गर्नको लागि कहिल्यै आनाकानी गर्नु हुँदैन र परिवार तथा समुदायले पनि त्यस्ता व्यक्तिलाई हेलाहोचो गर्ने पनि होइन । र, यस्तो जसलाई पनि हुन्छ भनेर सामान्य हो भनेर बेवास्ता पनि गर्नु भएन । यसकारण यसलाई सबैले बुझ्न सकेमा मानसिक स्वास्थ्य समस्या व्यापक छ । 

आत्महत्याको घटना ९० प्रतिशतसम्म मानसिक 

रोग लाग्नमा जसरी व्यक्तिको जैविक कुरा, पारिवारिक, सामाजिक कुरा रोग लाग्नमा जिम्मेवार छ निको हुन पनि सबै कुरा चाहिन्छ । औषधिले त रोगीलाई केवल जैविक ढङ्गले मस्तिष्कमा उत्पादन भएको रसायनलाई केही सन्तुलन गर्ने काम गर्छ । तर, उसको मनोविज्ञानमा पनि हामीले प्रभाव पार्नुपर्छ । हामीले उसको मनोविज्ञान बदल्न सकियो भने, बुझाइलाई अलि परिष्कृत र परिपक्व बनाउन सकियो भने बिस्तारै उसले रोगलाई बुझ्दै जान्छ र त्यसै अनुसार उसले आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउँछ । समाजले पनि यस्ता रोग भएकालाई सामाजिक समावेशीकरण, सामाजिक मान, मर्यादा र इज्जत दिन सक्यो भने व्यक्तिको मानसिक स्वास्थ्य समस्या पछिको व्यवस्थापनमा अत्यन्तै प्रभावकारी भूमिका रहन्छ । त्यसैले उपचार भनेको औषधिको चक्की मात्र होइन त्यो सँगसँगै व्यक्तिको व्यवहारमा आउनुपर्ने रुपान्तरण तथा परिवार र समाजले गर्नुपर्ने सहयोगले व्यक्तिलाई स्वस्थ राख्न धेरै ठूलो मद्दत पुर्‍याउँछ । सँगसँगै औषधिको भूमिका पनि प्रधान रहन्छ । 

कतिपय रोगहरुलाई हामी गम्भीरताको आधारमा वर्गीकरण गर्न सक्छौँ । कतिपय रोगहरु समयमा पहिचान भयो भने उपचारमा सजिलो हुन्छ । कतिपय रोगहरु बल्झिरहन्छन् तिनीहरुको उपचार अलि जटिल हुन्छ । बिरामी बिरामी नै हो त्यो कुरा समयमा नै पहिचान गर्न सकियो भने रोगको उपचार त सहज हुन्छ नै त्यसको प्रभावले व्यक्तिले जुन क्षति ब्यहोर्नु पर्छ रोग लामो समय लम्बिँदा त्यो क्षतिबाट पनि जोगाउन सकिन्छ र उसको जीवनमा साँच्चै नै तुलनात्मक र गुणात्मक परिवर्तन ल्याउन सकिन्छ । 

आत्महत्या मानसिक रोगसँग पूर्णरुपमा सम्बन्धित छ । कुनै पनि मान्छेको जीवनको मूल्य सर्वोच्च हुन्छ जति बेलासम्म मानिस मानसिक स्वास्थ्यका हिसाबले स्वस्थ रहन्छ । त्यो बेला उसले आफ्नो जीवनको मूल्यलाई अत्यन्तै न्यून र तुच्छ ठान्छ जब उसको मनको अवस्था कठिन परिस्थितिमा गुज्रिरहेको हुन्छ । त्यसैले आत्महत्या जस्तो कठिन निर्णय गर्ने व्यक्तिको मनोदशा उसलाई कसैको साथ र सहयोगको जरुरी छ भन्ने प्रष्ट बुझन् सकिन्छ । त्यो निर्णय लिने भनेको उसको विचारको सवाल हो । त्यो विचार बन्नको लागि त उसको मानसिक स्वास्थ्य पूर्णरुपमा नकारात्मक भावले गइरहेको हुन्छ । त्यसैले गर्दा यस्ता अवस्थाहरु मानसिक स्वास्थ्यसँग पूर्णरुपमा जोडिएको हुन्छ । आत्महत्याको घटना ९० प्रतिशतसम्म मानसिक स्वास्थ्य समस्यासँग जोडिएको हुन्छ । यसको धेरैजसो कुरा उदासिनता डिप्रेसनसँग जोडिएको हुन्छ भन्ने तथ्याङ्कले देखाउँछ।

आत्महत्या गर्नेको मानसिक अवस्था पूर्णरुपमा सहज नभएको कुरा त भइहाल्यो तर, रोगको सवालमा सबै व्यक्तिलाई रोग नै हुन्छ भन्ने पनि होइन । कतिपय अवस्थामा त्यो मानसिक स्वास्थ्यको अवस्था जुन निर्णय गर्ने बेला हुन्छ त्यो विभिन्न कुराहरुले निर्देशित गरिरहेको हुनसक्छ । कतिपय अवस्थामा उहाँहरु कमजोर मानसिक स्वास्थ्य, कतिपय अवस्थामा व्यक्तित्वको अवस्था जसमा परिपक्व समस्याको विधिहरु अपनाउन नजानिरहेको अवस्था जहाँ व्यक्तिले आफूलाई नै हानी हुने निर्णय लिन सक्छ । अर्को सन्दर्भ त्यो समाज, संस्कृति, परम्परा अनि बुझाइ र विश्वासहरु अर्थात् आत्महत्याको घटनालाई कसरी बुझिरहेको छ भन्ने पनि हुन्छ । 

एउटा व्यक्तिको जैविक तत्व उसको वशको विषय रहेन । जीनले पनि उसलाई जोखिममा राख्ने सन्दर्भ त छँदैछ । एउटा समूह जीनको कारणले नै जोखिममा रहन्छ । उसको स्वस्थकर मनोविज्ञान विकास गराउने पद्धति र प्रक्रिया हुने हो भने उसलाई जोगाउन सकिन्थ्यो । उसको जन्मेपछि हुर्कने वातावरणलाई सहज गराएर उसको समस्या सामनाका विधिहरु बनाउने हो भने जीनको हिसाबले जोखिममा रहेका व्यक्तिहरुलाई पनि उसको मनोविज्ञानका कारण जोगाउन सकिन्छ । सँगसँगै पारिवारिक सामाजिक परिस्थिति उसका लागि सहज भइदिएको भए व्यक्ति आत्महत्याको जोखिममा रहँदा रहँदै पनि सहज सामाजिक अवस्था र परिपक्व सामाजिक अवस्थाले गर्दा ऊ जोगिन सक्थ्यो । तर, हाम्रो समाज त्यो ढङ्गले परिपक्व हुन् सकेन । व्यक्तिलाई उसको मनको अवस्था सुदृढ गर्न नसकेका कारण जोखिममा रहेका व्यक्तिहरु झन् जोखिममा परे यसकारण हरेक दिन आत्महत्याको घटना सुनिने गर्छ । अझ हरेक वर्ष बढिरहेको तथ्याङ्क सुन्न तथा हेर्न विवश छौँ । 

हेल्पलाइन ११६६

मानसिकरुपले स्वस्थ हुन् मानसिक स्वास्थ्य प्रवर्द्धनको काम गर्नुपर्‍यो । जसरी हामीले एउटा व्यक्तिलाई शारीरिक हिसाबले स्वस्थ राख्न गर्भावस्थादेखि सुरक्षित गर्भको जाँचको कुरा गर्छौँ । अनि प्रसूति अवस्थामा बच्चाको र आमाको राम्रो स्वस्थ्यको लागि स्वस्थगत सुत्केरीको कुरा गर्छौँ अनि सुत्केरी स्याहारको कुरा गर्छौँ । जसरी हामीले शरीरका लागि बढी महत्त्व दिइरहेका छौँ  त्यसैगरी बालबालिकाको मनको स्वास्थ्य अवस्थाका लागि पनि त्यही ढङ्गले बुझ्नु पर्‍यो । यसको लागि बच्चाको हुर्काइमा, सिकाइमा अनि नकारात्मक अवस्थामा पनि सकारात्मक सोचका साथ अगाडि बढ्ने वा समस्यालाई कसरी सामना गर्ने भन्ने सामना गर्ने शक्ति जसलाई हामी लाइफ स्कील भन्छौँ हरेकले सिक्नुपर्छ । यो भनेको लामो यात्रा भयो । अब हामीले तत्काल गर्न सक्ने भनेको यस्तो अवस्थाबाट गुज्रिएको व्यक्तिका लागि आत्महत्या रोकथामको लागि राष्ट्रिय हेल्पलाइन भनेर ११६६ नम्बरको हेल्पलाइन छ । चौबिसै घण्टा तालिम प्राप्त विज्ञबाट परामर्श सेवा लिन सकिन्छ । यो परामर्श सेवाले तत्काल उहाँहरुको सोचलाई, जोखिमलाई सुरक्षामा बदल्ने प्रयास गर्छौँ । अत्यधिक जोखिममा रहेका व्यक्तिलाई सहयोगी सन्यन्त्रसँग जोड्ने प्रयास पनि गर्छौँ । त्यसैले यो राष्ट्रिय हेल्पलाइन ११६६ मा अहिले नेपाल टेलिकम तथा स्मार्ट सेलबाट फोन गर्दा शुल्क लाग्दैन । हामी एनसेलसँग पनि जोडिने कोसिसमा छौँ । 

यो भनेको तत्कालको समाधान भयो । यो सँगै परिवार र समाजले पनि मानसिक स्वास्थ्य समस्या हुनसक्छ । आत्महत्याको सोच जसलाई जहिले पनि आउन सक्छ । आत्महत्याको सोच आउनेमध्ये १० जनामा ८ जनाले अभिव्यक्त गरेको हुन्छ भन्ने तथ्याङ्क छ । यसरी गरिएका अभिव्यक्तिलाई त्यत्तिकै भनेको भनेर बेवास्ता नगर्ने तथा घुर्क्याउन र धम्क्याउनलाई भनेको भनेर होइन कि गम्भीर खालको सोच आइरहेको छ त्यसकारण उसलाई सहयोग, समन्वय र सहकार्यको जरुरी छ भनेर बुझन् सकियो भने धेरै आत्महत्या रोक्न सकिन्छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

डा. वासुदेव कार्की

मानसिक अस्पताल लगनखेलमा कार्यरत डा. कार्की वरिष्ठ मनोरोग विशेषज्ञ हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया