काठमाण्डौमा सुरक्षा व्यवस्था कडा : सामान्य रुपमा गाडी चल्दै, लामो दूरीका गाडी पनि छुटे

 फागुन २, २०७९ मंगलबार ७:२२:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - काठमाण्डौ उत्यकामा अहिले सामान्य रुपमा गाडी चलिरहेको छ । तर, हिजो अस्तिको भन्दा आज गाडी कम चलेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले निजी गाडी  हिजो अस्तिकै सङ्ख्यामा चले पनि सार्वजनिक गाडीको सङ्ख्या आज कम रहेको जनाएको छ । यस्तै, बिहान काठमाण्डौदेखि छुट्ने लामो दूरीका गाडी पनि छुटेका ट्राफिक प्रहरीले जनाएको छ । यातायात व्यवसायीको आन्दोलनका कारण काठमाण्डौ उपत्यकाका सडकमा सुरक्षा व्यवस्थामा भने कडाइ गरिएको छ । चोक चोकमा प्रहरीले खटिएका छन् ।

हिजो यातायात व्यवसायी र यातायात मजदुरहरुको आन्दोलन अनियन्त्रित बन्दा काठमाण्डौको नयाँ बसपार्क क्षेत्र तनावग्रस्त बनेको थियो । ट्राफिक नियम मिचेबापतको जरिबाना बढाएको र पाँच पटकसम्म गल्ती गर्दा लाइसेन्स नै खारेज हुने नयाँ नियमको विरोधमा यातायात मजदुरले  नयाँ बसपार्क, बालाजु, गोङ्गबु, माछापोखरी लगायतका ठाउँमा सडकमा गाडी तेर्स्याएर आन्दोलन गरेका थिए । आन्दोलनका कारण बिहानदेखि नै सडकमा स्थानीय रुटका र काठमाण्डौबाट छुट्ने लामो दूरीका गाडी रोकिएका थिए ।

प्रहरीले बाटो खुलाउन बल प्रयोग गर्दा हिजो पटक पटक झडप भएको थियो । झडपमा प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको छ भने प्रदर्शनकारीले ढुङ्गा हानेका थिए । आन्दोलनकारीले प्रहरीको गाडी जलाउनुको साथै अस्थायी पोष्ट समेत भत्काएका थिए ।

ट्राफिक प्रहरीले पाँच पटकसम्म चिट काटेपछि ६ महिनासम्म गाडी चलाउन नपाउने नियमविरुद्ध हिजाे सडकमा प्रदर्शन गरेका उनीहरुले सरकारले यसअघि गरेका सहमतिहरू पालना नगरेको भन्दै गाडी नचलाउने घोषणा गरेका थिए । आज सरकारले आन्दोलनमा रहेका व्यवसायी र मजदुरहरुसँग वार्ता गर्दैछ ।  व्यवसायी र मजदुरहरुको आन्दोलनका कारण यात्रु भने मारमा परेका छन् । 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया