अर्थशास्त्रतर्फको नोबेल पुरस्कार : तीन जना अमेरिकी अर्थशास्त्रीले...
असोज २८, २०८१ सोमबार
डेढ महिनादेखि बालुवाटार बस्न थालेका मान्छेले उसैबेला बालुवाटार छोडेर हिँडेका अर्का मान्छेलाई फोन थिच्नै लाग्दा बार्दलीका मान्छे टुप्लुक्क बालुवाटारको ढोकामा देखा परे ।
हैन तपाईँ त दिनदिनै बालुवाटार आउन थाल्नुभयो । बार्दलीमा घाम ताप्दै चुप लागेर बस्नु नि, कति छटपटाएको हँ ?
तपाईँले चुप लागेर बस्न दिए पो बस्नु । आँखा झिमिक्क गर्नु हुन्न, चोर बिरालोले झैँ चारतिर आँखा डुलाइहाल्नुहुन्छ । छोडपत्र गरेर बसेको भूपूलाई माया मार्नु भनेको, टेर्ने हैन । झन् बढी हिमचिम छ, अचम्म । फेरि त्यतै फोन गर्न लागेजस्तो छ ।
तपाईँहरूसँगको पिरतीले घरजम लामो जालाजस्तो लाग्दैन । त्यसमाथि गर्मी चढ्न थालिसक्यो । जाडोमा घामतिर, गर्मीमा रुखतिर भनेर मान्छेहरूले पनि भनिरहेका छन् । ल भन्नुहोस् आज चाहिँ के कुरा गर्न आउनुभयो ?
आज एउटा नयाँ कुरा लिएर आएको छु । खै मोबाइल झिक्नुहोस् त, टिकटक चलाउनुहुन्छ हैन ?
के को टिकटक चलाउन भ्याउनु ? मने कहिले तपाईँ आउनुहुन्छ, कहिले लामिछाने भाइ आउँछन् । कहिले आफ्नै पार्टीका मान्छेको ताँती लाग्छ । कोहीलाई पद चाहिएको छ, कोहीलाई पैसा चाहिएको छ । आफ्नो परिवार र नातेदारको त पालो पुगिसक्यो, फेरि अर्को मान्छे पार्टीमा योगदानको कुरा सम्झाउँदै आउँछ । कतिको चित्त बुझाउनु ? फेरि मान्छेहरू कोही तरकारी फाल्छन्, कोही ज्यानै फाल्छन् । कतितिरको टेन्सन लिनु ?
तपाईँले नदेखेको र नबुझेको टेन्सन अर्को छ । ल यहाँ हेर्नुहोस् टिकटक । देख्नुभयो केटाकेटीका चर्तिकला । ल हेर्नुहोस् यी नानी, उ अर्की नानी, उता अरू कति कति यस्ता नानी । धोकेबाज हौ तिमी भन्या छन्, छाती पिट्दै, चिच्याउँदै, छेकबार नै भत्काउँला झैँ उफ्रिएका छन् । महोत्सवमा केटाकेटीहरू उफ्रेको देखेपछि उफ्रीपाफ्री गर्दै टिकटक पनि बनाउँदा रैछन् । कोही भर्याङको बार समातेर, कोही रुखको बुटोमा चढेर, कोही लौरो तेर्साएर चिच्याएका छन् । हुँदाहुँदा भैँसीले मुन्टो हल्लाएको, सुँगुरले खोरबाहिर थुतुनो निकालेको र बाँदर उफ्रेको । अनि धोकेबाज हौ तिमी रे ! यस्तो टिकटक हेरेपछि कहिलेकाहीँ त सोच्छु यो तपाईँलाई नै भनेका हुन् ।
तपाईँलाई पनि त हुन सक्छ ।
खैर जसलाई भनेको भए पनि तपाईँ र म दुवै जनालाई मिल्ने रैछ । अब हामी चुप लागेर बस्यौँ भने केटाकेटीको उपद्रो अझै बढ्छ । मोबाइल हेरिसाध्ये हुँदैन । त्यसैले केटाकेटीलाई सपार्न तपाईँ र मैले हामी धोकेबाज हौ भन्ने जुहारी खेलेर टिकटक बनाउन पर्याे । त्यसपछि केटाकेटी चुप लाग्छन् कि !
तपाईँलाई पनि कति उटपट्याङ आउँछ है ? ठिकै छ तनाव भइरहेको बेला रमाइलै हुन्छ । ल सिंहदरबारमा जाऔँ । म देउवाजीलाई बोलाउँछु । तपाईँ अरूलाई बोलाउनुस् ।
अरू पनि सबै किन चाहियो र ? रवि र लिङ्देनलाई बोलाउँछु । तपाईँ र देउवा, रवि, लिङ्देन र म भएपछि रमिता देखाउन काफी भइहाल्छ नि ।
अनि सुरु भयो सिंहदरबारमा धोकेबाजहरूको रमिता ।
...........
सबैभन्दा पहिले देउवा अघि सरे ।
हैन तपाईँहरू किन बढ्ता भएको हँ ? कामकुरो एकातिर भन्देखिनलाई कुम्लो बोकी ठिमीतिर । हिजोको ह्याङले छोडिसकेको छैन, अब धोकेबाजको गीत गाउनु पर्ने रे । गाउन मन त छैन, तर भनेर भन्देखिन्लाई नगाए फेरि बुढो भएछ भन्लान् । आफूलाई फेरि छिटै प्रधानमन्त्री भएर देखाउनुछ । ए प्रचण्डजी सुन्नुहोस् तपाईँका लागि हो यो गीत ।
त्यसपछि देउवाले रुखको हाँगोलाई तलतिर तानेर तेर्सो बनाए र त्यही हाँगो समातेर मच्चिँदै प्रचण्डतिर औँला ठड्याउँदै भट्याउन थाले :
जुनीभरीलाई रुवाइ गयौ तिमी
अझै पनि यो मनमा छौ तिमी
विगतको पिरती सम्झिएर
वर्तमानको बिछोड बल्झिएर
पागल हुँदैछु
धोकेबाज हौ तिमी धोकेबाज, दुईधारे धोकेबाज !
.......
त्यसपछि पालो आयो रविको । अस्तिताका छोडेर हिँडेको गृहमन्त्रीको कुर्सीतिर फर्किएर घण्टीको रालो हल्लाउँदै भाका हाल्न थाले :
कति रोएँ म तिम्रो लागि
कति कराएँ तिम्रो लागि
तर बुझेनौ
नागरिकता भन्नेको नाक भाँच्नलाई
पासपोर्टको कुरा फेल गर्नलाई
अझै पनि यो मनमा छौ तिमी
तर बुझेनौ
धोकाको खेती गर्ने रहेछौ
दिनदिनै कुरा फेर्ने रहेछौ
तर भनेनौ
धोकेबाज हौ तिमी..महान् धोकेबाज !
..........
त्यसपछि पालो आयो लिङ्देनको । प्रचण्डको अघिल्तिर हलो तेर्साएर उनले गाउन थाले :
अस्ताएका राजा सम्झिएर
मन्त्रीहरूका हर्कत बल्झिएर
अझै पनि मनमा छ राजतन्त्र
तिमी भन्छौ सधैँ गणतन्त्र
यति साह्रो पनि स्वार्थी भयौ तिमी
अझै पनि यो मनमा छौ तिमी
धोकेबाज हौ तिमी, जल्दोबल्दो धोकेबाज !
...........
त्यसपछि ओली अघि सरे । ल सुन्नुहोस् देउवाजी र प्रचण्डजी । खै के मा समातेर उफ्रने त ? ए आफ्नो त बार्दली नै काफी छ ।
लत्याएर मलाई छोड्ने हो कि
वाचा कसम सबै तोड्ने हो कि
भर छैन
रवि छन् मेरा दाहिनेतिर
लिङ्देनजी उभिन्छन् देब्रेतिर
त्यसैले डर छैन
देउवासँग मुटु साट्यौ भने
माधवसँग अँगालो मार्याै भने
धोकेबाज हौ तिमी !
......
त्यसपछि अघि सरे प्रचण्ड । अगाडि भित्तामा ठूलो ऐना राखे । अनि कुर्सीलाई पछिल्तिर फर्काएर चस्मा र भादगाउँले टोपी मिलाउँदै ऐनामा हेरेर आफ्नै सुरमा गाउन थाले :
विगतका कुरा सम्झिएर
विछोडका चोट बल्झिएर
पागल हुँदैछु
ओली र रविको भर लाग्दैन
लिङ्देनको ल्याङल्याङ मन पर्दैन
देउवा र नेपालले काँध थापेमा
जसपा, लोसपालाई लोभ बढेमा
नयाँ गठबन्धन बनाउने हो
जताजता स्वार्थ उतै ढल्कने हो
पागल हुँदैछु
जुनीभरीलाई रुवाई गए पनि
अझै पनि यो मनमा छौ तिमी
धोकेबाज हौ तिमी
धोकेबाज हौ तिमी ..........।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।
नन्दलाल पाण्डे
Feb. 5, 2023, 7:16 p.m.मलाई चित्त बुझ्यो तर ऐतिहासिक मोडहरुमा भएका धेरै धोकाका विषयवस्तु भने छुटेको जस्तो देखिन्छ नी !!!
विजय तिमिल्सीना
Feb. 5, 2023, 4:48 p.m.अत्यन्तै सान्दर्भिक लेख्नुभयो । निकै नै रमाईलो लाग्यो ।यस्तै यस्तै लेख हरु फेरी पनि पढ्न पाईयोस
Bishnu prasad kandel
Feb. 5, 2023, 3:55 p.m.गजब दिनु भो मिलन जी!!!